
काठमाडौँ – नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले बुधबार क्रिसमस पर्व मनाउँदै छन्। क्रिसमस डेको पूर्वसन्ध्यामा काठमाडौँमा क्रिसमस इभको रौनक छ।
क्रिसमसको अघिल्लो दिन बालबालिकाहरु ‘सान्ता क्लाउज’ बनेका छन्। उनीहरुले रातो रंगको लुगा लगाएर सान्ता क्लाउज बनेर दीप प्रज्वलनसमेत गरेका छन्।
काठमाडौँ उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, जाउलाखेललगायतका स्थानमा क्रिसमस ट्री बनाएर सजाइएको छ। त्यस्तै ठूलाठूला व्यापारिक क्षेत्रमा पनि क्रिसमस ट्री बनाई सजाइएको छ।
हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदै आएका छन्।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।