
‘……. बस्तीका गरिबहरू साँझपख रक्सी खान भट्टीमा छिर्थेँ। किताबको लागि जीवन्त संवादहरू पाउने आशामा म पनि उनीहरूका पछि लाग्थेँ। धेरैपटक भट्टीमा छिरे पनि मैले कहिल्यै पिइनँ। मेरो कामै उनीहरूले बोलेको संवाद टिप्ने थियो। त्यो काल मेरो लागि अत्यन्तै रोचक भएका कारण मैले त्यहाँबाट थुप्रै कुरा सिक्न पाएँ। आगामी दिनमा बुझ्दै गएँ, कुनै आदर्श बिनाको जीवन अत्यन्त साँघुरो हुँदो रहेछ। …..’
(गुरुदेवको प्रकाशोन्मुख आत्मकथाबाट)
एकपटक मैले गुरुदेवलाई प्रश्न गरेको थिएँ, ‘गुरुदेव हजुर साहित्य, सङ्गीत र कलामा यति धेरै दख्खल हुनुहुन्छ। आत्मविश्वास अत्यन्त उच्च छ। संसारमै रहेर धेरै काम गर्न सक्नुहुन्थ्यो। यति हुँदाहुँदै पनि जीवनको एउटा महत्वपूर्ण समय जंगलमा गएर दुई दशकभन्दा लामो समय कसरी बिताउनुभयो ? त्यसबेला आफूलाई कसरी सम्हाल्नुभयो, मनको आवेगले बाधा गर्दैनथियो ?’ मलाई सम्झना छ, त्यो साँझको समय थियो। गुरुदेव आगो तापेर बसिरहनुभएको थियो।
एकछिन त गुरुदेव केही बोल्नुभएन। सायद आफ्नो जीवनका ती क्षणबारे विचार गर्नुभयो होला। मेरो यो प्रश्नको उत्तरमा गुरुदेवले भन्नुभयो, ‘यति विषय जान्दा जान्दै पनि मलाई लाग्यो वैराग्य ठूलो कुरा हो। साधना गरेको केही समयसम्म मैले यी विषयको पनि अभ्यास गरिनँ।’
म आश्रममा आएदेखि नै आफ्ना लेखरचना लेखेर गुरुदेवलाई सुनाउने गर्थें। मैले लेखेका रचना पढेर सुनाउँदा उहाँ ध्यान दिएर सुन्नुहुन्थ्यो। मैले पहिलोपटक लेखेको लेख सुनाउँदा नै उहाँले मन्तव्य दिनुभएको थियो, ‘तैंले वंशाणुगत रुपमा नै लेख्ने क्षमता लिएर आएको छस्। भविष्यमा मेरो साहित्य लेख्न ठूलो सहयोग गर्न सक्छन्।’ गुरुदेवको यो प्रशंसाबाट म त्यसबेला झनै हौसिएँ। म अझै लेख्दै र गुरुदेवलाई पनि सुनाउँदै गर्थें। शायद मैले हरेकपटक पढेर सुनाउँदा गुरुदेवले केही न केही प्रशंसाका वाक्य बोलिदिए हुन्थ्यो भन्ने मेरो अव्यक्त अभिप्राय पनि थियो होला !
यो प्रसंग थियो २०५५ सालको अन्त्य र २०५६ साल शुरुवाततिरको। उसबेला म यहाँ आश्रममा बस्दिनथिएँ। काठमाडौं बिजुलीबजारबाट विद्यालयमा विद्यार्थी ल्याउने लैजाने गाडीमा यहाँ आउने जाने गर्दथें। विद्यालयमा कक्षा दशसम्म विज्ञान विषय अध्यापन गराउँथे। छुट्टीका बेला यदाकदा यहीँ आश्रममा आएर बस्थें। यहाँ बस्दा र अन्य समयमा पनि म गुरुदेवसँग विभिन्न विषयमा कुराकानी गरिरहन्थें। ती कुराकानीका आधारमा म लेख लेखेर इटहरीस्थित मेरो पिताजी कृष्णविनोद लम्साललाई पठाउँथे। ती लेखहरू उहाँ आफूले निकाल्ने पत्रिकामा छापिदिनुहुन्थ्यो। केही समयसम्म यो क्रम पनि चलि नै रह्यो।
समयक्रमसँगै २०५६ साल भाद्र महिनाबाट यहीं आश्रममा बस्न थालेपछि म झनै लेख्न थालें। कुनैलाई गुरुदेव प्रशंसा गर्नुहुन्थ्यो भने कुनैको सुधार गरिदिनुहुन्थ्यो। ती लेखेका कागजका पन्नाहरू कुनै मेरा सर्टका त कुनै पाइण्टका गोजीमा हुन्थे। लामो पेज छन् भने ती लेखेका कागजका केही भाग गोजीभन्दा बाहिर पनि देखिन्थे। गुरुदेव ठट्टा गरेर भन्नुहुन्थ्यो, ‘संसारमा एउटा नयाँ लेखकको जन्म भएको छ ……….।’ मलाई अलिक लाज पनि लाग्थ्यो।
मेरा लेखेका विषय मुख्यतया धर्म, दर्शन, अध्यात्म र समाजसँग सम्बन्धित हुन्थे। एकदिन म आफ्नो रचना सुनाउने मनसायले गुरुदेवको निवासमा जाने भर्याङमा उभिएको थिएँ। लेख सुनिदिन अनुरोध गर्छु भन्ने सायद उहाँले थाहा पाउनु भएको हुनुपर्छ। मलाई भन्नुभयो, ‘लेख्नका लागि जीवनको चाहिन्छ।’ अझै उदाहरण दिएर प्रष्ट पार्नुभयो, ‘महात्मा गान्धीको आत्मकथा धेरै मानिसले पढेका हुन्छन्, किनभने त्यहाँ भएका कुरा उहाँले आफ्नै जीवनमा भोग्नु भएको छ। कल्पना गरेर कलम घुमाउँदैमा कोही पनि लेखक बन्दैन……….।’ झट्ट सुन्दा झनन्न्न हुने खालको तर यथार्थ कुरा भन्नुभएको थियो गुरुदेवले। त्यसको केही समयसम्म त मैले लेख्न नै छाडिदिएँ। गुरुदेवलाई सुनाउने भन्ने कुरा त परको नै रह्यो।
गुरुदेवको स्वभाव के थियो भने कसैमा पनि सानो सम्भावना देख्नुभयो भने पनि उसको विकास होस् भनेर सकेसम्म प्रयास गरिदिनुहुन्थ्यो। त्यसबेला म अलिक बढेचढेर नै लेख्न थालेको थिएँ हुँला त्यसैले यसप्रकारको सल्लाह दिनुभएको थियो। पछि गएर गुरुदेवका साथमा मैले उहाँका अधिकांश नेपाली र बङ्गाली किताब र रचनाहरू टङ्कन गर्ने र आफ्नो क्षमताले भ्याएसम्म भाषालाई नेपालीपन दिने प्रयास गरें।
आफूले लेख्ने नेपाली लेखहरू गुरुदेव पहिले बङ्गाली भाषामा नै लेख्नुहुन्थ्यो। उहाँलाई आफूले बाल्यकालमा बोलेको र धेरै साहित्य अध्ययन गरेको बङ्गाली भाषाका प्रति अगाध प्रेम थियो। ‘मैले लेख्नु पर्ने लेखहरू बङ्गाली भाषामा नै लेख्छु। बङ्गाली भाषा र साहित्यलाई नबिर्सूं भनेर म यसो गर्छु।’ उहाँ भन्नुहुन्थ्यो। मलाई धेरैजसो बिहानको समयमा लेख्नका लागि बोलाउनु हुन्थ्यो। त्योभन्दा अगाडि नै सबेरै तीन–चार बजेतिर उहाँ लेखेर तयार भएर बस्नुहुन्थ्यो। बिहान पाँच या छ बजेतिर नै कहिले प्रेमपूर्ण भावमा, ‘लेख्ने होइन ?’ भनेर बोलाउनु हुन्थ्यो। म तुरुन्तै ‘हस् गुरुदेव।’ भनी ल्यापटप, किबोर्ड र माउस लिएर उहाँको निवासमा पुग्थें। कहिले उहाँलाई उत्साह भएको बेला छ भने, आदेशको शैलीमा, ‘कम्प्युटर लिएर तुरुन्तै आइज।’ भन्नुहुन्थ्यो। म भनें बिहानको यस समयमा ध्यान गर्दथें। उहाँसँग काम गर्दा ध्यान गर्ने समय त्यहीं बित्थ्यो। अनि दिनभरि केही छुटेको, मन र शरीर चङ्गा नभएको जस्तो हुन्थ्यो। उहाँलाई कुनै दिन मैले ‘गुरुदेव ध्यान गरेकै छैन।’ भनें भने ‘संसारमा तँ मात्रै ध्यान गर्छस्…..?’ भनेर मेरो समय तालिका पालन गर्ने स्वभावका उपर प्रहार गर्नुहुन्थ्यो।

स्वामी चन्द्रेशसँग लेखक स्वामी गुज्ञन।
लेख्ने क्रममा नै गुरुदेव धेरै कुरा थप्नु हुन्थ्यो। लेख्दै जाँदा हामी कुराकानी गर्दथ्यौं। कहिले कहिले मैले आफूले समाजमा भोगेको, केटाकेटी हुँदा देखेका कुराहरू सुनाएँ भने त्यसलाई पनि कुनै प्रसङ्ग मिलाएर आफ्नो रचनामा समावेश गर्नुहुन्थ्यो। मेरो मातृभाषा नेपाली भएको हुँदा समय समयमा म गुरुदेवले बनाउन खोजेको वाक्यलाई सरल नेपालीपन दिन प्रयास गर्दथें। टङ्कन गर्दै गर्दा उहाँले हतार गर्नुभयो भने भन्थें, ‘गुरुदेव एक छिन, एक छिन।’ अनि उहाँले भन्न खोजेको कुरालाई लिएर बनाएको वाक्यलाई सुनाउँथे। अझै ठीक भएन भने फेरि हामी कुरा गरेर बोधगम्य बनाउँथ्यौं।
साथमा रह्यो, सङ्गत र संवाद भइरह्यो भने एकअर्काको आनिबानी थाहा पाउन सजिलो हुँदो रहेछ। त्यति मात्र होइन प्रयोग गर्ने भाषाको शैली, भन्ने खोजेको कुरा र अभिप्राय पनि अनुमान गर्न सकिने रहेछ। अझै अब यसपछि के भन्नुहुन्छ होला त्यस विषयमा पनि विचार गर्न सकिने रहेछ। मेरा लागि अहोभाग्य र दुर्लभ कुरा के थियो भने उहाँ जस्तो तपस्वी र प्रतिभासम्पन्न व्यक्तिका साथमा घण्टौंसम्म साथै बसेर काम गर्ने अवसर पाएको थिएँ। कुराकानी गर्न पाएँ। अन्तरङ्गको समयमा हाँसखेल, रमाइलो गर्न पाएँ। अहिले ती क्षणहरू स्मरण गर्दा कता कता विरह चल्दछ। गुरुदेवलाई सजिलो के थियो भने उहाँले भन्न चाहेको कुरा नेपालीमा लेखिदिने एउटा पात्र उहाँका साथमा हरहमेशा साथमा नै थियो।
गुरुदेवले भन्दै जाने र मैले लेख्दै जाने क्रम चल्दै गर्दा यदाकदा के हुन्थ्यो भने उहाँको आशय बुझेकाले होला म उहाँले भन्नुभएकै छैन आफैंले बाक्य लेखेर ठीक पारी सकेको हुन्थें। अनि उहाँलाई पढेर सुनाउँथे। एकदुईपटक त केही पनि बोल्नुभएन। पछिपछि मेरो ‘आत्मविश्वास’ र उहाँका लेखनीप्रतिको अधिकार चेतना देखेर होला, ‘ले तैं लेख।’ भनेर एकछिन दारी समातेर चुपो लागेर अर्कैतिर हेर्नुहुन्थ्यो। म चुपाचाप लेखलाई कम्प्युटरको पर्दामा तलमाथि गर्दै भाषा र व्याकरण सच्याउँथे। अनि एकछिनपछि, ‘ल ल छिटो लेख।’ भनेर जहाँ पुगेको छ त्यहींबाट सुरु गर्नुहुन्थ्यो।
गुरुदेव निवास गर्ने कोठाको पूर्व उत्तर पट्टिको कुनामा पूर्वदक्षिणतिर फर्किएर हामी लेख्ने गर्दथ्यौं। गुरुदेव कु्नामा कलम र डायरी लिएर बस्नुहुन्थ्यो भने म उहाँको दाहिनेपट्टि कम्प्युटर लिएर। धेरैजसो उहाँ हातमा कलम खेलाइ रहनुहुन्थ्यो। बीचबीचमा उहाँले उद्धृत गर्नुहुन्छ भनेर म मुख्यतया गीता, पतञ्जल योगसूत्र, ईशादि नौ उपनिषद् साथै राख्थें। लेख्ने क्रममा कहीं छुट्यो वा थप्नु पर्यो भने दिउँसोतिर अथवा राति कुनै पनि बेला फोन गरेर कहाँनेर के थप्नु पर्छ अथवमा फेरि लेख्नपर्दा कुन विषयलाई समावेश गर्नुपर्छ, कुन हटाउनु पर्छ भनेर याद गराइदिनुहुन्थ्यो। अझै अलमल भयो भने, ‘तँलाई के लाग्छ ?’ भनेर प्रश्न गर्नुहुन्थ्यो।
एकपटक के भयो भने दिउँसोतिर गुरुदेव आश्रमको अरु नै स्थान हुनुहुन्थ्यो। किताब लेख्ने क्रम चलिरहेको थियो। मलाई ल्यापटप लिएर त्यहीं आउन भन्नुभयो। एकछिन काम गरेपछि भन्नुभयो, ‘आज जमिरहेको छैन। बन्द गर।’ उहाँको आदेश अनुसार मैले काम बन्द गरें। ‘आसनको ठूलो महत्व हुन्छ। मेरो कोठाको त्यस आसनमा बसेर तँलाई श्रुति लेखन गराउँदा मलाई जुन सहजता र विचारहरूको स्पष्ट प्रवाह हुन्छ त्यो अहिले भइरहेको छैन।’