
गजल साहित्यमा दख्खल राख्ने शैलेन्द्र अधिकारी आख्यान लेखनमा पनि उत्तिकै सक्रिय छन्। लामो समय शिक्षण पेशा गर्दै आएका अधिकारी समालोचक पनि हुन्। उनको पहिलो उपन्यास ‘निर्वेद’ ले ‘डिल्लीराम तिम्सिना अर्वोत्कृष्ठ उपन्यास पुरस्कार २०२१’ जितेको थियो। निर्वेदमा ज्ञान वैराग्य र श्मशान वैराग्यको पृथक्तता खोज्दै वेदान्त दर्शनको सहारामा संन्यासीको चरित्र चित्रित छ।
ब्रह्मअस्त्र कथासंग्रह पछि उनको तेस्रो पुस्तक ‘अर्हत्’ उपन्यास अहिले बजारमा आएको छ। देशसञ्चारका लागि लेखक अधिकारीसँग साेही उपन्यासकाे सेराेफेराेमा बसेर गरिएको कुराकानी:
अर्हत् कस्तो उपन्यास हो ?
अर्हत् बुद्धदर्शनमा आधारित उपन्यास हो। यस उपन्यासको वैचारिक आधार बौद्धदर्शन नै हो। उपन्यासमा २६ सय वर्ष पहिलेको बुद्धकालिन समाज, तत्कालीन सामाजिक र राजनैतिक परिवेशको पनि चित्रण गरिएको छ। बुद्धगाथा र बुद्धको धर्मोपदेशलाई अर्हत् उपन्यासमा आख्यानीकरण गरिएको छ।
बुद्धको जीवनीमाथि थुप्रै किताब नलेखिएका होइनन्। तपाईंलाई चाहिँ केले लेख्न उद्वेलित गर्यो?
समयक्रममा बुद्धको जीवनीमाथि विभिन्न कोणबाट विभिन्न कृतिहरू लेखिएका छन् र लेखिँदै पनि जानेछन्। नेपाली भाषामा तुलनात्मक हिसाबमा हेर्ने हो भने बुद्ध कम लेखिएका छन्। नेपाल भाषा वा तिब्बती भाषामा अधिक धेरै बुद्धमाथि लेखिने, विमर्श गरिने पाइँन्छ। दर्शन मेरो रूचिको विषय हो। मैले बुद्धदर्शन पढ्दै जाँदा निश्चित समयमा पुगेपछि यसलाई आख्यानीकरण गरेर प्रस्तुत गर्दा आम पाठकका लागि रूचिकर र ग्राह्य हुन्छ होला भन्ने ठानेर मैले यस विषयमा उपन्यास लेखेको हुँ।
बौद्धदर्शनका लागि तपाईंले राखेको चासो केबल किताब लेख्नलाई मात्रै हो कि अन्य कारण पनि छन्?
मैले अघि नै भनिसकेँ दर्शन मेरो रूचिको विषय हो। म दर्शन पढ्न, यसैमा घोत्लिन र यसैबाट संक्रमित हुन रुचाउँछु। मेरो अघिल्लो उपन्यास निर्वेदको वैचारिक आधार वेदान्त दर्शन थियो भने यस अर्हत् उपन्यासको वैचारिक आधार बुद्धदर्शन हो। त्यसैले बुद्धदर्शनप्रतिको मेरो चासो पुस्तक लेखनका लागि मात्रै नभएर हाम्रै भूगोलबाट विश्वव्यापी बनेको यो दर्शनको गहिराइमा विचरण गर्ने अभिलाषाले मलाई यस दर्शनतर्फ रुचि जगाइरहेछ।
उपन्यास लेखनका लागि सामाजिक, ऐतिहासिक विषयहरू पनि प्रशस्तै छन् तर तपाईंले पौराणिक विषय लिनुको भएको छ। के कारणले तपाईँलाई यसतर्फ डोर्याएको हो जस्तो लाग्छ?
पहिलो त कुन विषयमा लेख्ने भन्ने कुरापनि लेखकको रुचि र अध्ययनमा भर पर्ने कुरा हो। यसरी हेर्दा बौद्धदर्शन वा कुनै पनि दर्शन मेरो रूचिको विषय हुने नै भयो। अर्काे कुरा बुद्ध नेपालमा जन्मेका हुन् र उनी नेपालका विभूति हुन् भन्नेभन्दा बाहेकका विषयमा आम नेपाली जनमानसले विशेष रुचि देखाएको छैन। बुद्धका विचार, नीति तथा आदर्शलाई गम्भीर समीक्षा गरेर समयसापेक्ष रूपमा अनुशरण नगर्ने हो भने बाँकी कुरा केवल ओठेभक्ति मात्र हुन जान्छ। त्यसकारण बुद्धत्वलाई सरल साहित्यको भाषामा आमपाठक माझ ल्याउनुलाई पनि मैले अलिकति आफ्नो दायित्व सम्झिनुले पनि मलाई यो उपन्यास लेखनतर्फ डोर्याएको हो भन्ने बुझेको छु।
नेपाली भाषामा बौद्ध साहित्यको अभाव छ भन्नुभयो । त्यसको खास कारण के होला?
नेपाली भाषामा जेजति बौद्धसाहित्य लेखिनुपर्थ्याे, लेखिएको छैन । यसका विविध कारणहरू छन्। केही राजनैतिक र केही धार्मिक कारण त अवश्यमेव हुने नै भयो। सत्तामा रहनेले आफ्नो भाषा र संस्कृतिलाई जेजसरी होस्, चाहे बलपूर्वक नै किन नहोस्, पृष्ठपोषण गरिरहेकै हुन्छ, त्यसकारण सत्ताको वक्रदृष्टिमा बौद्ध साहित्य पनि पर्याे। त्यस्तै हिन्दूहरूले बुद्धलाई विष्णुको अवतारको रूपमा व्याख्या गरिदिए। फेरि बुद्धदर्शनका मूल विषयहरू पाली भाषामा लेखिएका छन्। नेपालीहरूका लागि संस्कृत जस्तो सहज पहुँचमा पाली भाषा नभएकाले भाषिक पहुँचका कुराले पनि धेरथोर असर पार्यो कि भन्ने लाग्छ। जे भए पनि नेपाली भाषामा बौद्ध सहित्य कम लेखिएको भने साँचो हो।
यो उपन्यासको कलेवर निर्माणको आधारशीलाका रूपमा तपाईँले कुन कुन कुरालाई लिनुभएको छ?
यो उपन्यास सिद्धार्थ गौतम गौतम बुद्ध बनेको कथा हो। गौतम बुद्ध र बुद्धसँग तत्कालिन समयमा जोडिएका हरेक विषय र प्रसंगहरू यस उपन्यासमा कतै न कै आएका छन्। बुद्धगाथा, उनको धर्मोपदेश, तत्कालीन सामाजिक र राजनैतिक अवस्था, जीवनपद्धति, कपिलवस्तु राज्यको पतन लगायतका बुद्धकालीन समाजका यावत् विषय नै अर्हत् उपन्यासमा प्रस्तुत भएको छ। ती घटनालाई हेर्ने साक्ष्य खोज्ने क्रममा बौद्धधर्मका विभिन्न ग्रन्थलाई मैले अध्ययनको विषय बनाएको छु। पूर्णतः यो कुनै अनुसन्धानात्मक ग्रन्थ होइन त्यसकारण बौद्धदर्शन र धर्मसित सम्बद्ध कथाहरू र केही किंवदन्तीसमेत कल्पनाको आधार बनाएको छु। बुद्धसँग सम्बन्धित ऐतिहासिक एवम् समाजशास्त्रीय ग्रन्थहरूबाटभन्दा पौराणिकतासित आफू बढी आकर्षित भएको तथ्य मैले मनन गरेको छु। तैपनि बुद्धलाई भगवान् वा कुनै अलौकिक, ईश्वरीय शक्तिसम्पन्न दिव्य पुरुषका रूपमा नहेरी उनीप्रति सकेसम्म यथार्थवादी हुने प्रयत्न गरेको छु। यस क्रममा उनीप्रति विकास भएको परम्परागत धारणा भञ्जन होला कि भन्नेमा पनि सचेत हुने कोसिस गरेको छु।
बुद्धलाई कसरी व्याख्या गर्नुहुन्छ ?
बुद्धलाई एक कर्मयोगी महामानवको रूपमा मेरो ब्रह्मले चित्रित गर्दछु, जसले आफूलाई कहिल्यै केन्द्रमा राखेनन्। दरबारिया सुखसयलको रमझममा हराउने त्यत्रो अवसरलाई उनले पूर्णतः वेवास्ता गरिदिए। कठोर दुस्कर चर्या गरेर। ज्ञान प्राप्त गरे। ज्ञान प्राप्त पछि पनि उनले विश्राम लिएनन्। आफूले प्राप्त गरेको ज्ञानको प्रसारमा समग्र जीवन व्यतित गरे। भगवान् बनेर पुजित भएर रहनुभन्दा भ्रमण गरेर ज्ञानको प्रसार गर्दै रहे। तत्कालिन समय र परिवेशलाई हेर्ने हो भने त्यो आजका दिनमा हामीले सोचेभन्दा निकै जटिल थियो। त्यसैले म त बुद्धलाई एक कर्मयोगी महामानव नै मान्दछु।
बुद्धका उपदेशहरू जुनसुकै कालखण्डमा पनि सान्दर्भिक हुनुका कारणहरू के हाे जस्ताे लाग्छ ?
सिद्धार्थ गौतम जसरी गौतम बुद्ध बने, जसरी उनले नवीन ज्ञान प्राप्त गरे र त्यसको प्रसार गरे त्यही कुराले बुद्धको जीवन चरित्र जुनसुकै कालखण्डमा पनि सान्दर्भिक देखिन्छ्। बुद्धकालिन समयमा अनेकन धर्मावलम्बी र मतावलम्बीहरू ज्ञानको खोजीमा लागिरहेको अवस्था थियो। एकअर्कामा चरम अविश्वास र टकरावको अवस्था थियो। त्यस्तो बेलामा आएको बुद्धदर्शनले ‘बहुजन हिताय बहुजन सुखाय’ भन्ने जस्ता विचार लिएर अगाडि आएको हुनाले पनि यो सान्दिर्भिक छ। अर्कातिर वर्तमानको जुन किसिमको विध्वंसात्मक समय छ, हतियारको होडबाजी चरममा पुगेको छ, यस्तो समयमा त बुद्ध झन्झन् सान्दिर्भिक बनेर आइरहेका छन्।
बुद्धको मध्यमार्गको अवधारणाले नेपाली राजनीतिमा कस्तो प्रभाव पारेको छ?
बुद्धको मध्यमार्गको अवधारणालाई नेपाली राजनीतिले बुझेको छ जस्तो मलाई लाग्दैन। नेपाली नेताहरूले कति बुद्धलाई पढे होला? पढे पनि त्यसलाई राजनीतिको सुत्रको रूपमा लिए होला भन्ने मलाई विल्कुल लाग्दैन। बुद्ध अहिंसाका पुजारी हुन् भन्ने परम्परागत वाक्य बोलिदिएर बुद्धलाई बुझेको मान्न सकिँदैन। तर बुद्धको मध्यमार्गको अवधारणालाई स्वीकार गर्ने हो भने नेपाली राजनीति पनि अझै सुन्दर हुन्थ्यो होला।
‘अर्हत्’ले भगवान् बुद्धको कथा बोलेको छ एक लेखकलाई भगवान् भएर अभिव्यक्त हुन के कति सहज वा असहज हुने रहेछ ?
अर्हत् उपन्यासमा भगवान्को कथा कथिएको हो कि होइन भन्ने सवालमा मैले अघिल्लो उत्तरमै प्रस्ट पारिसकेको छु। जहाँसम्म बुद्ध भएर बोल्न लेखकलाई असहज वा सहज के भयो भन्ने कुरा छ त्यो लेखकको अध्ययन र कल्पना शक्तिमा निर्भर हुने कुरा हो। आख्यानमा नदीपर्वत जस्ता जड चरित्रले समेत लेखकको धारणा अभिव्यक्त गर्ने शक्ति राख्छन् भने यहाँ त मानवीय चरित्रको कुरा छ। त्यसमा असहजताको प्रश्न नै आएन नि। तर वर्तमानमा लेखकले आफूलाई पच्चीस सय वर्षभन्दा अगाडिको परिवेशमा रूपान्तरण गरेर अभिव्यक्त गर्न भने अलि ठूलै तयारी गर्नुपर्ने रहेछ भन्ने कुराको अनुभव भने भएको छ। कथा प्राचीन हुँदाहुँदै पनि कथाको व्यञ्जनाले वर्तमानलाई पनि सम्बोधन गर्नुपर्छ भन्नेमा म सतर्क भएको छु जस्तो लाग्छ।