
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण अभियोग लागेर निलम्बनमा परेसँगै कार्यवाहकका लागि प्रतिस्पर्धा सुरु भएको छ।
आइतबार जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर भएपछि प्रहरीले सांसद पदबाट स्वतः निलम्बनमा परेको पत्र सभामुख देवराज घिमिरेलाई पठाइएको छ।
रास्वपामा कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता को हुने भन्ने विषय उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालबीच प्रतिस्पर्धा सुरु भएको हो। कात्तिक २ गते लामिछाने पक्राउ परेपछि अघोषित कार्यवाहक अध्यक्षको काम अर्यालले गर्दै आएका छन्।
आइतबार मुद्दा दर्ता भएर लामिछाने निलम्बनमा परेसँगै औपचारिक रुपमै कार्यवाहक तोक्नुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ। तर, वाग्ले र अर्यालको प्रतिस्पर्धाका कारण त्यो सहज नभएको एक केन्द्रीय सदस्यले बताए।
पार्टीको विधानअनुसार वरिष्ठताका आधारमा वाग्लेले पार्टी र संसदीय मोर्चाको जिम्मेवारी पाउनुपर्ने भए पनि उनलाई त्यो जिम्मेवारी दिन नहुने पक्ष धेरै सांसद र केन्द्रीय सदस्य छन्। अर्कोतिर विधानलाई बेवास्ता गर्ने हो भने अर्यालले कार्यवाहकको जिम्मेवारी पाउने अवस्था छ।
एक नेताले भने, ‘विधानअनुसार जाने हो भने वाग्लेजीले कार्यवाहक पाउनुहुन्छ। तर, पार्टीभित्र उहाँको पक्षमा माहोल छैन। बहुमत अल्पमत गर्ने हो भने अर्यालले जिम्मेवारी पाउने अवस्था छ।’
दुईमध्ये कसले कार्यवाहक पाउने भन्ने टुङ्गो नलागेकाले केन्द्रीय समितिको बैठक निश्चित छैन। तर केही दिनभित्रै बैठक बोलाउनु पर्ने आवाज उठिरहेको एक सांसद बताए।