‘नदीलाई हामीले सदुपयोग गर्न नै जानेनौँ’ (भिडियो)

+
-

वातावरण पत्रकार रमेश भुसाल ‘छालबाटोः कैलाशदेखि गंगासम्म’ नामक गैरआख्यानात्मक पुस्तकका कारण चर्चामा छन्। वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरूको विश्वव्यापी सञ्जाल ‘अर्थ जर्नलिज्म नेटवर्क’का दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन ‘डायलग अर्थ’का नेपाल सम्पादकसमेत हुन्। उनले बिबिसी, द गार्डियन, द फाइनान्सियल टाइम्स, द थर्ड पोल, द वायर, स्क्रललगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ गर्दै आइरेका छन्। नेपालका मुख्य नदी कोसी, गण्डकी र कर्नालीको शिर–पुछार यात्रा गरेका लेखक भुसालसँग देशसञ्चारकर्मी राज सरगमले गरेको कुराकानीको सम्पादित अंश:

भर्खरै तपाईंले लेखेकाे पुस्तक छालबाटो सार्वजनिक भएको छ। के हो छालबाटो ?

मैले काठमाडौंबाट पश्चिम कैलाश पर्वतको सेरोफेरो र थोरै दक्षिणबाट तिब्बतदेखि तल गंगासम्म कर्णालीको किनारैकिनारै यात्रा गरें। कर्णाली पछि उत्तर प्रदेश र बिहारको राज्य र उत्तराखण्डबाट आएको गंगासम्म यात्रा गरियाे। कर्णाली नदी गंगामै मिसिन्छ। कर्णालीको किनारै किनार हिँड्ने बाटोलाई छालबाटो भनिदोरहेछ पश्चिम कर्णालीतिर। र यो यात्रामा कर्णालीको छाल पनि मिसिएका कारण पुस्तकको नाम छालबाटो राखियो।

कति समय लगाउनुभयो छालबाटो तयार पार्न?

लेखन सुरु २०१८ मा गरेको हुँ र यात्रा काेभिड पछि हो । लेख्न मात्रै ६ वर्ष लगाएँ। केही समय त सम्पादनमा पनि लाग्यो।

तपाईंले त वातावरण विज्ञानमा स्नातक नै गर्नु भएको छ । यो काठमाडौं र यहाँबाट बाहिर जाँदा कति फरक पाउनु भएको छ ? अथवा बाहिर भन्दा काठमाडौंमा कति निसासिए झैं लाग्छ ?

हामी सबैको गन्तब्य हो सहर। काठमाडौंमा बस्दा धेरै कुराको सेवा सुविधा र अवसरहरू लिन सकिन्छ। गाउँमा त बस्न सजिलो भए पनि अवसर छैन नि। तर सहर हामीबाटै बिग्रिन पुग्यो। अर्थात हामीले सहरलाई नमजाले बिगार्‍यौं त्यसैगरी नदीलाई पनि बिगार्‍यौं। आज हाम्रो सहर घुम्न, बस्न योग्य हुन नसक्नु हाम्रै कारणले हो र नदीलाई पनि बिग्रिदो सहरकै अवस्थामा लैजादै छौं। घुम्नलाई सहरबाट बाहिर नगइ नहुने भयाे। हप्तामा एक दिन भए पनि काठमाडौंबाट टाढा जान पाए अलिकति स्वच्छ हावामा सास फेर्न पाइन्थ्यो कि भन्ने लाग्छ। अब पूर्वदेखि पश्चिमसम्म हेर्नुभयो भने नेपालमा बाँध बाध्न बाँकी कर्णाली मात्रै हो। कर्णालीको सेरोफेरो भनौ न। त्रिशुली, कोशी, गण्डकी बिजुली र सिचाइँका लागि प्रयोग भइसकेकाे छ।

नदी भनेको त हाइड्रोपावरका लागि मात्रै हो जस्तो गर्‍यौं। अझ नेपालमा त बिजुलीका लागि मात्रै हो भन्ने भयो। जता मन लाग्यो त्यतै हाइड्रोपावर निकाल्यो अनि नदी बिगार्‍याे। तर कर्णालीजाँदा चाहिँ (कर्णालीको तल्लो भाग जहाँ हामीले र्‍याफ्टिङ गर्‍यौं) अर्कै अनूभूति भयो। कर्णाली एकदम सफा छ। दैलेखको तल्लो डुङ्गेश्वर भन्ने ठाउँ छ त्यहाँबाट अछाम, सुर्खेत, बर्दिया, कैलाली चारवटा मेजर र जिल्ला डोटी थोरै जोडिन्छ कर्णाली नदीसँग। तल राजमार्ग नभएकाले पनि होला सफा र सुन्दर देखिएको हाेला। कर्णाली राजमार्ग माथिबाट जान्छ। कर्णाली नदी एकदम वाइल्ड छ। तर कर्णालीकै माथिल्लो भाग हुम्ला कर्णाली र जुम्ला फरक बाटो छ। महाकालीलाई छोड्ने हो भने, कोशी सबैभन्दा ठूलो नदी, गण्डकी सबैभन्दा गहिरो नदी र कर्णाली सबैभन्दा लामो नदी हो।

कर्णाली राक्षस तालबाट आएको छ त्यसैले शुभ छैन भन्ने अन्धविश्वास सुन्न पाइन्छ। तर राक्षस तालबाटै नभएर त्यसको आसपासबाट आएको चाहिँ हाे। यो लामो छ, सफा छ, त्यसको सेरोफोरोबाट आउने हो।

कर्णाली यस्तो नदी हो जो संसारमा दुई ठूला धार्मिक स्थल कैलाश मानसरोबरदेखि गंगाको किनार कासी बनारससम्मलाई जोड्छ। यस खालको महत्वलाई खासै प्रचार प्रसार गर्न सकेका छैनाै‌ं हामीले। अहिले पनि त्यो कोसिस गर्दा राम्रै हुन्थ्यो भन्ने लाग्छ। यसो भयो भने त कर्णालीको महत्व पनि थप हुन्थ्यो र कर्णालीमा दुःख पनि छ। चार पाँच दिन हिँडेर सदरमुकाम पुग्नुपर्छ। त्यही बसेर दुःख गर्न गाह्रै हुन्छ तर केही दिनका लागि घुम्न जान भने कर्णाली राम्रै छ। सुन्दर छ।

कर्णाली नदीले विकासलाई छेक्यो भन्नेहरु पनि छन्, हो ?

खासमा कर्णाली नदीले दुःख दिएको होइन। हामीलाई नदीले मसँग आएर बस भनेको होइन। तपाईं हामी पो गएर बसेको हौं त नदी किनार। हो ठूला नदीका कारण सजिलै जानआउन समस्या पर्छन्। अग्ला हिमालय पर्वत छन्। बाटो छैन। धेरै खर्च चाहिन्छ यात्रामा। नदीहरूले त हामीलाई बाँच्न सिकाएको छ जस्तो लाग्छ। संसारमै यस्ता ठूला नदी, पहाड र हिमाल छन् जसले हामीलाई दिएको छ। तर पहाड भएर दुःख पाएको चाहिँ होइन।

नदी र पहाडलाई विम्ब बनाएर आफूले गरेको बेइमानी, आफ्नो अक्षमता, आफ्नो कमजोरीलाई प्रकृृतिले दिएको दुःख भन्नु भएन। त्यो दुःख त हामीले बेसाएको हो। नदीले त हामीलाई सधैं दिएको छ। लिन पो जानेनौं हामीले। हो, बाटो बिजुली जस्ता भौतिक पूर्वाधार चाहिन्छन्। त्यसलाई निकाल्न पनि जान्नुपर्‍यो । पहाड या नदी भएकाले विकसित हुन सकेनौं भन्ने होइन। स्वभाविक त्यो ठाउँ आफैमा गाह्रो छ। तर गाह्रो भनेर भाग्नु पनि भएन। आजको सङ्किर्ण सोचबाट हुने विकासले कर्णालीलाई सोच्नु भएन भन्ने लाग्छ।

नदी भनेको बिजुली मात्रै हो भन्नु सङ्कीर्ण सोच हो। हिमालय पर्वतहरू बन्ने क्रममा छन् भनेर संसारमा अहिले बहस चलिरहेको छ। त्यस कारणले विकासको नाममा नदी पहाडलाई काट्ने/भत्काउने काम सोचविचार गरेर गर्नुपर्छ। बिजुली निकाल्नुपर्छ साथै नदीको विविधतालाई खोज्ने र संरक्षण गर्नुपर्छ। नदी भनेको पानी मात्रै होइन। नदीले पारिस्थितिक प्रणालीलाई मेन्टन पनि गरेको हुन्छ। हामीसँग नदी, पहाड हिमाल छ र त यो देश बनेको हो। यो त हाम्रो सम्पत्ति हो यसलाई सही सदुपयोग गर्ने हो।

कर्णाली नदीको अवस्था अहिले कस्तो छ ?

नेपालले कर्णाली नदीलाई प्रयोग नै गरेको छैन। नेपालमा कर्णाली बिग्रिएको भनेको हुम्ला कर्णालीको बाटोले हो। अहिले कणालीमा बाँध बनेको छैन। भनौ न नेपालका अन्य ठूला नदी जस्तो बिग्रिसकेको छैन र अहिलेसम्म ‘फ्रि फ्लोइङ रिभर’ नै छ। आजको समयसम्म दुरूपयोग भएको छैन र सदुपयोग पनि गर्न सकिएको छैन। बरू त्यहाँका स्थानीयहरूको माग के हो भने हामीलाई पनि बिजुली पनि चाहियो।

बिजुलीका लागि अबको केही बर्षमा कर्णालीलाई कोसी र गण्डकीको अवस्थामा नपुर्‍याउलान् भन्न सकिन्न। रसुवागढीबाट फिस्लिङसम्म आउँदा १२ भन्दा बढी हाइड्रोपावर बनेको छ।

किन यस्तो भइरहेको छ ?

खास गरेर जलवायुभन्दा माथि भ्रष्टवायु छ नेपालमा। भ्रष्ट संरचना अर्थात ठेक्कापट्टाको संरचनाले गर्दा कुरूप भएको छ हाम्रो विकास। जलवायु परिवर्तन अर्थात पानीको चक्रमा आएको परिवर्तन छ। हिमालमा पनि त्यस्तै अवस्था छ। हिउ बन्ने पग्लिने पनि परिवर्तन भएको छ। बाढी पहिरो नै गएको छ।

हामीले विकासका लागि जुन साधान र स्रोत प्रयोग गरेका छौं त्यो नै परिवर्तन भएको छ। आज हामीले जुन तरिकाले विकास गरेका छौ भोलि ठूलो घटना घट्यो भने के हुन्छ। कराडौं लगानी गरेर हाइड्रोपावर बनायौं पछि बाढीले लग्यो भने के हुन्छ? हामीले हाम्रो विकासलाई दिगो बनाउने बारे नसोच्नाले नै यस्तो भएको हो।

नदीको किनारबाट यात्रा गर्दा केकस्तो जोखिम हुँदोरहेछ । यात्रा गर्न केले आकिर्षत गर्‍यो ?

तिब्बतबाट भारतसम्म यात्रा गर्ने सोचले नै हामीलाई कर्णाली नदीको नजिक हुन पायौं। कर्णाली नदी हिमालपारीबाट अर्थात हिमाल काटेर महाभारत र चुरे काटेर तल गंगामा पुग्छ थोरै समयमा फाँटमा झर्छ। नदीमा मान्छे जान्छन् आउँछन्। किनार घर बनाउँछन्। जिवन चलेको छ। भारतमा नेपालबाट जाने नदीको व्यापक रूपमा प्रयोग गरेको छ। ठूलोठूलो बाँध बाँधेर सिचाइँका लागि हजारौ-हजार किलोमिटरको नहर बनेको छ। नेपालमा नदीलाई सही, प्रयोजनखका लागि खासै प्रयोग गर्न सकिएको छैन। भारतको युपी र बिहारमा सिचाइँको रूपमा काम गरेका छन्। ७० प्रतिशत नेपालको भूभाग भएर जाने गंगाको ठूलो स्रोत हो। यो पानी चाहिन्छ चाहिन्छ। उनीहरूको लागि बिजुली दाेस्राे प्राथमिकतामा पर्ने कुरा हो। बिजुली अरू नै तरिकाले पनि निकाल्न सक्छन् तर पानी अनिवार्य चाहिन्छ। त्यस कारणले पानीमाथि ठूलो भूराजनीति छ ।

सँगसँगै के छ भने हिमालय पर्वत अफ्गानिस्तानदेखि म्यानमारसम्म ३५ सय किलोमिटर छ भनिन्छ। तिब्बती ‘पठार’चाहिँ एसियाको दश वटा ठूलो नदीको उद्गम हो। त्यसकारणले तिब्बतलाई नदीहरुको राजधानी पनि भनिन्छ।

नदी भनेको के हो ?

नदी भनेको भुराजनीति पनि हो। संस्कार र संस्कृति अनि सभ्यता पनि हो। जीवन र मरण पनि हो। विविधता पनि हो। यसले पानी मात्रै बोकेर हिँड्दैन। नदी आफैमा सामान्य छैन। त्यसकारणले नदीको यात्रा गर्नुपर्छ।

हामीले नदीको किनार कयौं रात बिताएका छाै‌ं। मैले बाघको कुरा पनि गरेको छु छालबाटाेमा। कर्णाली नदीकाे किनार बस्नेहरू कहिले आऊला बिजुली भनेर बसेका छन्। ३०—४० वर्षदेखि हाइड्रोपावर बनेको छैन कर्णालीमाथि।

नेपालकाे जुम्ला हुम्लातिरको अर्कै छ। डोल्पापारी चिनियाँहरु धनी छन्। विकासको मूल फुटिरहेको छ त्यहाँ। वारि आउनेबित्तिकै शून्य छ्। त्यसैले छालबाटोमा नदीको कथा मात्रै होइन, नदीले बनाएको मानिसको कथा पनि हो।

विज्ञहरूले अथाव जानकारहरूले ‘क्लाइमेट चेन्ज’लाई कसरी हेरिरहेका छन् ?

गएको तीन सय वर्ष यता पृथ्वीमा मानिसले धेरै थोकको विकास गर्‍यो। कार्बनडाइअक्साइड बढेसँगै पृथ्वीमा तापक्रम पनि बढ्यो र धेरै खालको असर पर्‍यो ।

विकसित मूलका देशमा पनि असर परेका छ क्लाइमेट चेन्जको। यस्तोमा धनी देशले त आफूलाई सुरक्षित पनि गर्न सक्ला तर हाम्रो देशजस्तालाई गाह्रो पर्छ।  जलवायु परिवर्तनकाे असरसँग जुध्न हाम्रो देशलाई गाह्रो छ।

गएको २० वर्षमा संसारैभरिको वातावरण बिग्रियो। क्लाइमेट चेन्जको बहस संसारभरि भइरहेको छ। जलवायु परिवर्तनले संसारको ध्यान तानेको छ। तर निष्कर्षमा पुग्न सकेको छैन। किन हो भने, विकास र वातावरण भन्नेबित्तिकै  द्वन्द्व बढी देखिन्छ । अहिले त विकास पूर्वबाट आइरहेको छ। चीन र भारत त्यसको उदाहरण हो। अहिले यहाँ व्यापक रूपमा विकास भइरहेको छ र प्रकृतिको दोहन पनि भइरहेको छ। पश्चिममा विकास गर्ने क्रममा जे भयो त्योबाट जोगिँदै हामीले विकास गर्नुपर्छ भन्ने लाग्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?