
‘बुढेसकालमा औषधि खाने भनेर सहकारीमा राखेको पैसा खाइदिए । प्रेसर, सुगर छ । औषधि खाने पैसा पनि खाइदिएर मर्यो’, आइतबार दिउँसो सहकारी पीडित बचतकर्ताको अन्दोलनमा भेटिएकी ५९ वर्षीया बालकुमारी गुरुङले आक्रोश पोखिन् ।
पोखरा महानगरपालिका–५ मालेपाटनकी बालकुमारीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १५ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । सुगर र प्रेसरकी बिरामी उनले सोंचेकी थिइन् सहकारीले दिने ब्याजले औषधि खान पुग्छ । भइदियो ठ्याक्कै उल्टो, सहकारी सञ्चालकले रकम कुम्ल्याएर हिँडेपछि प्रेसर झनै बढाएको छ । बेलामा औषधि खाने पैसा जोहो गर्न उनलाई मुस्किल हुन्छ । ‘कहाँ गएर पाउने हो हाम्ले पैसा, क्यारेर पाउने हो’, उनको प्रश्न छ ।
बिसन्चो ज्यान लिएर उनी सहकारी पीडितको हरेकजसो आन्दोलनमा पुग्छिन् । आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि शहिदचोकमा सहकारी प्रकरणमा जोडिएर पक्राउ परेका सभापति रवि लामिछानेको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टीको विरोध थियो । प्रशासनले लगाएको निषेधाज्ञा तोडेर चर्किएको भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानी फोहोरा, अश्रुग्याँसको सहयता लियो । विरोधमा उत्रिएको भीड र प्रहरीबीच दिनभरजसो धकेलाधकेल चल्यो ।
शहीदचोकको नजिकै राष्ट्रबैंक चोकमा सहकारीका पीडित बचतकर्ता रकम फिर्ता माग्दै आन्दोलनमा थिए । दुवै आमानेसामने भएको खण्डमा मुठभेड हुनसक्ने आन्दोलनमा बालकुमारी पुग्नुको कारण रकम फिर्ताको आशले हो ।
रकम फिर्ता माग्दै उनी आन्दोलनमा होमिएको वर्षदिन बढी भयो । बचत रकम फिर्ता पाउने झिनो आशमा बाँचेको उनी बताउँछिन् । ‘आन्दोलनमा आइरहेछु म त । तैपनि फिर्ता पाउँछ की भन्ने झिनो आशाले आको’, उनी सुनाउँछिन् ।
‘हाम्रा सहकारीका पैसा बाँडेर खायौं !
वृद्धदेखि बालकसम्म धुरुधुरु रुवायौं
कसैले टिभीमा बोलेर खाए
बोलेकै भरमा करोडौं पचाए’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलक्षित विरोधको पम्पलेट हातमा लिएर आन्दोलनमा होमिएका थिए पोखरा महानगरपालिका–१३ काँहुखोलाका दिलकुमार महर्जन । विदेशमा पसिना बगाएर कमाएको रकम उनले सूर्यदर्शन सहकारीमा जम्मा गरेका थिए । त्यो पनि बैंकबाट झिकेर ।
सभागृहचोकमा रहेको सिद्धार्थ बैंकमा उनले पैसा राखेका थिए । आडैमा रहेको सूर्यदर्शन सहकारीका प्रबन्धकले आकर्षक ब्याजको लोभ देखाएर बारबार बैंकबाट पैसा झिक्न अनुरोध गरे । ‘दुई वर्षमै बचत गरेको रकम दोब्बर हुन्छ’, दिलकुमारलाई प्रलोभन देखाउँथे ।
साह्रै कर गरेपछि दिलकुमारले १५ लाख रुपैयाँ सूर्यदर्शनमा खाता खोलेर जम्मा गरे । अहिले साँवा न ब्याज भएको छ । घरखर्च चलाउनै सकस भएपछि उनी जागिरे बनेका छन् । बचत फिर्ताको आशमा उनी सहकारी पीडितको हरेक आन्दोलनमा जागिरै छाडेर पनि धाइरहेका हुन्छन् ।सरकार उदासिन भएपनि बचत फिर्ता पाइन्छ की भन्ने आशाको त्यान्द्रोलाई उनले चुड्न दिएका छैनन् ।
‘बचत फिर्ता होला भनेर धाइरहेका छौं क्यारे । कुन दिन पाइन्छ भन्ने निश्चित त छैन’, उनी थप्छन्, ‘यिनीहरुलाई (रकम अपचलन गर्ने) कारबाही हुनुप¥यो । हाम्ले बचत फिर्ता पाइयो भने अरु कुरासँग सरोकार भएन ।’
रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि बचत फिर्ताको आश पलाएको सूर्यदर्शन सहकारी पीडित बचतकर्ता संघर्ष समितिका संयोजक किरण श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘सरकारले रावि लामीछाने ज्युलाई पक्राउ गरेर ल्याएको छ । यसमा निष्पक्ष छानबिन, अनुसन्धान हुन्छ । गोरखा मिडिया नेटवर्कमा गएको रकम फिर्ता हुन्छ भन्ने हामीले आशा लिएका छौं ।’
सहकारीले सडकमा ओरालेको दुई वर्ष हुन लाग्दासमेत एक रुपैयाँ फिर्ता नपाएकोमा उनी असन्तृष्ट छन् । सरकारले पीडितलाई बचत फिर्ताको नीति ल्याउनै नसकेको उनको भनाइ छ । फास्टट्रयाकबाट सहकारी पीडितको समस्या समाधान गर्नु सरकारसँग श्रेष्ठको माग छ । ‘कहिलेसम्म यो किसिमको विरोध ? दुई वर्ष भइसक्यो । कहिलेसम्म सरकार थेगेर बस्ने हो त ?’, उनको प्रश्न छ ।
सूर्यदर्शन सहकारीका बचतकर्ता गत वर्षदेखि नै आन्दोलनमा छन् । रकम फिर्ता पाउन छाडेपछि बचतकर्ताले २०८० साउन २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।
पोखरा महानगरपालिकाले वित्तिय विश्लेषणसहित तयार पारेको ३ हजार ४१९ पृष्ठको लामो प्रतिवेदनमा सूर्यदर्शनका १८ हजार ७ सय बचतकर्ताको रकम अपचलन भएको उल्लेख छ । सहकारीको ऋणी संख्या ४३३ जना छन् । १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९८ रुपैयाँ सहकारीको बचत रकम हिनामिना भएको प्रतिवेदनले भनेको छ ।
बचतकर्ताले उजुरी दिएपछि सहकारीको रकम हिनामिना प्रकरणमा दुई पटक गरेर ४४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । जसमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसचिव अनुज नकर्मी, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ, आर्ईटी प्रमुख भविश्वर अर्याल पक्राउ परेर पूर्पक्षका लागि थुनामा छन् ।
गोरखा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उनका दाइ भूपेन्द्र राई, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगर लगायत तीन दर्जन बढी फरार नै छन् ।
पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको सहकारी छानबिन संसदीय विशेष समितिले प्रतिवेदनमा उल्लेख गरेपछि असोज ६ गते पूर्वडिआइजी छविलाल जोशी पक्राउ परे । उनी विरुद्ध कास्की प्रहरीको अनुसन्धान जारी छ ।
जीबिसँग मिलेर तीन करोड रुपैयाँभन्दा बढी अपचलन गर्ने लिला पछाँईलाई कास्की प्रहरीले असोज १४ गते पक्राउ गर्यो ।
गत शुक्रबार जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीको रकम विभिन्न कम्पनिमा लगेर हिनामिना गर्ने पूर्वगृहमन्त्री रवि लामीछानेसहित १४ जनाविरुद्ध एकसाथ पक्राउ पूर्जी जारी गरेको छ । रविलाई शुक्रबार नै पक्राउ गरेर शनिबार विहान जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइयो । आइतबार जिल्ला अदालत कास्कीले शुक्रबारदेखि लागु हुने गरेर ६ दिन हिरासतमा राखी अनुसनधान गर्न अनुमति दिएको छ । रविको पार्टी रास्वपाका नेता कार्यकर्ता उनी निर्दोष रहेको भन्दै शुक्रबार रातीदेखि नै विरोधमा उत्रिएका छन् । सहकारीका बचतकर्ता रविलाई पक्राउ गरेपछि आइतबार रकम फिर्ता माग्दै सडकमा ओर्लिएका हुन् ।