
काठमाडौं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। जसका लागि ओली संसद भवन पुगेका छन्।
यसअघि संसद अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज भने अवरोध नगर्ने जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणबारे जानकारी गराउने कार्यसूची रहेको हुँदा यसलाई अवरोध नगर्ने माओवादीले निर्णय गरेको हो।
ओली राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउँदो असोज ४ गते अमेरिका जाँदैछन्।
आजको संसद बैठकमा सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
जारी प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सांसद रामहरी खतिवडा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, रमेश लेखक, शक्ति बस्नेत, डोलप्रसाद अर्याललाई देख्न सकिन्छ।
थप तस्बिरहरू:
तस्बिर: बर्षा शाह/देशसञ्चार