
पोखरा – तनहुँको मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टम सकिएको छ। शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाएका २७ जनाको पोस्टमार्टम गरेर सकिएको हो।
पोस्टमार्टम सकेर शव भारत लैजान भरतपुर विमानस्थलमा ल्याउन थालेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी भेषबहादुर रिजालले बताए। ‘सात/आठ वटा शव विमानस्थल ल्याइसकिएको छ। बाँकी शव खेप गरेर ल्याउँछौँ’, उनले भने।
मृतकको शव भारत लैजान भारतीय वायुसेनाको विमान आउने उनले जानकारी दिए। यस्तै, भरतपुर विमानस्थलमा भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेसमेत पुगेकी छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार पोखराबाट काठमाडौँ पशुपतिनाथ दर्शनका लागि भारतीय पर्यटक बोकेर जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको हो।
एक जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र बाँकी २६ जनाको आँबुखैरेनी अस्पताल तनहुँमा मृत्यु भएको हो।
आँबुखैरेनीमा ज्यान गुमाएका २६ जनाको शव शुक्रबार राति नै भरतपुर अस्पताल चितवन पुर्याइएको थियो। शनिबार बिहान ८ बजेदेखि पोस्टमार्टम सुरु भएको अस्पतालले जानकारी दिएको छ।
घाइते १६ जनाको काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर छ। उनको आइसियुमा उपचार भइरहेको अस्पताल प्रशासनले देशसञ्चारलाई बताएको छ। एक जना बेपत्ताको खोजी कार्य जारी छ।