सनातन यात्रा

वर्णमालाबाट ञ हटाउन हुँदैन (२)

वर्णमालाबाट ञ हटाउन हुँदैन (२)
+
-

विषयप्रवेश

यसभन्दा अगिल्लो वर्णमालाबाट ञ किन हटाउन परेको हो? (१) भन्ने लेखमा नेपाली-भाषा-प्रकाशिनी समितिले गोर्सिङ्ङे ञ-को बहिष्कार गरेको छ कि छैन? पुराना नेपालीका लेखाइमा ञकारको बाहुल्य, वर्गका पञ्चम वर्णका स्थानमा शिरबिन्दु लेख्ने चलनको विवेचना, यस चलनको घट्दो प्रवृत्ति, श्रुतिअनुसार नेपालीमा ञकार नमान्ने नेपाली शब्दकोशको मत, नेपालीमा ञकार नमान्ने आधुनिक भाषाविज्ञानीको मत इत्यादि विषयमा विवेचना गरिसकिएको छ। अब यहाँ नेपालीका माउभाषा संस्कृत पालि इत्यादिमा ञकार, ञकारको स्थान करण र उच्चारण, ञकारको स्वरूप (श्रुति) र आधुनिक नेपालीमा ञकार वास्तवमा उच्चरित हुन्छ कि हुँदैन? भन्ने प्रश्नमा विचार यी मुख्य विषयहरूको विवेचना गरिँदै छ। हाम्रा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनले आजभन्दा ५३ वर्षअगि नै ञकारको विस्तृत विवेचना गरेर प्रज्ञा प्रतिष्ठानको प्रज्ञा पत्रिकामा लेख्नुभएको ‘आधुनिक नेपालीमा ञकारश्रुति र गोर्सिङ्ङे ञ लिपिʼ भन्ने लेखको माथि उल्लिखित (लिङ्क् दिइएको) पहिलो भाग पनि पढेर यो लेख पढ्दा ञकारका विषयमा विस्तृत ज्ञान प्राप्त हुन्छ। त्यसै लेखको दोस्रो भागका रूपमा यो लेख प्रस्तुत छ। प्रस्तुत लेखमा नेपाली भाषामा ञ वर्ण उच्चरित हुने गरेको निष्कर्ष दिइएको छ।

आधुनिक नेपालीमा ञकारश्रुति र गोर्सिङ्ङे ञ लिपि

वैदिक-पदानुक्रम-कोष हेर्दा वेदका संहिताभागमा र ब्राह्मणभागमा ञकारादि पद देखिँदैनन्, असंयुक्त ञकार उपधामा (उपान्तमा) भएका प्रातिपदिक (शब्द) पनि पाइँदैनन्। उपनिषद्-भागमा मात्र एउटा ञकारादि पद (ञ) देखिन्छ, किन्तु त्यो पनि कुनै लौकिक अर्थको वाचक पद हैन, केवल बीजमन्त्रका रूपमा मात्र त्यो आएको देखिन्छ। यसबाट वैदिक संस्कृतमा पनि असंयुक्त ञकार अतिदुर्लभै रहेको देखिन्छ। यसबाट चवर्गको पञ्चम वर्ण कुनै स्वतन्त्र वर्ण हैन, नेपाली पद “पञ्च”मा झैँ केवल चवर्गका सान्निध्यले (सामीप्यले) भएको नकारकै उच्चारण-विशेष मात्रै हो भन्ने पक्षलाइ बल मिल्छ, तर यज्ञ (यज्-ञ) याच्ञा (१) इत्यादि पदमा भने जकार तथा चकार पूर्वस्वरको अङ्ग हुने हुँदा (२) र वैदिक संस्कृतका शुद्ध उच्चारणमा ञ र ञा-को स्वतन्त्र अक्षर (सिलब्ल्) का रूपमा उच्चारण हुने हुँदा वैदिक संस्कृतमा ञकारको स्वतन्त्र अस्तित्व नै थिएन भन्न मिल्दैन। यद्यपि यज्ञ याच्ञा इत्यादिका ञकार पनि चवर्गका अरू वर्णसित संयुक्त छन्, तथापि पञ्च इत्यादिका ञकारका भन्दा यी ञकारको स्वरूप बर्ता स्वप्रधान थियो भन्न करै लाग्छ। तसर्थ वैदिक संस्कृतमा ञकारको बाहुल्य नभए पनि अस्तित्व भने राम्रै रूपमा थियो।

लौकिक संस्कृतका उच्चारणमा पनि प्राचीन कालमा ञकारको स्वतन्त्र अस्तित्व भएको देखिन्छ, किनभने आचार्य पाणिनिले धेरै स्थानमा (३) ञकारलाइ अनुबन्ध बनाएका छन् (जस्तै– “डु कृञ् करणे, …” इत्यादि धातुमा र अञ्-ठञ् इत्यादि प्रत्ययमा ञ् जोडिएका छन्), ञकारको स्वरूपका र उच्चारणका विषयमा आजभोलिका संस्कृतज्ञमा जस्तो अस्पष्ट प्रतिपत्ति (बोध) छ त्यस्तै अस्पष्टता पाणिनिका समयमा पनि भएको भए ञकारको सट्टा कुनै आर्को वर्णलाइ अनुबन्ध बनाएर पनि ञकारलाइ अनुबन्ध बनाउँदा जति कार्य भएको छ त्यति कार्य हुन सक्ने हुँदा पाणिनिले अरू नै स्पष्ट तथा सुखोच्चार्य (सजिलोसित उच्चारण गर्न सकिने) वर्णलाइ अनुबन्ध बनाउँथे, त्यसो नगरी ञकारलाइ नै अनुबन्ध बनाएबाट पाणिनिका समयमा ञकारको स्वरूप स्पष्ट थियो र त्यसको विशिष्ट उच्चारण हुन्थ्यो भन्ने देखिन्छ।

पालिभाषामा पनि ञकारको सुलभता छ, त्याहाँ “मन्तञ्ञु” (४)  इत्यादि रूपमा स्वर पर भएका स्वप्रधान ञकारहरु पनि पाइन्छन्।

महाराष्ट्री प्राकृत-भाषामा भने चवर्ग पर भएको ञकार पाइन्छ (५) ता पनि स्वर पर भएको ञकार पाइँदैन।

मागधी प्राकृत-भाषामा स्वर पर भएको ञकार पनि पाइन्छ (६)

पैशाची प्राकृत-भाषामा पनि “पञ्ञा”, “सञ्ञा”, “राचिञा”, “कञ्ञका”, “अभिमञ्ञू” “पुञ्ञ-कम्मो” इत्यादि रूपमा स्वर पर भएका ञकारहरु पाइन्छन् (७)

अपभ्रंश-भाषामा पनि “बुञइ”, “बुञेप्पि”, “बुञेप्पिणु” इत्यादिमा स्वर पर भएका ञकार पनि पाइन्छन् (८)

उपर्युक्त विवरणबाट वैदिक कालदेखि अपभ्रंशकालसम्मका आर्यभाषाहरुमा ञकारको अस्तित्व-स्वीकार गरिँदै आएको देखिन्छ। यसरी ऐतिहासिक दृष्टिले हेर्दा वर्तमान आर्यभाषा नेपालीमा पनि ञकारको अस्तित्व हुन पर्ने देखिन आउँछ, तर वैदिक कालदेखि अपभ्रंशकालसम्म नै आर्यभाषामा ञकारश्रुति रहेको भए पनि नेपालीका वर्तमान उच्चारणमा वास्तवमा ञकारश्रुति छैन भने यसका माउ-भाषाहरुमा ञकार हुँदैमा नेपालीमा पनि ञकार हुनै पर्छ भन्न सकिँदैन। तसर्थ नेपालीमा ञकारश्रुति भए-नभएको केलाउन ञकारश्रुतिको स्वरूप राम्ररी बुझ्नु आवश्यक हुन आउँछ। अतएव ञकारश्रुतिको स्वरूपका विषयमा तल केही लेखिन्छ।

ञकारको उच्चारणस्थान (कठोर) तालु (९) हो, करण जिब्राको टुप्पाको र मध्यको माझाको भाग हो (१०) । तालुमा ट्याप्प टाँस्सिएको जिब्राको उपर्युक्त मध्यभागलाइ बलै छुट्ट्याउने गरी वर्णजनक वायु निकालेर ञकारको उच्चारण गरिनुपर्छ (११)। यसको उच्चारण गर्दा अलिकति वर्णजनक वायु नाकका पुआलहरुलाइ खोल्दै नाकबाट पनि निस्कन्छ (१२)। यसको उच्चारण गर्दा स्वरयन्त्रमा स्वरतन्त्रीहरु तन्कन्छन् र स्वरयन्त्रको छिद्र सानो हुन आउँछ (१३), स्वरतन्त्रीहरुमा कम्पन हुनाले नादरूप ध्वनि उत्पन्न हुन्छ (१४), छकार-झकारको उच्चारण गर्दाभन्दा ञकारको उच्चारण गर्दा वर्णजनक वायुको परिमाण थोरै हुन्छ (१५)

यो त ञकारको उच्चारण गर्दा काममा आउने शरीरका अवयवहरुको (अङ्गहरुको) र तिनको तथा वर्णजनक-वायुको व्यापारको (कामको) वर्णन भयो, ती कुराहरु त ञकार हैनन्, ञकारको स्वरूप अर्थात् श्रुति (साउण्ड्) कस्तो हो? कुन हो?

यस प्रश्नको उत्तर दिन सारै सजिलो छैन। तथापि जो सकेको प्रयत्न गरिन्छ। “याच्ञा” यस पदको आधुनिक संस्कृतज्ञहरुले गर्ने उच्चारणलाइ र भिक्षुहरुको “अमत्तञ्ञु” इत्यादि पदको उच्चारणलाइ प्रामाणिक मान्ने हो भने ञकारको श्रुति यँकारको समीपको स्पर्शश्रुति (प्लोसिव् साउण्ड्) मान्न पर्छ, किनभने ञकार स्पर्श वर्ण मानिन्छ (१६)। पुराना नेपालीका “चह्राञा” इत्यादि लिखित प्रयोगले पनि ञकारको श्रुति यँकारजस्तै मानिएको कुरा सूचित गर्छ। यज्ञ, प्राज्ञ इत्यादि पदहरुको “यग्ग्यँ”, “प्राग्ग्यँ” इत्यादि प्रचलित उच्चारणबाट पनि ञकारको श्रुति यँकारको श्रुतिको समीपको थियो कि भन्ने कल्पना हुन्छ। प्राचीन आचार्यहरुले वर्गहरुको वर्णविभाग गर्दा लिएको आधार स्थानकरणादि (१७) देखिएकाले श्रुतिमा नकारैजस्तो भए पनि स्थान-करणादिका भेदले मात्र नकारभिन्न ञकार मानिएको हो, ञकारको श्रुति त नकारको श्रुतिको समीपको नै हो भन्ने कल्पना पनि हुन सक्छ, यस कल्पनाको समर्थन गर्न आधुनिक वैदिकहरुमा र संस्कृतज्ञहरुमा प्रचलित अञ्चल काञ्चन, चञ्चल इत्यादि उच्चारण अगि सार्न सकिन्छ। त्यस्तै “आज्ञा” इत्यादिका “आद्न्या” इत्यादि मराठी उच्चारणहरु सुनेर पनि ञकारको श्रुति नकारको श्रुतिजस्तै थियो भन्ने कल्पनालाइ अरू पनि केही बल मिल्छ। तथापि श्रुतिमा वैलक्षण्य (फरकपना) नभईकन स्थान-करण-प्रयत्नादिका भेदले मात्र पनि कुनैकुनै वर्णमा अर्थात् नकार र ञकारमा अथवा ञकार र यँकारमा वर्णभेदको कल्पना गरिएको थियो भन्ने मान्न सकिँदैन, किनभने प्रश्न विश्न इत्यादिमा पनि तालव्य शकारका प्रभावले नकारमा पनि केही तालव्यता आउनु स्वाभाविक छ, तथापि श्रुतिमा परिवर्तनै भने नहुने हुँदा आचार्य पाणिनिले एउटा अपवादसूत्र (१८) नै बनाई त्यहाँका नकार ञकार हुन नजाने कुरा सूचित गरेका छन्, यसबाट श्रुतिमा भेद नभईकन केवल स्थानकरणादिका भेदले मात्र पनि वर्णभेद मानिन्थ्यो भन्ने कुरा खण्डित हुन्छ। “तस्मात् स्थानाभिघाताद् ध्वनिरुत्पद्यते आकाशे, सा वर्णश्रुतिः, स वर्णस्यात्मलाभः” (१९) (अर्थ– स्थानमा हुने (वायुको) त्यस ठोकाइले आकाशमा ध्वनि उत्पन्न हुन्छ, त्यही ध्वनि वर्णको श्रुति (साउण्ड् अव् लेटर्) हो, त्यही वर्णको स्वरूपप्राप्ति हो) भनिएबाट पनि वर्णको स्वरूप त्यसका श्रुतिमा नै आधृत हुने कुरा देखिन आएकाले पनि श्रुतिमा भेद नभईकन पनि स्थानकरणादिभेदले मात्र पनि वर्णभेद मानिन्थ्यो भन्ने कुरा खण्डित हुन्छ। स्थानकरणादिभेद श्रुतिभेदका सामान्य हेतुहरु हुन् भन्नुमा मात्र उपर्युक्त (माथि सङ्केत गरिएका) “स्वरतः कालतः स्थानात्’ आदि वाक्यहरुको तात्पर्य बुझिन्छ, वर्णभेदमा मुख्य हेतु त वर्ण-वर्णको श्रुतिमा भेद नै हो भन्ने कुरा निस्सन्देह छ। तसर्थ संस्कृतमा “पञ्च”-शब्दका अनुनासिक व्यञ्जनमा र “दन्त”-शब्दका अनुनासिक व्यञ्जनमा पनि श्रुतिमा भेद अवश्य थियो भन्ने देखिन्छ। ञकारको नकारविलक्षणत्व (नकारभन्दा ञकारको फरकपना) ञकार स्वपरवर्ती स्वरको अङ्ग हुँदा अत्यन्त स्पष्ट हुन्थ्यो र यस्तो ञकार श्रुतिमा यँकारको श्रुतिको समीपको हुन्थ्यो, ञकारदेखि च, छ, ज, झ, श पर हुँदा भने ञकारको नकारविलक्षणत्व त्यति प्रष्ट हुन्थेन र यस्तो ञकार श्रुतिमा नकारको समीपको सुनिन्थ्यो भन्ने कुरा याच्ञा, अञ्चल इत्यादि पदका आधुनिक वैदिकहरुमा र संस्कृतज्ञहरुमा प्रचलित उच्चारणबाट अनुमान गर्न सकिन्छ।

श्रुतिमा वैशिष्ट्य नभएका घल्चा खाल्टो इत्यादिका लकारहरुजस्ता सबै वर्णहरुका निमित्त छुट्टाछुट्टै लिपिको कल्पना गर्न पर्ने आपत्ति उठाउन भने सकिन्न, किनभने आधुनिक नेपालीमा ञकारको अस्तिस्व मान्ने पक्ष परम्पराको, नेपाली वर्णमालामा गोर्सिङ्ङे ञ-लिपि उपस्थित भएको कुराको र नकारको श्रुतिमा र चवर्गको वर्ण पर भएका नकार-जस्तो सुनिने अनुनासिक स्पर्श व्यञ्जनका श्रुतिमा भएको नजानिँदो (सूक्ष्म) भेदको समेत आधारमा मानिएको हो।

ञकारको इतिहासको र स्वरूपको यति ज्ञान भएपछि, अब आधुनिक नेपाली भाषाका उच्चारणमा ञकारश्रुति पाइन्छ कि पाइँदैन भन्ने कुरामा विचार गर्नु सजिलो होला। स्वपरवर्ती स्वरका अङ्ग हुने ञकारहरु आधुनिक नेपालीका उच्चारणमा पाइँदैनन्। पुराना लेखाइका “ञाहा”, “मैञा” इत्यादिका ञकारहरु आधुनिक उच्चारणमा अनुनासिक स्वरको अङ्ग भएको अन्तस्था यकारको वा अनुनासिक अन्तस्था यँकारकै रूपमा पाइन्छन्, किनभने ती ईषत्स्पृष्ट (करणले स्थानलाइ हल्का रूपले छोएर) तथा जिब्राको मध्यभागका प्रान्तहरुले कठिनतालुका दाहिने र देउरे छेउमा अलिअलि छोई उच्चारण गरिन्छन्। स्वपरवर्ती स्वरका अङ्ग हुने अरू कुनै पनि ञकारश्रुति नेपालीका आधुनिक उच्चारणमा पाइँदैनन्। पञ्चायत, काञ्छो, मञ्जन, झञ्झट इत्यादि पदको संयुक्त अनुनासिक व्यञ्जन भने ञकार हो कि नकार हो भन्ने निर्णय गर्नु अल्लि गारै छ, यस व्यञ्जनको र नकारको श्रुतिमा भेद पाउन सामान्य शिक्षितका लागि अत्यन्त गारो छ, तथापि स्थान-करणमा भने नकारमा र यस व्यञ्जनमा स्पष्ट भेद छ। यो तालव्य छ। यसको उच्चारण गर्दा जिब्राले दन्तमूलमा छुँदैन। जिब्राको मध्याग्र भागले (बिचको अगिल्लो भागले) कठिन तालुमा छुन्छ। यो कुरा शिक्षाशास्त्रका विषयहरुको सामान्य परिचयसम्म पाएको व्यक्ति पनि आफैँ थाहा पाउन सक्छ। सामान्य शिक्षित व्यक्ति र अशिक्षितै भए पनि अलिकति चलाख व्यक्ति पनि आर्को बुझेको व्यक्तिले बुझाएपछि यो भेद सजिलै बुझ्न सक्छ। अल्लि गैरिएरै विचार र अभ्यास गरेमा “पञ्च”को र “दन्त”को अनुनासिक व्यञ्जनका श्रुतिहरुमा पनि भेद पाउन सकिन्छ। तिनमा सूक्ष्म रूपमा श्रुतिकृत भेद पनि अवश्य छ। अतएव मुख्यतया र स्थूलरूपमा स्थान-करण-भेदका आधारमा र सूक्ष्मरूपमा श्रुतिको नजानिँदो भेदका आधारमा चवर्गका अरू वर्ण पर भएको ञकारको आधुनिक नेपालीहरुको उच्चारणमा अस्तित्व मानेमा यस मान्यतालाइ पूर्णतया युक्तिरहित अथवा अवैज्ञानिक भन्न सकिँदैन। मेरा विचारमा महाराष्ट्री प्राकृतभाषामा पनि यस्तै रूपमा रहेका श्रुतिलाइ ञकारश्रुति मानिन्थ्यो भन्ने कुरा आउँछ। महाराष्ट्री प्राकृतभाषामा ञकारको स्थितिका विषयमा विवेकशीलतापूर्वक निरीक्षण गर्ने कुनै पनि व्यक्ति मझैँ नै उपर्युक्त निष्कर्षमा पुग्नेछ भन्ने पनि मेरो विचार छ।

नेपालीको परम्परागत वर्णमालामा गोर्सिङ्ङे ञ-लिपि उपस्थित भएकाले र चवर्गका वर्ण पर भएका नकारजस्ता सुनिने अनुनासिक व्यञ्जनहरु चवर्गका पञ्चम वर्ण हुन् र तिनलाइ गोर्सिङ्ङे ञ-लिपिले सङ्केतित गर्न पर्छ भन्ने निरपवाद नियम मान्दा नेपालीका लेखाइमा धेरै जटिलता पनि नआउने हुनाले, अनि फेरि, कतै संस्कृतका शब्द भनेर पञ्चायत इत्यादिमा उस्तै श्रुतिका लागि ञकार लेख्ने र कतै फेरि नेपाली शब्द भनेर उस्तै श्रुतिका लागि “हुन्छ”, “पन्जा”, “झन्झट” इत्यादिमा नकार लेख्ने भन्ने रायल-नेपाल-एकेडेमीको नेपाली शब्द-कोशको नियम मान्दा (२०) नेपालीका लेखाइमा अनावश्यक रूपमा बढ्न जाने जटिलता र एउटै भाषामा प्रयुक्त शब्दलाइ पनि संस्कृतको र अरू भाषाको भनी नेपाली भाषाका सामान्य प्रयोक्ताले पनि केलाइरहन पर्ने झञ्झट पनि घट्न जाने हुँदा चवर्गसित संयुक्त भएको पञ्च इत्यादिको जस्तो नकारजस्तो सुनिने अनुनासिक व्यञ्जनलाइ मुख्यतया स्थान-करणभेदका स्थूल आधारमा र नजानिँदो श्रुतिभेदका सूक्ष्म आधारमा पनि नकारभन्दा पृथक् वर्ण चवर्गको पञ्चम  वर्ण ञकार मान्नु नै उचित देखिन्छ। यसबाट हाम्रा शिक्षकहरुमा सूक्ष्म भेदको पनि विवेक गर्न सक्ने शक्तिको विकास गर्नमा पनि सहायता मिल्नेछ। यसो भन्दैमा श्रुतिमा वैशिष्ट्य नभएका घल्चा खाल्टो इत्यादिका लकारहरुजस्ता सबै वर्णहरुका निमित्त छुट्टाछुट्टै लिपिको कल्पना गर्न पर्ने आपत्ति उठाउन भने सकिन्न, किनभने आधुनिक नेपालीमा ञकारको अस्तिस्व मान्ने पक्ष परम्पराको, नेपाली वर्णमालामा गोर्सिङ्ङे ञ-लिपि उपस्थित भएको कुराको र नकारको श्रुतिमा र चवर्गको वर्ण पर भएका नकार-जस्तो सुनिने अनुनासिक स्पर्श व्यञ्जनका श्रुतिमा भएको नजानिँदो (सूक्ष्म) भेदको समेत आधारमा मानिएको हो।

उपसंहार

यस प्रकार प्रस्तुत लेखमा सबै पक्षका कुरा र तर्कहरू अगाडि ल्याएर तिनको राम्ररी परीक्षासमेत गरेर ञकारको सूक्ष्म ढङ्गले विस्तृत विवेचना गरिएको छ। यस विवेचनाबाट नेपालीमा पनि ञकारको उच्चारण हुने र नेपालीमा प्रसिद्घ गोर्सिङ्ङे ञ लिपि पनि चाहिने भन्ने निष्कर्ष निस्कन्छ। तर यस लेखले गरेको गम्भीर विवेचना पढेर गुनेर बुझ्न नपाएकाले हो वा त्यसलाई आत्मसात् गर्न नसकेकाले हो वा पूर्वाग्रहपीडित भएकाले हो केही आधुनिक भाषाविज्ञानीहरूले नेपालीमा ञ उच्चरित हुँदैन, त्यसैले ञ चाहिँदैन र चवर्ग पर हुँदा पनि ञकार नलेखेर नकारै लेख्नुपर्छ भन्ने गरेको पनि देखिन्छ। तिनले नेपालीमा मात्र हैन संस्कृतमा समेत पञ्च, वाञ्छा, पञ्जर, झञ्झावात इत्यादिमा ञ् लेखिएको मात्र हो, वास्तवमा त्यहाँ पनि न्-भन्दा छुट्टै ञ्-ध्वनि उच्चरित हुँदैन भन्ने ठानेर पञ्च इत्यादिको उच्चारण पन्च इत्यादि लेखेको देखिन्छ। यो अल्पविद्याको र अविवेकको परिणाम हो। यसमा कत्ति पनि सत्यता छैन। दन्त्य वर्ण ‘न’ तथा तालव्य वर्ण ‘ञ’-का श्रुतिमा सूक्ष्म भेद छ र पञ्च इत्यादिको उच्चारण गर्दा च-को सामीप्यले न्-जस्तो सुनिएको ध्वनि वास्तवमा न्-भन्दा पृथक् ञ नै हो भन्ने ठम्याउन आधुनिक भाषाविज्ञानी बालकृष्ण पोखरेल, वल्लभमणि दाहाल, चूडामणि बन्धु इत्यादि कसैले पनि नसकेको देखिन्छ। यन्त्रको प्रयोग गरेर ध्वनिहरू ठहर्याएँ, संस्कृतका प्रातिशाख्य पनि पढेँ भनेर प्रचार गर्ने माधवप्रसाद पोखरेलको स्थिति पनि यस्तै नै देखिन्छ। उनले ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनि-परिचय (२०५७, पृ.१२५, १२९) भन्ने पुस्तकमा र अन्यत्र पनि ञकार नेपालीमा छैन भन्ने मानेका छन्। उनले सम्पादन गरेको जगदम्बा नेपाली साहित्यको बृहत् इतिहासको भाषासम्बद्घ पहिलो ठेली (२०७४, पृ.९४) मा त परम्परागत वर्णमालाबाट ञ-ण-लगायतका धेरै वर्ण हटाउनुपर्ने कुरा लेखिएको छ। तर माथिको विस्तृत विवेचनाबाट नेपाली भाषामा ञको उच्चारण हुने गरेको कुरा स्पष्ट भएकाले ञकार नेपाली भाषाको उच्चार्य वर्णमालाबाट हटाउन हुँदैन। नेपाली मातृभाषाभाषीका उच्चारणमा रहेका ञलाई उच्चार्य वर्णमालामा राखेर ससाना बालबालिकालाई पनि यथार्थ रूपमा चिनाउन आवश्यक छ।

हाम्रा पिताजीले लेख्नुभएको यस्तो अनुसन्धानात्मक लेख लेख्ने क्षमता नभए पनि बुझ्नेसम्मको क्षमता त माथि उल्लिखित र अन्य भाषाविज्ञानी वा वैयाकरण मानिएका व्यक्तिहरूमा हुनुपर्थ्यो। तर त्यत्तिको क्षमता पनि उनीहरूमा रहेनछ भन्ने स्पष्ट भएको छ। सूक्ष्म रूपमा निरीक्षण वा परीक्षण गर्दा संस्कृतमा झैँ नेपालीमा पनि चवर्गका वर्ण पर हुँदा न-जस्तो सुनिने ञकारको नकारभन्दा थोरै मात्र भिन्न रूपमा उच्चारण हुन्छ भनेर निष्कर्ष निकाल्ने हाम्रा पिताजी र संस्कृतमा पनि पहिला ञकार उच्चारण हुन्थ्यो होला तर ऐले त हुँदैन भनी ठान्ने नेपाली भाषाविज्ञानी वा वैयाकरणहरूको ञकारसम्बद्ध ज्ञानमा आकास-जमिनकै अन्तर देखियो। संस्कृत पढेर भर्खर (२०२४ सालदेखि) त्रिभुवन विश्वविद्यालयमा वेदान्त विषयको प्राध्यापन गर्न थाल्नुभएका युवक अवस्थाका हाम्रा पिताजीले (१९९७–२०७४) यो लेख आजभन्दा ५३ वर्षअगि नै (२०२९ सालमा) यसरी सबै कुरा स्पष्ट पारेर लेख्नुभएकामा अल्लि परिपक्व भैसकेका कहलिएका भाषाविज्ञानी बालकृष्ण पोखरेल (१९९०–२०७५), वल्लभमणि दाहाल (१९९१–२०६०) लगायतले यस विषयलाई कि त खण्डन गर्न सक्नुपर्थ्यो कि त स्वीकार गर्नुपर्थ्यो। यस लेखको खण्डन गर्न पनि नसक्ने र स्वीकार पनि नगर्ने, साथै नेपालीमा ञ छैन भनेर मात्र लेख्ने व्यक्तिलाई त कसरी भाषाविज्ञानी वा अनुसन्धाता भन्न सकिएला र? बुझेर आवश्यकतानुसार कि समर्थन र पुष्टि गर्ने कि खण्डन गरेर त्यसमा संशोधन वा परिष्कार गर्ने गरी विवेचनात्मक रूपमा आफ्ना कुरा राख्ने काम उनीहरूले वा अन्य भाषाविज्ञानीहरूले गर्नुपर्ने हो। पछिपछिकाले समेत त्यसो गरेको देखिँदैन। हाम्रा पिताजीले भने पुराना लेखकहरूले लेखिसकेका विषयमा लेख लेख्दा तिनले लेखेका कुरालाई राम्ररी उठाएर मात्र त्यसको विवेचना गर्ने, त्यसमा परिष्कार वा संशोधन गर्ने काम गर्नुभएको छ। यस लेखका दुवै भाग राम्ररी पढेपछि स्वतन्त्र र तटस्थ भाषा-व्याकरणका अध्येताहरूले यसको कसरी मूल्याङ्कन गर्नुहुन्छ हेर्न बाँकी छ।

‘नेपालीभाषाको उत्पत्ति’ भन्ने चूडामणि बन्धुका पुस्तकमा तथा ‘ध्वनिप्रक्रिया र केही ध्वनिसिद्धान्त’ भन्ने बालकृष्ण पोखरेल र वल्लभमणि दाहालका पुस्तकमा पनि नेपाली वर्णहरूको स्वरूपको निर्धारणका विषयमा विशेष गरेर द्विस्वरहरूको रूपहरूका विषयमा ठिकठिक कुरा मात्र लेखिएका छैनन्। यो कुरा ‘नेपाली वर्णोच्चारणशिक्षा’का विस्तृत प्रतिपादनबाट पनि बुझ्न सकिन्छ। यस विषयमा केही विवेचना नेपाली द्विस्वर र तिनको सर्वप्रथम यथार्थ प्रतिपादन (२०८१।२।२६) भन्ने लेखमा गरिसकिएको छ। ण-वर्णका विषयमा पनि यसै गरी राम्ररी विवेचना गरेर निष्कर्ष निकाल्नुपर्ने देखिन्छ।

 

टिप्पणीहरू

१. याच्ञा पद वेदमा तल सङ्केतित स्थानमा आएको छ– काठ.सं. (एवास्यैष याच्ञ एवास्यैष यथा) ७।४, कपिष्ठल.सं. (याच्ञ एवास्यैषः) ५।३, तै.सं. (याच्ञैवास्यैषोप तिष्ठते) १।५।७।४।

२. ती जकार र चकार पूर्वस्वरका अङ्ग हुन्छन् भन्ने कुरा तैत्तिरीय-प्रातिशाख्यका “परेण चासंहितम्” (२१।५) भन्ने सूत्रबाट पनि बुझिन्छ।

३. अष्टाध्यायीका– कर्तरि भुवः खिष्णुच्-खुकञौ (३।२।५७), कव्यपुरीषपुरीष्येषु ञ्युट् (३।२।६५), निन्दहिंसक्लिश…सूयो वुञ् (३।२।१४६),  ..उकञ् (३।२।१५४),  … घञ् (३।३।१६),  … इञ् (३।३।११०),  कर्मण्याक्रोशे कृञः खमुञ् (३।४।२५), उत्सादिभ्योऽञ् (४।१।८६), अत इञ् (४।१।९५),  … च्फञ् (४।१।९८), गर्गादिभ्यो यञ् (४।१।१०५), अश्वादिभ्यः फञ् (४।१।११०) इत्यादि सूत्रहरू हेर्नुहोस्।

४. धम्मपद, यमकबग्गो, पद्य ८  (भोजनम्हि च मत्तञ्ञुं सद्धं …)।

५. ययि तद्वर्गान्तः।–प्राकृतप्रकाश, ४-१७। ययि परतो बिन्दुस्तद्वर्गान्तो वा भवति। सङ्का, सङ्खो, अङ्को, अङ्गं, सञ्चरइ, सण्ढो, सन्तरइ, सम्पत्ती। –प्राकृतप्रकाशव्याख्या।

६. पिशल्को कम्प्यारटिव् ग्र्यामर् अव् द प्राकृत् ल्याङ्ग्विजिज्, प्रघट्टक २७४ (१९५७, पृ. १९३)।

७. सिद्धहेमचन्द्र-शब्दानुशासन (स्वोपज्ञ वृत्तिसहित)– ज्ञो ञ्ञः पैशाच्याम्, राज्ञो वा चिञ्, न्य-ण्योर्ञ्ञः (८।४।३०३-३०५)।

८. सिद्धहेमचन्द्र-शब्दानुशासन– व्रजेर्वुञः (८।४।३९२)।

९. इचुयशास्तालव्याः। –आपिशलशिक्षा (संवत् २०२४), स्थानप्रकरण, सूत्र ७।

१०. जिह्वामध्येन तालव्यानाम्। –आपिशलशिक्षा, करणप्रकरण, सूत्र ५।

११. “तत्र नाभिप्रदेशात् प्रयत्नप्रेरितः प्राणो नाम वायुरूर्ध्वमाक्रमन्नुरःप्रभृतीनां स्थानानामन्यतमस्मिन् स्थाने प्रयत्नेन विधार्यते, स

विधार्यमाणो वायुः स्थानमभिहन्ति, तस्मात् स्थानाभिघाताद् ध्वनिरुत्पद्यते आकाशे, सा वर्णश्रुतिः, स वर्णस्यात्मलाभः।”  “तत्र ध्वनावुत्पद्यमाने यदा स्थानकरणप्रयत्नाः परस्परं स्पृशन्ति सा स्पृष्टता।” –आपिशलशिक्षा, नाभितलप्रकरण (आठौँ प्रकरण), सूत्र १, २।

१२. ञकार अनुनासिक वर्ण मानिन्छ, अनुनासिकताको हेतु तैत्तिरीय प्रातिशाख्यमा यो दिइएको छ– “नासिकाविवरणादानुनासिक्यम्”

(अर्थ– कुनै वर्णको उच्चारण गर्दा नाकका छिद्रहरु वर्णजनक वायुले खोल्नाले तिनमा अनुनासिकता आउँछ)। –तैत्तिरीय-प्रातिशाख्य २।५२।

१३. (वर्गाणां) तृतीयचतुर्थपञ्चमाः सानुस्वारान्तस्थहकाराः संवृतकण्ठा नादानुप्रदाना घोषवन्तः। –चान्द्रवर्णसूत्र (२०२४) सूत्र ३४।

१४. तत्र यदा कण्ठबिलं संवृतं भवति तदा नादो जायते। –आपिशलशिक्षा, नाभितल-प्रकरण (आठौँ प्रकरण), सूत्र ९।

१५. (क) प्रथमतृतीयपञ्चमा अन्तस्थाश्चाल्पप्राणाः। –चान्द्रवर्णसूत्र, सूत्र ३२।

(ख) अल्पे वायौ अल्प्राणः। –आपिशलशिक्षा, नाभितलप्रकरण, सूत्र १७।

१६. कादयो मावसानाः स्पर्शाः। –पाणिनीयशिक्षा (२०२४), (वृद्धपाठ) बाह्यप्रयत्नप्रकरण, सूत्र ८।

१७. (क) …… तेषां विभागः पञ्चधा मतः।।

स्वरतः कालतः स्थानात् प्रयत्नानुप्रदानतः।

इति वर्णविदः प्राहुर्निपुणं तन्निबोधत।। –पद्यात्मिका पाणिनीयशिक्षा, श्लोक ९-१०।

(ख) तत्र स्थानकरणप्रयत्नेभ्यो वर्णास्त्रिषष्टिः। –आपिशलशिक्षा, उपक्रम (प्रारम्भ), सूत्र ४।

(ग) अनुप्रदानात् संसर्गात् स्थानात् करणविन्ययात्।

जायते वर्णवैशेष्यं परीमाणाच्च पञ्चमात्।।  –तैत्तिरीयप्रातिशाख्य, अध्याय २३, सूत्र २।

१८. शात्। –अष्टाध्यायी, ८।४।४४।

१९. आपिशलशिक्षा, नाभितल-प्रकरण (आठौँ प्रकरण), सूत्र १।

२०. नेपाली शब्द-कोश (रायल नेपाल एकेडेमी, संवत् २०१९) प्रस्तावना, पृ. ११।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?