भिडियो अन्तर्वार्ता

३२ वर्षे बिरासतमा गुन्जिँदै कन्दराका लोकपप, संगीतको विशिष्ट ‘जनरा’ हराउँदै गयो: गायक श्रेष्ठ

+
-

३२ वर्षपछि, आउँदो नोभम्बर ९ मा कन्दरा व्याण्ड पहिलोपटक काठमाडौंमा गुन्जिँदै छ। ‘कलिंग कन्दरा ३२ औं एनिभर्सरी कन्सर्ट’ जुटेका गायक विवेक श्रेष्ठ यो अवसरलाई ठूलो उपलब्धी मान्छन्। र पनि देशकै राजधानी काठमाडौंमा कन्दरा व्याण्ड गुञ्जिन यत्तिका वर्ष किन लाग्यो?

‘खै केके कारणले काठमाडौंमा समय लाग्यो। मेसो जुर्नु पर्थ्याे जुरेन। राम्रो काम जुर्न समय लाग्दोरहेछ भनौं। हामीलाई २५ वर्ष अगाडिदेखि नै हो काठमाडौंबाट कन्सर्टका लागि आग्रह भएको। तर ब्यान्ड आएर सोलो कन्सर्ट गर्ने साइत नै जुरेन। प्रायः ब्यान्ड मेम्बर पोखराकै थियौं। मिडियाले पनि सधैं मोफसल नै भनेर हेरिरह्यो,’ उनले भने,’काठमाडौं कलिङ कन्दरा’ नाम पनि किन राख्यौं भन्दाखेरी वास्तवमा काठमाडौंले नै बोलाएको हो। अरू कार्यक्रम पछि गर्दै गरौंला, एकपटक काठमाडौं जाऊँ भनेर हामी आएका हौं। आशा गरौं, यो कन्सर्टपछि हामी लगातार आउटडोर-इन्डोर कन्सर्ट र मासमा जाने कार्यक्रम गर्छौं।’

कन्दरा व्याण्डले नेपालका मात्रै नभएर विश्वमा छरिएका दर्शकस्रोताका मन जितेको छ। कुनै समय रेडियो नेपालबाट एकछत्र गुञ्जिन्थे कन्दराका गीतहरू। ५० को दशकमा लोकपपमा पोखरेली व्याण्डको भिडमा ‘हङकङ पोखरा’ बोलको गीत गाएका विवेक अहिले पनि उस्तै छन्। उनको स्वभाव, उनको भोकल र उनको प्रस्तुतीमा खासै भिन्नता आएको छैन। गीतसंगीतमा सधैं गम्भीर छन्, उनी। नेपाली गीतसंगीतमा थुप्रै परिवर्तन भयो तर कन्दरामा खासै ठूलो परिवर्तन नभएको उनी बताउँछन्,’कन्दरा व्याण्ड अझै उस्तै छ। मौलिक गीत, ठेट शब्द, गाउँघरका बोलीचाली र लबज कन्दराबाट छुटेको छैन।’

कतिसम्म भने कन्दरालाई पश्चिमी संगीतको प्रभाव भन्ने आरोप लाग्ने गरेकाे थियाे। विस्तारै दर्शक-स्रोताले मन पराइदिन थालेपछि आरोपितहरू तैचुप-मैचुप भए। नयाँ ‘टेष्ट’का रूपमा आफ्नै गाउँ-बेसी, कुना र कन्दराका मौलिक शब्दहरूलाई आत्मसाथ गर्दै लोकपपलाई प्रयोग गरेको थियो, कन्दराले। विवेकका अनुसार व्याण्डले सन् १९९४ मा पहिलो एल्बमको रुपमा ‘चञ्चले कान्छी’ सार्वजनिक गरेको थियो। दर्शक श्रोताले निकै रुचाए, यो टेष्टलाई। यहीँ टेष्टलाई पछ्याउँदै सन् १९९६ मा ‘डाँडापारी’ र सन् १९९८ मा ‘हङकङ पोखरा’लगायतका एल्बमले कन्दरा थप पपुलर भएको थियो।

कन्दराको ३२ वर्षे बिरासतमा थुप्रै लोकपप गीत आए। कतिसम्म भने पचासको दशकमा एकनासे आधुनिक गीत आएको बेला रकपप र लोकेपप मिश्रित गीत ल्याए र दर्शकलाई नयाँ स्वाद दिएको थियो पछि जनजनको जिब्रोमा झुण्डिएको थियो। सरल शब्द, लालित्य साहित्य, प्रकृतिसँग नजिक र गाउँघरको बोलीचोलीका गीत पाइन्छन् कन्दरामा, जाे नयाँ पुस्ताले पनि पछ्याउँदै आइरहेकाे छ। ‘व्याण्डमा थुप्रै उतारचढाव आयो। धेरै सदस्यहरू बदलिए तर व्याण्ड अहिले पनि छ। गाइरहेको छ। गीत निकालिरहेको छ,’ विवेकले भने।

बिचमा कन्दरा व्याण्ड हराएजस्तै भएको थियो। सांगीतिक समूह तितरबितर बन्यो। सुरूका सारथीहरू विजय गुरुङ, अमर गुरुङहरू पनि विदेशिए। नेपालमा भएका अन्य पनि आ-आफ्नो पेशा व्यवसायमा फर्किए। तर, कन्दराका कुनै औपचारिक सांगीतिक कार्यक्रम होस् या बार, रेस्टुँरातिर बज्न छोडेन। कन्दराकै लोकपप गीत गाउँदै, सुन्दै, सुनाउँदै नयाँ-नयाँ गायक/गायिका उदाए। कन्दरा आफू भने निस्क्रियजस्तै बन्यो।

यतिबेला कन्दरा फेरि पुनरागमन गर्न खोज्दै छ। फेरि जुर्मुराउँदै छ। लामो विदेश जीवन त्यागेर गायक विवेक श्रेष्ठ स्वदेश फर्किएका छन्। कन्दरा समूहको ३ दशक पुगेको अवसरमा ‘रिफर्म’ हुन खोज्दैछ।

गायक विवेक श्रेष्ठका अनुसार समूहमा यसपालि संगीतकार सुनिल थापासहित नेपालमा पहिलोपटक जिप्सीज्याज संगीतले गुञ्जयमान बनाउने हरि महर्जन, देव लामा, पंकज झा, सुन्दर महर्जन आदि जोडिएका छन्। खासमा हामीलाई नेपालमा केही न केही समस्या भएर तितरवितर भएको हो। तर हामी फेरि जोडिएका छौं,’ विवेकले भने,’सबै व्यवस्थापन एउटाले गरेर हामीले संगीतमा मात्रै ध्यान सक्यौं भने हामी निरन्तर गीतसंगीतमा लाग्न सक्छौं।’

कुनै पनि क्षेत्रलाई टिकाई राख्न ‘निरन्तरता’ चाहिन्छ तर विभिन्न कारणले कन्दराका सदस्यहरू पलायन हुनुपर्‍यो, जसका कन्दराको निरन्तरतामा ब्रेक लाग्यो।

जीवन निर्वाहदेखि घरपरिवारको कर्तव्य पूरा गर्नका लागि पनि विदेशिनु बाध्यता थियो। विवेक स्वयं अष्ट्रेलिया-नेपाल गरिरहन्छन्। तर, पलायन भएर पनि धेरै कन्दराले आफ्नो कर्मलाई छोडेकाे छैन। ‘म आफै पनि एक प्रकारले डायस्पोरिक नेपाली नै हो। मेरो जीवनको पिक १५ वर्ष त मैले विदेशमै बिताएको हो। यो प्रश्नलाई मैले एकदमै नजिकबाट आत्मसात गर्न सक्छु। हामी जतिबेला विदेशमा हुन्छौं, त्यहाँ हामी सबैले मिस गर्ने कुरा नै नेपाल हो। चाहे त्यो नेपाली खाना होस्, चाहे त्यो नेपाली गीत होस्, चाहे त्यो नेपालको कुनै ठाउँ होस्। बिहान उठ्ने वित्तिकै विदेशमा बस्ने नेपाली नेपालबारे अपडेट हुन्छन्। हामी एकदमै कनेक्टेड छौं नेपालसँग। हामी नेपाललाई एकदमै मिस गर्छौं,’ उनले भने, ‘हामी जुन नेपाली गीत-संगीतको उत्पादनमा लागिरहेका छौं, यो हाम्रा लागि अथाह सम्भावना हो। हामीले नेपाललाई चिनाउने एउटा अवसर पाइरहेका छौं त्यहाँ। हामी कन्सर्ट गर्न जाँदा उहाँहरूले हाम्रो मुखबाट नेपाल सुन्नुहुन्छ, नेपाल देख्नुहुन्छ। यो चाहिँ हाम्रा लागि ठूलो अवसर हो।’

नेपालको सांगीतिक क्षेत्रलाई लोक र पप रकको मौलिक मिश्रणले बेग्लै आकार दिने कन्दरा नै पर्छ। नयाँ पुस्तालाई पनि संगीतमार्फत समेट्दै गइरहेको बताउँछन्, विवेक। उनी भन्छन्, ‘संगीत सुन्ने एउटा विशिष्ट उमेर हुने रहेछ। हाम्रो गीत सुन्ने प्राइम-एज भएको पुस्ता त अहिले विदेशमा हुनुहुन्छ। उहाँहरू कतिपयलाई संगीत सुन्ने फुर्सद पनि हुँदैन। उहाँहरूले कुन समयमा संगीत सुन्नुहुन्छ, त्यो ‘अल्गोरिदम’लाई हामीले समात्न सक्नुपर्‍यो। यो अनुसन्धान गर्ने वैज्ञानिक पद्धति हो, हामीले यसका लागि काम गर्दैछौं। अहिलेको नयाँपुस्ता संगीतमा धेरै अभ्यस्त छ। उनीहरूले अहिले पुरानो-पुरानो गीत सुन्न खोजेका छन्। यसको अर्थ, त्यहाँ अवसर छ भन्ने हो । यसका लागि उनीहरूलाई कसरी आत्मसात गर्ने हो, त्यो व्यवस्थापन टिमले गर्नुपर्छ।’

तिमी पारी, डाडाँपारी, हङकङ पोखरा, लेक कि हे माया, भेडीगोठ जस्ता गीतहरु अहिले पनि याद छन्। तर अहिले बजारमा आएका गीत त्यति याद हुँदैनन्। अहिले हेर्ने माध्यमले गीतलाई सुन्न बिर्साइदिएको बताउँछन्, उनी।

‘गीत सुनिने बनाइनु पर्थ्यो तर हेर्ने बनाइयो। जसले गर्दा आँखाको लागि मनोरञ्जन भयो तर मनमा बस्न गाह्रो भयो। मनमा छुनुपर्‍यो। आफ्नै कथा कल्पना गर्न पाइन्थ्यो उहिले-उहिले। अहिले निर्देशकले सोचेको भिडियो हेर्न थालियो त्यसो हुँदा पनि गीत सम्झिन गाह्रो छ अहिले,’ उनले भने।

नेपाली गीतसंगीत जति व्यवसायिक हुँदैछ त्यति खस्किँदै गएको महसुस गर्छन्, विवेक। नेपाली परिवेश सुहाउँदो गीत हरायो र छाडा गीतहरूले स्थान लिइरहेको बताउँछन्, उनी।

‘हामीले संगीत सुन्दै आइरहेको बेला संगीतमा एउटा विशिष्ट जनरा थियो। हामीले विशुद्ध लोकगीत सुन्थ्यौं। मानौं, रेशम फिरिरी, पानको पात। दोहोरी गीतको कुरा गर्न सक्छौं। त्यो विशुद्ध लोकगीत थियो। हामीसँग फिल्मी गीत थिए। हामीले आज पनि याद गर्छौं, रञ्जित गजमेरका गीत, गोपाल योञ्जनका गीत। विभिन्न संगीतकारले विशिष्ट रूपमा दिएका गीतहरू। एउटा खास जनरा थियो। सबैमा एउटा समानता थियो नेपालीपन। तर त्यो भत्काइयो अहिले। जसका कारण गीत नेपाली सुहाउँदो रहेन,’ उनले भने।

यो नेपाली गीत हो भनेर हामीले गर्वका साथ भन्न सक्ने समय पनि थियो तर अहिले गीत छुट्याउन गाह्रो भएको बताउँछन्। धेरै गीत सुनिएर पनि याद हुन नसकेको छैन। गीत भ्युजको आधारमा मूल्यांकन हुन थालेपछि मन-मस्तिष्क नै व्यवासायिक भयो। उनी भन्छन्,’हामीले अहिले गीत बनाउनुअघि नै सोच्छौं, यो गीतबाट हामीले कति भ्युज पाउँछौं? आफ्नो र दर्शक तथा श्रोताको सोलका लागि गीत बनाइएन। गीतलाई कति जनाले हेर्छन्? कति समयसम्म त्यो गीतले कन्सर्ट पाउन सक्छ? यसका लागि गीत बनाउने होइन। यो त संगीतको व्यापार भयो होइन र?’

विवेक संगीतमा व्यापार होइन कला खोज्नुपर्ने मत सुनाउँछन्। उनका अनुसार यदि संगीत आर्ट हो भने त्यसलाई आर्टकै रूपमा लिनपर्छ। ‘कला यति बलियो होस् कि यसले व्यापारलाई पछ्याउन सकोस्। हामीले ‘लेककी हे माया’ गीत बनाउँदा यति धेरै भ्युज पाउँला र हिट होला भनेर बनाएकै होइन। हामीलाई त थाहा पनि थिएन त्यो कुरा। यत्तिकै गितार बजाएर बसेका थियौं, गीत बन्यो। मनबाट बन्यो। त्यसमा हामी लेकको कुरा गर्‍यौं, गुराँसको कुरा गर्‍यौं। गाउँको कुरा गर्‍यौं, प्रेमको कुरा गर्‍यौं। त्यो गीत हिट भएपछि हामीले प्रोग्राम पाउन थाल्यौं। संगीतले व्यवासियक बनायो।

अहिलेको नयाँ पुस्ताले गर्दै गरेको कामलाई स्वीकार्छन्, उनी। यो ‘एक्सपेरिमेन्ट’ भएको र विस्तारै माझिँदै जाने उनी बताउँछन्। ‘नेपालीले गर्ने गीतसंगीत नेपाली सुहाउँदो नै होस्।’ उनी भन्छन्,’पश्चिमा र पूर्वीय संगीत मिसाउने काम नगरौं। उच्चारण शुद्ध होस्, शब्दहरू गहकिला र समसामयिक रहुन्, बुझियोस्। शाब्दिक साहित्य नहुँदासम्म त्यो नेपाली गीत हुँदैन।’

कन्दराले अहिले नयाँ धुन पनि सिर्जना गरिरहेको छ। साथै कन्दराले संगीतलाई पर्यटनसँग जोड्ने अभियान पनि गरेको छ। संगीतकर्मीको नाताले गीतमार्फत सामाजिक दायित्वका सन्देश दिन आवश्यक छ। लामो समय प्रेमको गीत गाउँदै आएको कन्दराले यतिखेर देशप्रेम र सामाज रुपान्तरणका गीत पनि गाउँदै छ। उनी भन्छन्,’अहिले नेपालले आशातीत फल पाउन सक्ने क्षेत्र भनेको पर्यटन हो। हामीसँग अथाह पर्यटनको सम्भावना छ। यसमा पनि कोभिडले देखाइहाल्यो कि भोलि केही भइहाल्यो भने विदेशबाट पर्यटक नआउन पनि सक्छन्।’

‘पहिले घरदेश अनि परदेश’ भन्ने नाराका बोकेर कन्दरा व्याण्ड विश्वव्यापी अभियानमा लागेकाे छ। यहीँ नाराका साथ नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तूति दिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?