
सिमकोट – चंखेली गाउँपालिकामा वडास्तरका स्वास्थ्य चौकीमा भएको एकीकृत स्वास्थ्य शिविरमा ९ सय ४६ जना बिरामीको उपचार गरिएको छ। कार्यपालिकाको निर्णयअनुसार ‘भेटौंला चंखेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ‘चंखेली बासीका दुःख मेटौंला’ भन्ने मूल नाराका साथ प्रत्येक दुई महिनामा सञ्चालन हुने शिविरमा मंसिरमा ती बिरामीको उपचार गरिएको हो।
स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकहरूबाट जनरल चेकजाँच एक हप्तासम्म सञ्चालन गरेर महिला र पुरुष गरी ९ सय ४६ जना बिरामीको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरवीर शाहीले बताए।
यो बिरामीको उपचार गरेको संख्या वडा नम्बर १, २, ३, ४ र ६ का बिरामीको हो। उनले अब वडा नम्बर ५ को नेक्पा बाँकी रहेको सो वडामा पनि चिकित्सकसहितको मंसिर १६ गते टोली पुगेर शिविर सञ्चालन गर्ने बताए।
बिरामीको उपचार वडास्तरमा स्वास्थ्य चौकीमा गरिएको हो। यसका लागि विशेषज्ञ चिकित्सक सुर्जनकुमार सिंह र छक्क थापा तथा अन्य स्वास्थ्यकर्मीले सेवा दिएका हुन्। ६ दिने जनरल स्वास्थ्य शिविरमा पूर्णरुपमा औषधि सहयोग संस्थाका प्रतिनिधि डिलबहादुर शाही, बरिष्ट अनमी गीता शाहीले गरेका हुन्।
जनरल ओपिडी चेक, गर्भवती महिला चेक जाँच, पाठेघर मुखको क्यान्सर चेक जाँच, महिलाको आङ खसेको उपचार, टिबी शंकास्पद बिरामीको खकार जाँच, अल्ट्रासाउण्ड, नाक कान घाँटीसम्बन्धी सेवा प्रदान गरिएको हो।
वडा नम्बर ४ को शिविरमा उपाचार गरेकी पिप्लाङ गाउँकी वासना शाहीले घरमै विशेषज्ञ चिकित्सक आएर उपचार गर्नु स्वागतयोग्य भएको बताइन्। स्वास्थ्य संस्थामा सामान्य स्वास्थ्यकर्मीबाट उपचार पाउँदै आएकोमा पहिलो पटक चिकित्सकबाट उपचार पाएको उनको भनाइ छ।
जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर् याउनका लागि हरेक दुई महिनामा यो शिविर वडास्तरमा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए।