काठमाडौ- श्रीङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने भएको छ। भट्टराईले राजदूत सिफारिस भएपछि परराष्ट्र मन्त्रालय र सुनुवाइ समितिमा न्युनतम स्नातक गरेको शैक्षिक प्रमाणपत्र पेश नगरेपछि बिहीबार समितिले तुरुन्तै पेश गर्न भनेको थियो।
तर, भट्टराईले प्रमाणपत्र नै पेश नगरेपछि उनलाई अस्वीकृत गर्न आइतबार बिहान ११ बजे समितिको बैठक बोलाइएको छ। एक सांसदका अनुसार भट्टराईले निर्देशनअनुसार शैक्षिक प्रमाणपत्र पेश गरेका छैनन्। राजदुत नियुक्ति सम्बन्धि निर्देशिका २०७५ अनुसार राजदूत हुन स्नातक उत्तीर्ण गरेको हुनुपर्छ।
बिहीबार सांसद डोलप्रसाद अर्यालले उनको शैक्षिक प्रमाणपत्र शङ्कास्पद रहेको र पेशसमेत नगरेकाले माग्नु पर्ने प्रस्ताव गरेपछि समितिले अनुमोदन नगरी होल्ड गरेको थियो।
सोर्तका अनुसार उनले स्नातक नै नगरेको हुनाले प्रमाणपत्र पेश नगरेका हुन्। काङ्ग्रेस कोटाबाट सिफारिस भएका भट्टराईको शैक्षिक योग्यताबारे प्रश्न उठेपछि पार्टीका एक उच्च तहका नेताले उनीसंग सोधीखोजी गरेका थिए। जवाफमा भट्टराईले ४५ वर्षे राजनीति जीवनमा अहिलेसम्म कसैले पनि शैक्षिक प्रमाणपत्र नखोजेको भन्दै समितिको निर्देशनप्रति नै असन्तुष्टि जनाएका छन्।
समितिको निर्णयप्रति नै भट्टराईले अशिष्ट व्यवहार देखाएपछि समितिले आइतबार नै अस्वीकृत गर्ने तयारी गरेको हो। उक्त विषयमा भट्टराई संग देशसञ्चारले शनिबार बिहानदेखि आइतबारसम्म फोनबाट पटक पटक गरेर बुझ्न खोजे पनि उनी सम्पर्कमा आएनन्।
आइतबार भट्टराईका आफन्त बताउने एक कानुन व्यवसायीले देशसञ्चार प्रतिनिधिलाई फोन गरेर भट्टराईलाई सम्पर्क गर्न खोज्नुको कारण सोधे। समितिको निर्देशन र शैक्षिक योग्यताबारे बुझ्न खोजेको बताएपछि ती व्यक्तिले फोन काटे।

भर्खरै
लोकप्रिय






































































































































































































