
पोखरा – गण्डकी प्रदेशका सांसदहरुले पछिल्लो समय देशका विभिन्न ठाउँमा भएका महिला हिंसा, बलात्कार र हत्याका विषयलाई गम्भीर रुपमा उठाएका छन्।
सोमबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले कञ्चनपुर, पोखरा लगायत विभिन्न ठाउँहरुमा भएका महिला हिंसा, बलात्कार र हत्याका विषयमा सरकारमाथी प्रश्न गरेका हुन्।
हरेक दिनका घटनाले महिलाहरु आफन्तबाटै असुरक्षित महसुस गर्दै मनोवैज्ञानिक रुपमा त्रसित हुन थालेको भन्दै सुरक्षित वातावरणको लागि सदन मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदेश सभामा सांसद मीना गुरुङले पछिल्ला घटनाहरुले शान्ति र सुशासनलाई खलल पार्ने विरोधी तत्वको सक्रियता बढिरहेको बताइन्। उनले भनिन्, ‘विरोधी तत्वहरु महिलामाथि जाइलागेका छन्। महिलाको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई निमोठिरहेका छन् ।’ उनले प्रहरीको अनुसन्धान फितलो देखिनु झनै डरलाग्दो अवस्था भएको बताइन्।
प्रहरीको तथ्यांकले साउन र भदौमा ३३ वटा बलात्कार भएको देखिएको भन्दै आरोपी उम्कनु र निर्दोषलाई दोषी बनाएर अपराधको संरक्षण कसैबाट हुन नहुने उनको भनाई छ । प्रहरी प्रशासनलाई आफ्नो कर्तब्यमा इमान्दार भएर प्रस्तुत हुन सांसद मीनाले आग्रह गरिन् । उनले थपिन्, ‘सरकारलाई असफल बनाउन आपराधिक घटना बढेको हुन सक्ने भन्दै अपराधिक मानसिकता भएकाहरुप्रति पनि छानविन हुनुपर्छ ।’
सांसद कुमार खड्काले सरकार मानव अधिकार प्रति संवेदनशिल नभएको आरोप लगाए। ‘लोकतन्त्र र नागरिक अधिकारका लागि १४ बर्ष जेल बसेका प्रधानमन्त्रीको पालामै न्याय माग्दै सडकमा आएको १४ बर्षिय बालकको छात्तिमा गोलि ठोक्नु निन्दनिय हो’ उनले भने, ‘हाम्रो संस्कृति, सभ्यता र धर्मले महिलालाई पुज्दै आएको छ। अहिले नेपाली समाज तस्विरको देवी पुज्ने र घरकी देवी चुट्ने विनासको बाटोतर्फ अग्रसर भैरहेको छ।’
नयाँ शक्तिका हरिशरण आचार्यले जनमत बटुलेर बनेको सरकार जनताबाट टाढा भइरहेको बताए। सरकार र नागरिकबीच दूरी बढ्दै गएकोप्रति सचेत गराए। उनले जनताभन्दा फरक शक्ति नेपालमा स्थापित भैरहेकाभन्दै जनताको चाहना अनुभुति गराउन सरकारको ध्यानाकर्षण गराए।