
ऋषिपञ्चमी पर्वको अवसरमा काठमाडौं उपत्यकामा रहेको गुह्येश्वरी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
आजको दिन हिन्दू नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउने प्रचलन रहेको छ। सोही प्रचलन अनुसार आज बिहानैदेखि गुह्येश्वरीमा स्नान गरेर पूजाआजा गर्नेहरूको भीड लागेको हो।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।
हरितालिका (तीज)को व्रत एवम् पूजाआजा महिला र पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको पाइन्छ।
महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटी भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख छ।
आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
थप तस्बिरहरू: