
नेपालगञ्ज- बर्दियाको गुलरिया नगरपालिका- ८ मा चार अर्बको लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ।
देशभरी नै उत्पादन पुर्याउने उद्देश्यले सुबरत धिताल, अभिनव चुरिवाल र श्याम खेतानको लगानीमा उद्योग सञ्चालनमा आएको हो। भदौ १ गतेदेखि उत्पादन सुरु गरेको उद्योगले एक महिना परीक्षणकाल सकेर बजारमा टायल पठाउन थालिसकेको छ।
साढे १२ विगाह जग्गा लिएर उद्योग स्थापना गरिएको छ। यो भिट्रीफिड टायलको एकमात्र उद्योग भएको बताइएको छ। भारतको राजिस्थानबाट कच्चा पदार्थ ल्याएर टायल बनाउने गरिएको छ। उद्योगको एक दिनमा एक लाख ४० वर्गफिट उत्पादन क्षमता रहेको छ। यसमा अझै १० देखि १५ प्रतिशत उत्पादन बढाउन सकिने सञ्चालक अभिनव चुरिवालले जानकारी दिए।
पश्चिम नेपालमा यति धेरैँ लगानीको टायल उद्योग छैन। उद्योगमा तीन सयबढी कर्मचारी रहेका छन्। दिनको अढाई सयदेखि तीन सय मेट्रिक टन माटो खपत हुने गरेको छ।
उद्योगको अहिलेसम्म सयबढी डिलर सञ्चालनमा आइसकेको छ। भारतबाट आएको टायलभन्दा यो गुणस्तरीय र २० प्रतिशतसम्म सस्तो रहेको सञ्चालक चुरिवालले बताए।
ग्याँसीफायरको प्रयोग, गुणस्तरका लागि इटालियन मेसिन, नेपालकै कम उद्योगमा रहेको डस्ट कलेक्टर यहाँ रहेको छ।
सञ्चालक चुरिवालका अनुसार, डडेल्धुरामा खानी फेला परेकाले शुरुमा उद्योग सुदूरपश्चिममै राख्ने योजना बनाइएको थियो। धनगढीमा मेसो नमिलेपछि बर्दियामा उद्योग सञ्चालनमा ल्याइएको हो। यहाँबाट अहिले काकडभिट्टासम्म उत्पादन पुगिसकेको छ।
चुरिवालले टायलको रेसपोन्स राम्रो आएको, प्रयोग गर्नेहरूले राम्रो मानेको, डिलरहरू उत्साहित भएको दाबी गरे। उनले बजारमा सिरामिक टायललाई भिट्रीफिड टायल भनेर बिक्री-वितरण भइरहेको बताए। ‘भिट्रीफिड टायलको मापदण्ड नै छैन, जसलाई पनि भिट्रीफिड भनिएको छ,’ चुरिवालले भने, ‘सिरामिक टायललाई पनि भिट्रीफिड भन्ने गरिएको छ। त्यसो होइन, लमिनारमात्रै भिट्रीफिड टायल हो।’
यो टायलको मूल्य प्रतिवर्गफिट ८० देखि दुई सय रुपैयाँसम्म रहेको छ। नेपालमा पछिल्लो दुई वर्षभित्रमा ठूल्ठूला टायल उद्योग सञ्चालनमा आएका छन्।