
बैतडी- नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकार भौतिक संरचना निर्माणका लागि अग्रसर भएको उल्लेख गर्दै थप सहयोग आवश्यक रहेको बताएका छन्।
‘क्रिकेटको माध्यमबाट नेपाल विश्वसामु चिनिएको छ। पूर्वाधार निर्माणमा सरकार गम्भीर बनेको छ। आगामी पाँच वर्षमा देशका विभिन्न स्थानमा पाँच क्रिकेट रंगशाला बन्नेछन्। जसले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ’, उनले भने, ‘पछिल्लो समय क्रिकेट खेलको विकासका लागि सरकारले सहयोग गरिरहेको छ। यसमा सबै राजनीतिक दलको पनि सकारात्मक समन्वय छ।’
शनिबार सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले सुदूरपश्चिम सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार र प्रतियोगिता सञ्चालनका लागि बजेटको व्यवस्था गरेकामा धन्यवाद दिँदै अध्यक्ष चन्दले स्थानीय तहहरूले पनि क्रिकेट प्रतियोगिता सञ्चालनमा ध्यान दिन आवश्यक रहेको औँल्याए। खेल क्षेत्रमा राजनीति गर्न नहुने भन्दै उनले राजनीतिलाई खेलकुदको संस्थागत विकासका लागि केन्द्रित गर्नुपर्ने बताए।
उनले भने, ‘खेलाडी छनोट पारदर्शी हुनुपर्छ। यसमा दायाँबायाँ हुँदैन। खेलाडी छनोट र राम्रो प्रदर्शन गरेका खेलाडीले उचित स्थान र पारिश्रमिक पाएका छन्।’
एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने जानकारी गराउँदै अध्यक्ष चन्दले जिल्ला र प्रदेशमा उमेर समूहका प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौँ। यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ। क्यानले गर्ने सहयोगमा कमी हुँदैन।’