
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो। उसका लागि मार्टिन गुप्टिलले अर्धशतक बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिँदा किशोर महतो र हर्ष थकरले २–२ विकेट लिए। त्यस्तै, बेन माइक र मोहम्मद मोसिनले १–१ विकेट लिएका थिए।
जवाफी ब्याटिङ गर्ने क्रममा जनकपुरले १ सय २८ रनको लक्ष्य १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। उसका लागि लाहिरु मिलन्थाले ५३ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७५ रनको स्कोर खेल्दा क्यानडाका हर्ष थकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रनको अविजित इनिङ्स खेले।