पोखरा- पोखरामा जारी राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको महिलातर्फ दुई विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल आर्मीको समूह फाइनलमा प्रवेश गरेका छन्।
त्यसैगरी पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चल र विभागीय टिम आर्मी फाइनलमा प्रवेश गरेका छन्।
विभागीय टिम आर्मी दोहोरो फाइनलमा प्रवेश गरेको हो। शनिबार दुवै टिमको फाइनल खेलसहित प्रतियोगिता समापन हुने भएको कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङले बताए।
पोखरामा जारी ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले पूर्वाञ्चल विकास क्षेत्रलाई ५ को बिरुद्ध ३२ को बिशाल गोल अन्तरले पन्छाउँदै उपाधि नजिक पुगेको हो।
एपीएफको जितमा उमा राईले १२ गोल गर्दै वेलमा वि–मेन अफ दी म्याच घोषित भइन्। दोस्रो खेलमा वि–मेन अफ दी म्याच घोषित शान्तिकला राईको २१ गोलको मद्दत आर्मीले घरेलु टिम पश्चिमाञ्चलाई पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो।
आर्मीले पश्चिमाञ्चललाई ३८–६ को गोल अन्तरले पराजित गरेको हो। उपाधिको लागि दुई विभागीय एपिएफ र आर्मीबीचको खेल शनिबार हुने भएको छ।
पोखरा रंगशालामा जारी १८ औं पुरुष ह्याण्डबल प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा विभागीय टोली आर्मीले झिनो गोल अन्तरले जित हासिल गरेको छ। आर्मीले एपीएफमाथि २३–२२ को गोल अन्तरले फाइनलमा यात्रा तय गरेको हो। आर्मीका विकास राई म्यान अफ दी म्याच घोषित भए। अर्काे खेलमा घरेलु टिम पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३७–१७ को गोल अन्तरले पराजित गरेको हो। खेलमा पश्चिमाञ्चलका प्रेम गुरुङ म्यान अफ दी म्याच घोषित भए।