
मोरङ – विराटनगरमा पहिलो पटक नेपाल–भारत होमियोप्याथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन सुरु भएको छ। शनिबारदेखि सुरु भएको दुई दिने सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे।
सम्मेलनमा नेपाल होमियोप्याथिक चिकित्सक संघका महासचिव रवि प्रकाश रोयले होमियोप्याथिक मेडिकल काउन्सिल गठन गर्न सरकारसमक्ष माग गरे।
२०४७/०४८ सालमा होमियोप्याथिक संघको स्थापना भएको बताउँदै महासचिव रोयले छुट्टै होमियोप्याथिक मेडिकल काउन्सिल, कलेज, तथा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।
मुलुकमा होमियोप्याथिक औषधि उत्पादन कम्पनी नरहेको जनाउँदै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै होमियोप्याथिक औषधि उत्पादक कम्पनी सञ्चालन गर्नका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्य मन्त्रालयमा होमियोप्याथिक डेस्क राख्नुपर्नेमा जोड दिँदै उनले महाशाखामा समेत छुट्टै होमियोप्याथिक विभाग राख्नुपर्नेमा जोड दिए।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले होमियोप्याथिक मेडिकल काउन्सिल स्थापनाका लागि केन्द्र सरकारसमक्ष आवश्यक पहलकदमी लिने बताए।
होमियोप्याथिक सेवाको नकारात्मक असर नहुने बताउँदै मुख्यमन्त्री कार्कीले यसको उपचारसँगै औषधि र विकासमा सरकारले विशेष चासोसहित काम गर्ने प्रतिबद्धता जनाए। यो चिकित्सा प्रणाली सहज र सरल भएको हुँदा नागरिकको स्वास्थ्य उपचारमा कुनै नकारात्मक असर नहुने उनले बताए।
कार्यक्रममा होमियोप्याथिक क्षेत्रमा विशेष योगदान पुर्याएका चिकित्सक जीवनप्रकाशलाई लाइफटाइम अचिभमेन्टले सम्मान गरिएको थियो।
सम्मेलनमा नेपाल र भारतका गरी ३१५ भन्दा बढी होमियोप्याथिक चिकित्सक तथा प्राक्टिस्नरहरुको सहभागिता रहेको छ। जसमा सातै प्रदेशबाट करिब १८० जना होमियोप्याथिक चिकित्सक र प्राक्टिस्नरको सहभागिता रहेको छ।
सम्मेलनमा भारतको मुम्बईको रिलायन्स अस्पतालबाट आएका क्यान्सर रोग विशेषज्ञ डा. फारुख जे मास्टरले प्रशिक्षण दिनेछन्। मोरङमा करिब ६० जना होमियोप्याथिक चिकित्सक तथा प्राक्टिस्नर रहेको संघले जनाएको छ।
मुलुकमै पहिलो पटक विराटनगरमा ०५९ सालमा होमियोप्याथिक कलेज सुरु गरेको थियो। तर, विविध कारण कलेजले निरन्तरता पाउन नसकेपछि कलेज बन्द भएको थियो।