
बाल्यावस्थाबाट यौवनमा हिँडेकी केटी। चञ्चल, निर्दोष। उनको व्यवहार समाजलाई त्यति पचेको थिएन। नराम्रो नजर लगाउनेको कमी थिएन। तर यी सबैबाट उनी अञ्जान।
एक दिन, खोला तीरमा जुत्ता भेटियो, कपडा भेटियो र अर्धनग्न मृत शरीर।
‘छोटा कपडा लगाएसी यस्तै हो, धेरै नक्कली भएसी यस्तै हो।’ यस्तै भन्दै थिए र परिवारलाई सान्त्वना पनि दिँदै थिए, ‘पीर नगर अनुसन्धान भइरहेको छ।’
यो घटना फेरि दोहोरियो, फेरी दोहोरियो उही लोकाचार, उही सान्त्वना।
तर खोलाको किनारमा भेटिने दुई, चार हुँदै बढ्दै गए।
बबमरमहलको आर्ट ग्यालरीमा एक्टर्स स्टूडियोले ‘पर्फर्मेन्स आर्ट’ प्रदर्शन गरे। यो प्रदर्शन टोलीका अनुप बरालले कलाकारिताको औचित्य पूरा गरेको बताए। ‘देशमा दिनदिनै बलात्कारको घटना भइरहेको छ, यदि यसलाई नियन्त्रण गरिएन भने समाजमा बलात्कारी उत्पादन गर्ने फ्याक्ट्री उत्पादन हुन्छ भन्ने कुरा देखाउन खोजिएको हो।’
यसले अनुसन्धान भइरहेने र त्यो निकर्षमा नपुग्ने प्रवृत्तिलाई औँल्यायो। बरालले भने, ‘हामी घटनाको साक्षीमात्र भइरह्यौँ। त्यसमा हामीले आफ्नो तर्फबाट आवाज उठाउनु पर्छ।’
निर्देशक तथा थिएटर आर्टिस्ट सुरज मल्लले भने, ‘अहिलेको परिस्थितिमा निर्मला पन्त मात्र नभएर अरुमाथि पनि यो अन्याय भइरहेको छ र यो बढेको बढ्यै छ। हामीले यसको लागि चाहिने सूचना मिडियामा आएका समाचारबाट नै पाएका हौँ।’ यो टोलीमा २० जना कलाकार थिए।