काठमाडौँ– उठ्ने बित्तिकै लाग्ने प्यास, घडिले समय गुजार्दै गर्दा लाग्ने भोक अनि घाममा एकै क्षण उभिनुपर्दाको थकाई। यी सबको आज कुनै अर्थ रहेन आस्था र विश्वासको अगाडि। ‘सबैभन्दा ठूलो शक्ति मनोबल नै हो’ त्यसै भनिएको हैन।
पाशुपत क्षेत्रमा देखिएको भिड यो भनाईको प्रमाण बन्यो आज र यस्त प्रमाण आज चोकचोक र गल्ली गल्लीमा, चौतारा र मठमन्दिरमा प्रस्ट थिए।
बुधबार हरितालिका तिज, हिन्दू महिलाको विशेष पर्व। निर्जल निराहार आफ्नो श्रीमान्को सुस्वास्थ्य र दिर्घायूको लागि व्रत बस्ने महिलाहरुको जमघटले पाशुपत क्षेत्रलाई ढपक्कै ढाक्यो। बिहान ४ बजेदेखि पशुपति नाथको दर्शनको लागि भक्तजनहरुको घुँइचो लागेको थियो। यो क्रम दिनभर उस्तै नै रह्यो।
पशुपतिनाथको मन्दिरदेखि पिंगलास्थानभन्दा बाहिरसम्म लाइन आइपुगेको थियो। हरेक दुई सेकेण्डमा लाइन सरीरहेको थियो। तर आउने महिलाहरुको संख्या पनि उस्तै। लाइन मिलाइरहेका प्रहरी थाकेका छैनन्, सकेसम्म झेल नहोस् भनेर लाइन् मिलाईरहेका थिए। महिलाहरु पनि धैर्यताको साथ मिलेर बेसका थिए।
श्रीस्वस्थानीको कथामा शिव पत्नी पार्वतीले श्रीमहादेव स्वामी पाऊ भनी आराधना गर्दा यो व्रत गरेको र आफूले भनेको जस्तै श्रीमान् पाएको किम्बदन्ती छ।
यही आस्था र विश्वासको साथ महिलाहरुले हरेक वर्ष हरितालिका तिजमा व्रत बस्दै आएका छन्। पशुपति परिसरमा भक्तजनहरु आफूलाई श्रृंगारेर लाइनमा लामबद्ध हुँदै त्यही बर माग्नलाई प्रतिक्षारत थिए, कुनै हतार, कुनै हतास उनीहरुमा थिएन।
पशुपति परिसर आज रङ्गिएको थियो, आस्थाले भरिएको थियो। यसलाई भर्न आमाको सारी समाएर आएका बालक बालिकादेखि लौरोको साहारामा आएका वृद्धको पनि भूमिका थियो।
श्रद्धालुलाई सहयोग गर्न स्काउटका पहिरनमा स्वयम् सेवक थिए, प्रहरी थिए। भिडमा छलिएका आफन्त खोज्न, पानीले तिर्खाएकाको आँत भर्न अनि कमजोरीले ढलेकाको निरन्तर स्थिर स्वाभावमा उनीहरु अडिएका थिए। साँच्चै आज पशुपति धैर्यताको प्रतीक थियो।