
काठमाडौँ – यतिबेला देशभर दसैँको चहलपहल छ। अध्ययन तथा कामको शिलशिलामा सहर बजारमा बस्नेहरु दसैँका लागि आफ्नो गाउँघर फिर्किने क्रम चलिरहेको छ। हालैको बाढीपहिरोले बाटोघाटो जोखिमपूर्ण भए पनि दसैँ मनाउन सहर छाड्नेहरु प्रशस्तै छन्।
दसैँको एउटा प्रमुख विशेषता पिङ पनि हो। नेपाली समाजमा दसैँका बेला एकपटक पिङ खेल्नै पर्छ, एक पटक जमिन छाड्नु पर्छ भन्ने मान्यता छ।
तर, पछिल्लो समय पिङ हराउँदै गएको छ। खुला ठाउँको अभाव हुने हुँदा सहर बजारमा त पिङ देख्न मुस्किल हुन्छ। पछिल्लो समय गाउँमा समेत पिङ हाल्ने प्रचलन कम हुँदै गएको छ।
पहिले पहिले गाउँभरीका सबै मिलेर पिङ हाल्ने र बालबालिकादेखि युवायुवतीसम्म दसैँका बेला पिङमा रमाउँथे। आजभोलि भने पिङ कतैकतै मात्र देखिन्छ।
यसैबीच मंगलबार काठमाडौँको चन्द्रगिरिको दहचोक क्षेत्रमा पिङ देख्न पाइयो। पिङमा बालबालिकादेखि युवायुवतीसमेत पिङमा रमाइरहेको देख्न सकिन्थ्यो।