
बाँके- शान्ति लोनिया नेपालगञ्ज-२०, मनिकापुरको स्वास्थ्य चौकीमा भेटिइन्।तल्लो पेट दुखेपछि उनी जँचाउन स्वास्थ्य चौकीमा आएकी थिइन्। लोनिया नौ महिनाकी गर्भवती छिन्।
दोस्रो सन्तानकी आमा हुन थालेकी लोनियाले चौथो पटक गर्भ जाँच गराइसकेकी छन्।सरकारले ४, ६, ८ र ९ महिनामा गर्भ जाँच गर्नेलाई प्रोत्साहन स्वरुप आठ सय रुपैया दिने गर्दछ। लोनिया अब बेथा लाग्ने दिनको प्रतिक्षामा छिन्।
‘पहिलो बच्चा पनि स्वास्थ्य संस्थामै जन्माए, अब पनि स्वास्थ्य संस्थामै आएर जन्माउने हो, लोनियाले भनिन्, म स्वास्थ्य संस्थाको नियमित सम्पर्कमा छु। बेथा लाग्ने बित्तिकै आइहाल्छु।’
नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा मनिकापुरमा लोनियाले भनेजस्तो स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनु पर्छ भन्ने ‘चेतना’ बढेको छ। पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास रहेको मनिकापुरमा नियमित गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनु पर्छ भन्ने चेतना बढेको स्वास्थ्य संस्थाकी सिनियर अनमी निरीक्षक शितला खड्काले बताइन्।
‘पहिला गाह्रो थियो, अहिले त स्वास्थ्य संस्थामा भीड नै लाग्छ, खड्काले भनिन्, भदौ २७ गते तीन जना आए। एकजनालाई भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा रिफर गर्यौ। दुई जनाले यही बच्चा जन्माए।’ त्यो दिन रेखा खटिक र जानकी खटिकले स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए।
गर्भवतीलाई नियमित जँचाउनु पर्ने र स्वास्थ्य संस्थामै गएर सुत्केरी हुनुपर्छ भन्ने चेतना जगाउन महिला स्वयंसेविकाको भूमिका अहम छ। महिला स्वयंसेविका मिना सिद्धिकी बोहराले आमा समूहको बैठकहरुमा नियमित गर्भ जाँच गर्न र स्वास्थ्य संस्थामै गएर सुत्केरी हुन बारम्बार अनुरोध गर्ने गरेको बताइन्।
‘अब त चेतनास्तर पनि बढेको छ। घरमै सुत्केरी हुँदा जोखिम हुन्छ भन्ने बुझेका छन्, महिला स्वयंसेविका बोहराले भनिन्, मेरो टोल (राँझा बजार) मा त कोहीले पनि घरमा बच्चा जन्माएका छैनन्।’
नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि सहयोग पुर्याएको छ। नियमित गर्भ जाँच गर्दा आठ सय र स्वास्थ्य संस्थामै आएर बच्चा जन्माउदा एक हजार दिने गरिन्छ।
सिनियर अनमी निरीक्षक खड्काले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको संख्या बढाएको बताइन्। उनले चौथो पटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेर दिने गरेको खुलाइन्।
मनिकापुर स्वास्थ्य चौकीमा साउनमा २० र भदौमा १६ जनाले बच्चा जन्माएका छन्। नयाँ कानून आएपछि अलिकति जटिल देखिने बित्तिकै रिफर गर्ने गरिएको छ। आर्थिक वर्ष २०७४÷७५ मा यहाँ एक सय २६ जना सुत्केरी भएका थिए।
मनिकापुरमा १५ जना महिला स्वयंसेविका रहेका छन्। १५ हजार बढी जनसंख्या रहेको छ। टोलमा को गर्भवती छ र को जँचाउन गएको छैन भन्ने महिला स्वयंसेविकाले ‘वाच’ गर्ने गर्दछन्। ‘त्यसका बाबजुद भदौमा ५ जनाले घरमै सुत्केरी गराए, अनमी (करार) आशा सार्कीले भनिन्, उनीहरुले बच्चा पाइसकेपछि मात्रै हामीले थाहा पायौं।’
गत वर्षदेखि मनिकापुरमा एकजना पनि गर्भवती सुत्केरीको मृत्यु नभएको सार्कीले बताइन्। मनिकापुरको छिमेकी गनापुरमा दुई जनासहित गतवर्ष बाँकेमा आठ जना गर्भवती सुत्केरीको मृत्यु भएको थियो।
बच्चा जन्मेको ४२ दिनसम्मलाई सुत्केरी भन्ने गरिन्छ। राति स्वास्थ्य संस्थामै बस्ने सार्कीले एकै दिन पाँच जनासम्म सुत्केरी हुँदा भ्याइनभ्याई भएको सम्झिन्। गतवर्ष उनले यस्तो व्यहोरेकी थिइन्।
स्वास्थ्य संस्थामा जेनेरेटरको व्यवस्था छैन। यसले काम गर्न अप्ठेरो पार्ने गरेको छ। ‘गर्भवतीले बच्चा पनि पाउनु, बत्ती पनि जानु भयो। टर्चलाइट बालेर काम चलायौं, अनमी सार्कीले भनिन्, संस्थामा अरु उपकरणको त समस्या छैन।’
ठूलो वडा भएकाले सुत्केरी गराउन आउदा कतिपयले लडिया (गाडा), बुकी (टाँगाजस्तै) मा ल्याउने गर्दछन्। रमेशपुर, नटनपुरबाट गाडा तथा माईगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने अनमी सार्कीले बताइन्। ‘कुनै दिन त बुकी र लडियाको लाइन लाग्छ, अनमी सार्कीले भनिन्।
सरकारले सुत्केरी यातायात, गर्भवती उत्प्रेरणा र काम गर्नेलाई समेत प्रोत्साहन भत्ता दिने गरेको छ। सुत्केरी यातायातमा एक हजार, गर्भवती उत्प्रेरणा आठ सय र एकजना सुत्केरी बराबर एक हजार रुपैया स्वास्थ्य संस्थामा आउने गर्दछ। त्यो एक हजारबाट तीन सय प्रसूति गराउने, एक सय प्रसूती सहयोगी र एक सय महिला स्वयंसेविकालाई दिने गर्दछ।
मनिकापुरमा ६ जनाको दरबन्दी रहेको छ। करारसहित आठ जना कार्यरत छन्। स्वास्थ्य संस्थाका इन्चार्ज सरोजकुमार मिश्रले आफूकहाँ सुत्केरी गराउनेको चाप बढ्ने गरेको बताए। ‘जनशक्ति, साधन र स्रोत पुगेकै छ, इन्चार्ज मिश्रले भने, सिस्टरहरुको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउन आउँछन्।’
सुत्केरी हुन आउनेका घरपरिवार पनि थरीथरी हुने गरेको अनेमी सार्कीले व्यहोरेकी छन्। चार छोराकी आमा पाँचौ सुत्केरी हुन आइन्। पाँचौमा पनि छोरा नै जन्मियो। छोरी चाहेका श्रीमानलगायत घरपरिवार सुत्केरीलाई छोडेर हिडे। अनेमी सार्कीले राती अबेर अटोरिक्सा खोजेर सुत्केरीलाई घर पठाइदिएकी थिइन्। कोही छोराको आशामा धेरै सन्तान जन्माउँछन्। कोही छोरीको आशामा। अर्की एक महिला पनि छोरी पाएपछि ‘म्वाई’ खाएर हैरान पारेको सार्कीले सुनाइन्।
दैनिक चार जना बिरामी
मनिकापुर स्वास्थ्य चौकीमा दैनिक ४० जना बढी बिरामी आउने गरेका छन्।जनसंख्या बढी भएको वडा र बर्खाको बेला भएकाले बिरामीको चाप बढेको हो। स्वास्थ्य संस्थाका इन्चार्ज मिश्रका अनुसार, रुघाखोकी, ज्वरो, छालाको संक्रमण भएका धेरै आउने गरेका छन्।
स्वास्थ्य संस्थाले ७२ प्रकारका औषधी उपलब्ध गराउँछन्। बिरामीको चाप बढी हुने मनिकापुरमा केही औषधी सकिएको भने दुई हप्ता भइसकेको छ। दाद र घाउको मल्हम, इन्टिवाइटिक औषधी सकिएको दश दिन बढी भइसकेको इन्चार्ज मिश्रले बताए। ‘भाइरलका बिरामीको चाप बढेको छ, केही औषधी सिधिएको छ, इन्चार्ज मिश्रले भने, मगाएका छौँ। आइसकेको छैन।’
निशुल्क पाइन्छ भनेर सामान्य केही भइहाले पनि स्वास्थ्य संस्थामा आएर औषधी लिएर जानेको पनि कमी छैन। वडा कार्यालयमा कुनै कार्यक्रम हुँदा स्वास्थ्य चौकीमा औषधी लिनेको भीड नै लाग्ने गरेको छ।
‘वडा कार्यालयमा काम परेर आएकाहरु औषधी लिएर जाम भनेर यता पनि छिर्छन्, अनेमी सार्कीले भनिन्, यस्तालाई के भन्नु।’ मनिकापुरमा वडा कार्यालय र स्वास्थ्य चौकी एकै परिसरमा रहेका छन्।