
मोरङ – क्यान्सर बिरामीको उपचार सेवाका लागि विराटनगरस्थित कोशी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच सम्झौता भएको छ।
बिहीबार विराटनगरस्थित कोशी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसे र कोशी अस्पतालका मेसु डा. रविनराज सिंहबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
सो क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर विरामीका लागि सम्झौताले उपचार सेवालाई सहज बनाउने विश्वास ब्यक्त गरेका थिए। त्यसैगरि, मन्त्री पौडेलले क्यान्सर रोगमा सरकारले गर्ने सहयोगलाई सहज बनाउने तयारीका रुपमा बीमा रकम ५ लाख पुराउन लागिएको जानकारी दिए।
सोही क्रममा उनले अस्पतालका पदाधिकारीलाई लक्षित गर्दै अनलाईन प्रणाली सेवा दुरुस्त बनाउन निर्देशन दिए। उनले भने, ‘चिकित्सकहरू फस्ट बेन्चमा बस्नेहरू हुन्।
उनीहरूले अनलाइन प्रणालीबाट बिरामीलाई उपचार सेवा दिन सक्नुपर्नेछ। सुविधा दिन मिल्दैन वा सकिएन भनेर पन्छिनचाहिँ मिलेन।’
सम्झौताबारे जानकारी दिदैं कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवालले क्यान्सर विरामीको सहजीकरणका लागि सम्झौता भएको बताए। उनले भने, ‘अस्पतालमा किमोथेरापी हुँदै आएकोमा यस सम्झौताले थप उपचारका लागि विरामीलाई सहज हुने अपेक्षा गरेका छौँ। सम्झौताले विरामीको उपचारमा शल्यक्रिया गर्नुपर्दा चिकित्सकसहित प्राविधीक टोली उपस्थित हुनेछन्।’
गाइने अर्कोलोजिदेखि शल्यक्रियासम्मका चिकित्सक उपचार सेवा दिन कोशी अस्पताल आउने सम्झौता भएको बताउँदै अध्यक्ष डा. सिलवालले कोशीले विरामी उपचारको लागि आवश्यक वातावरण बनाउने, उपकरणदेखि आवश्यक जनशक्तिसमेत ब्यवस्थापन गर्नुपर्ने बताए। महिनामा कम्तीमा एकपटक सेवा दिने सम्झौता अनुसार उपचार सेवाका लागि चिकित्सकसहितको प्राविधीक टोली कोशी अस्पताल आउँदाको खर्चभार भने कोशी अस्पतालले नै ब्यहोर्नुपर्नेछ। त्यसैगरि, सम्झौतामा विस्तारित सेवामा बहिरंग अन्तरंग एवं उपचारसमेत समेटेर सेवा गर्नुपर्ने उल्लेख छ।
कोशीमा २०७२ साल कात्तिकदेखि क्यान्सर उपचार सेवा सुरु भए पनि विशेषज्ञ क्यान्सर सेवाको उपचार सेवाको अभाव रहदै आएको थियो। यद्यपि, हाल दैनिक ओपीडी सेवा, इन्डोर सेवा, डे–केयर केमोथेरापीसहितको पाँच शैया सञ्चालनमा रहेकोछ। अस्पतालमा छातीको शल्यक्रिया, पेट तथा आन्द्राको शल्यक्रिया, मृगौला तथा पिसाब समस्याको शल्यक्रिया, छालाको क्यान्सर शल्यक्रिया सेवा सञ्चालनमा छन्।
सम्झौताका क्रममा मन्त्री पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, विराटनगर महानगरका मेयर नागेश कोइराला, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसे, कोशीका मेसु डा. रविनराज सिंहलगायत सहभागी थिए।