
दाङ – दाङको सतवरिया स्वास्थ्य चौकीमा ५ सय ७४ जनामा गरिएको सिकलसेल एनिमियाको परीक्षणमा ७८ जनामा पोजेटिभ देखिएको छ।
लमही अस्पतालका ल्याब टेक्निसियन हिमाल आचार्यले दिएको जानकारीअनुसार परीक्षणका क्रममा पुष्टि भएका बिरामीहरुको लमही अस्पतालमा पुनः रगत परीक्षण गरिने र उपचार प्रक्रिया अघि बढ्ने छ।
सिकलसेल एनिमियाका बिरामीहरुमा हात खुट्टा र शरीरका जोर्नी दुख्ने, रगतको कमी हुनेजस्ता लक्ष्यण देखिन्छ। यो वंशाणुगत रोग हो।
सिकलसेल एनिमिया रोग लागे पनि जनचेतनाको कमी तथा आर्थिक अभावका कारणले उपचार सेवा पाउन नसकेका बिरामीहरुको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले बताइन्।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सिकलसेल एनिमियाका कारण हुने जटिलताबाट बच्न सबैलाई अनिवार्य रगत परीक्षण गराउन आग्रह गरे। संक्रमणविरुद्ध खोप लगाउने, आँखाको नियमित परीक्षण गर्ने, रक्त अल्पतालको उपचार गराउनेतिर ध्यान दिन आह्वान पनि गरिएको छ।
थारु समुदायमा समस्याको रुपमा देखिएको सिकलसेल एनिमियाका बिरामीहरुको पहिचान र उपचारलाई प्रभावकारी बनाउन लमहीको सतवरियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, लमही नगरपालिका र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडको समन्वय र मेट लाईफ नेपाल पुल्चोक ललितपुरको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको थियो।