
‘मेरी नातिनी कोपिलालाई देख्नु भएको थियो कि? मेरी नातिनीले घरै बस्नु हजूरबा भनेकी छे, ऊ घरमा पक्कै फर्किने छ।’
दर्शकदीर्घको बिचोबिच बोल्दै आएका कोपिलाको हजुरबा (विजय बराल) आफ्नो नातिनी खोज्दै भौँतारिएका छन्। उनले जसलाई भेटे पनि कोपिलाको बारेमा सोध्छन् तर सबैले देखिनँ, भेटिनँ भन्छन्। हजूरबा निराश हुँदैनन् बरू आशाबादी भएर भन्छन्,’ऊ आउँछे। एकदिन घर फर्किने छे।’
भत्किएको भित्ता, चुहिने छानो र जिर्ण पिँडीमा बास बस्दै आएका हजूरबा वर्षौदेखि नातिनी पर्खिरहेका छन्। लौरो, टुकी, अम्खरा, रेडियो उनको साथी भएका छन्। नातिनी फर्किने खबर बोल्छ कि रेडियोले भन्ने हुटहुटीका कारण पनि उनलाई रेडियो प्रिय छ। पालीको खाँबामा तुर्लुङ्ग झुन्डिएको कोपिलाको स्वीटरले उनलाई बोल्ने बाहना बनाइदिएको छ। उनी भन्छन्— ‘कति जाडो भएको होला उसलाई। म छिट्टै फर्किन्छु भनेर गएकी थिई। कसको हातमा पठाइदिने होला यो स्वीटर।’
विकासपुर नामको छिमेकी गाउँबाट बेलाबेलामा पुरानो बेट्री खोजेर ल्याउँछन् र रेडियोमा हाली बजाउँछन् तर रेडियोले उनको नातिनी कोपिलाको बारेमा खासै भन्दैन र पनि उनी कोपिला घर फर्किने आसमा छन्। उनको पर्खाइ थाकेको छैन।
चिठी पुर्याउँदै हिँड्ने हुलाकी हरि (नाजिर हुसैन) विकासपुर खोज्दै आइपुग्दा भेट हुन्छ हजूरबासँग अनि आँखालाई नबिझाई अघि बढ्छ नाटक ‘हरि हजूरबा’को कथा मण्डला थिएटरमा।
भनिन्छ, युद्धले समाज र देशलाई मात्रै परिवर्तन गर्दैन थुप्रै जनधन पनि गुमाउँछ। तर धन गुमाएको जस्तो होइन रहेछ आफन्त गुमाउनुको पीडा, आफन्तसँग छुटिनु पर्दाको पीडा। यो पर्खाइका कथा हो, आशाको कथा हो।
विहिबारदेखि प्रदर्शनमा आएको नाटक ‘हरि हजूरबा’लाई निर्देशन गरेका हुन् अभिनेता तथा रंगकर्मी नाजिर हुसैनले। लेखनसमेत उनैको रहेको छ। दश वर्षे सशस्त्र द्धन्द्धका क्रममा आफ्ना मान्छे गुमाउँदाको पीडा र वर्षौदेखि नफर्किएकाहरू घर फर्किन्छन् कि भन्ने आसमा लामो पर्खाइमा बाँचेका र मरेकाहरूको वरिपरि कथा बुनेका छन् नाजिरले।

नाटक हरि हजूरबामा कलाकार नाजिर र विजय
निर्देशक नाजिरकै भनाइ सापटी लिएर भन्दा यो नाटकले द्धन्द्धले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराईलाई उजागर गर्ने कोसिस गरेकाे छ।
द्धन्द्धको आघातको कुरा गर्दा अहिले पनि समस्याहरू झनै भंयकर ठूलठूला भएर देखा परेको छ। पहिलो प्रभाव शारीरिक मानसिक आघात नै हो, जसलाई सजिलै विर्सिन सकिँदैन। द्धन्द्धको असरले आज पनि चरम खालको डिप्रेशनबाट गुज्रिएको छ समाज। यसको असर मनमा, घरमा, आफन्त, टोलछिमेकमा, गाउँमा हुँदै सिंगो देशमा परेकाे छ। केही विज्ञहरू भन्छन्— सशस्त्र जनयुद्धन्द्धको घाउ आउँदो तीनचार पुस्तासम्मलाई असर पर्ने देखिन्छ।
हुन त द्धन्द्ध पीडितका परिवारको अवस्था र असरलाई नाङ्गो आँखाले नै देख्न सकिन्छ र पनि नाटकमार्फत नाजिरले संवेदनशीलताका साथ सुन्दर प्रस्तूतिमार्फत बुझाउने कोसिस गरेका छन्।
नाटकको मध्य भागतिर ‘हरि’ घरघरमा पत्र पुर्याउँने हुलाकी नभएर अरू नै कोही हो भन्ने थाहा पाएपछि हजुरबाको भावना बदलिन्छ— हाम्रो समस्यालाई तिमीहरूले मजाक बनाइरहेका छौँ। हामीलाई थप पीडा दिइरहेका छौ। तिमी पनि राज्य जस्तै भयौ।’
नाटकमा हुलाकी राज्यको प्रतिनिधि पात्र हो र ‘हरि’ पीडितका रूपमा देखिएका हरिका कारण हजूरबा राज्यको मौनता र कमजोरी माथि निरन्तर प्रश्न गर्छन्। हजूरबाको प्रश्न सहन नसकेर हरिले बाआमा नै गुमाउनु परेको कथा हाल्छ।
आफ्नो एक्लोपनलाई कम गर्न हजूरबालाई नियमित भेट्ने र कोपिलाको नामको पत्र स्वयंले लेख्ने गरेको हरिले हजूरबालाई बाजस्तो ठानेर बाको कोट लगाइदिँदा दर्शकलाई स्तब्ध बनाउँछ।
संक्रमणकालिन न्याय, सत्यनिरुपण आयोग र बेपत्ता नागरिक छानबिन आयोगमार्फत समाधन गरिने मुद्दा हो यो तर यतिखेर यो मुद्दा फितलो बन्दै गएको नकार्न सकिँदैन। यो मुद्दा कानुनको मात्रै होइन राजनीतिक रुपमा समाधान हुनुपर्ने हो। तर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा भएका प्रभावधानहरू देखेर केही पीडितहरू आफूहरूले न्याय पाउने आश गुमाएको पनि सुन्नमा आएको छ।
नाटक सुन्दर ढंगले अगाडि बढेपछि निर्देशक अलिकति माओवादी सशस्त्र जनयुद्धप्रति बढी ‘बायस’ देखिन्छन्। जब कि राज्य तर्फबाट पनि सर्वसाधारण लापत्ता पारिएको थियो।

नाटक ‘हरि हजूरबा’का कलाकार अभिनय गर्दै
अभिनेता नाजिरले विगत चार महिना लगाएर तयार पारेको नाटकले फेरि एकपटक सशस्त्र द्धन्द्धको कहालिलाग्दो चित्रण गराउँछ। दर्शकलाई भावुक बनाउँदछ। यस्ता कथा थुप्रैपटक लेखिए, रंगमञ्चमा मञ्चित पनि भए र पनि नाटक ‘हरिहजूर’बाट खास लाग्छ। गम्भीर मुद्दालाई कलात्मक शैलीका साथ प्रस्तूत गरेमा दर्शकलाई बाँधी राख्न सफलत छन् अभिनेता नाजिर।
विगत ८ वर्षदेखि चलचित्र र म्युजिक भिडियोमा व्यस्त रहेका नाजिरले नाटकमा फर्किएका मात्रै छैनन्। उनले अहिले पनि उत्तिकै सान्दर्भीक र बहस हुनुपर्ने विषयमा काम गरेका छन्।
चलचित्र ‘पूर्णबहादुरको सारंगी’ हिट भएको बेला बिजय बराल नयाँ चलचित्रको काम छाडेर करिब एक दशकपछि थिएटर फर्किएका छन्। नाटकमा थप कलाकारमा रि ह्ल्युल साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे र रिसु राउत रहेका छन्। यी कलाकारले नाजिर र बिजयको सहयोगीको रूपमा काम गरेका छन्।
उमेश थारुले निर्माण गरेको नाटकको सेट कथा सुहाउँदो र भव्य छ। नाटकलाई धाराप्रवाह बगाउन सहयोग गरेको छ लाइट पहिचान र डिजाइन उमेश तामाङको रहेको छ।
यो नाटकको प्रशारण समय १ घन्टा ५ मिनटको रहेको छ। नाटक आउँदाे २८ गतेसम्म प्रदर्शन हुनेछ।
तस्बिर : मण्डला थिएटर