
दाङ– पूर्व राजा ज्ञानेन्द्र शाह आउने खबर थाहा पाएकाहरु उनी पुग्ने स्थल तथा मन्दिरमा पुगिसकेका थिए। समर्थकहरुको भिड नै लाग्यो। प्रहरीले सुरक्षा ब्यवस्था मिलाएको थियो। शुक्रबार दाङ आएका उनले घोराहीस्थित गोरक्ष रत्ननाथ मन्दिर र अम्बिकेश्वरी मन्दीरको दर्शन गरेका छन्।
शाहले मन्दिरमा पूजाआजा गरी सबै शक्तीपिठहरुको अवलोकन पनि गरे। मन्दिर व्यवस्थापन समितिले मन्दिरको इतिहास र महत्वबारे प्रकाश पारेको थियो। समितिका पदाधिकारीले मन्दिरमा भएका समस्या पनि राखेका थिए। शाहले समस्या ध्यान दिएर सुने पनि कुनै प्रतिक्रिया दिएनन्।
शाहलाई स्वागत गर्न समर्थकहरुको लामो लाइन लागेको थियो। स्वागतमा उपस्थित सयौं शुभचिन्तकहरुले ‘राजा आऊ, देश बचाअौँ, हाम्रा राजा प्राणभन्दा प्यारा छन्’ जस्ता नारा लगाएका थिए।
समर्थकहरुले शाहलाई फूलमालाले स्वागत गर्दै विभिन्न समस्या पनि राखेका थिए। कतिपयले राजनीतिक दलहरुले राम्रो काम गर्न नसकेको गुनासो गर्दै शाहलाई देशको नेतृत्व गर्न आग्रह गरेका थिए। शाहले कुनै प्रतिक्रिया नजनाई सहमतिमा टाउको मात्रै हल्लाएका थिए।
शाह नेपालगञ्जबाट गाडीमा लमही हुँदै घोराही आएका हुन्। लमहीको अर्जुनखोलामा पनि देउखुरी क्षेत्रका समर्थकहरु स्वागत गर्न सडकमा आएका थिए। शाहले भ्रमणको उद्देश्य केही बताएका छैनन्। यसपछि नेपालगञ्ज फर्कने कार्यक्रम छ। केही दिनपछि सुर्खेत भ्रमणको कार्यक्रम रहेको सुरक्षास्रोतले जानकारी दिएको छ।
यो पनि हेर्नुहोस्:
पुर्वराजा ज्ञानेन्द्र धनगढी आउँदै, के के पाक्दैछ जलसा होटेलमा ?