
काठमाडाैँ- काठमाडाैँमा बुधबार जितिया पर्व मनाइएको छ। जितिया पर्वको मुख्य दिन बुधबार तराई तथा मधेसी समुदायका महिलाले यस चाड धुमधामका साथ मनाउँछन्।
तीन दिनसम्म मनाइने यस पर्वको मूख्य अर्थात दोस्रो दिनमा महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन्। यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ।
बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ। खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन्। त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ।
जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्दै मनाइने पर्व हो।
थप तस्बिरहरु: वर्षा शाह/देश सञ्चार