
सिमकोट – माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारी कक्षा लिई रहेको विद्यार्थीलाई शुल्कको साठी प्रतिशत सहयोग वडाले गर्ने भएको छ। खार्पुनाथ गाउँपालिका– ५ को मान्धारा माविबाट यस वर्षको उक्त परीक्षा दिने परीक्षार्थीको तयारी कक्षाको शुल्क वडाले तिर्ने निर्णय गरेको हो।
वडा अध्यक्ष भरतजंग शाहीका अनुसार आगामी चैत महिनामा सञ्चालन हुन लागेको यस वर्षको एसईई तयारी कक्षाको शुल्क वडाबाट जम्मा लाग्ने शुल्कको साठी प्रतिशत तिर्ने निर्णय भएको छ।
सो तयारी कक्षा पुस १० गतेबाट मान्धारा माविमा सुरु भई सकेको छ। मङ्गलबार बसेको वडाको बैठकले यस पटकका एसईई तयारी कक्षामा सहभागिता जनाउने सबै विद्यार्थीको तयारी कक्षा शुल्कमा लाग्न रकमको ६० प्रतिशत वडाले ब्यहोर्ने निर्णय भएको उनले बताए। आर्थिक अवस्था न्यून भएका र विद्यार्थीमा पढाई प्रति उत्साह जोगाउन वडाले यो ब्यवस्था गरेको होे। वडाले सामाजिक उत्तर दायित्व अन्र्तगत यो सहयोग गर्न लागेको छ। यस वर्षको एसईई परीक्षामा उक्त विद्यालयबाट २४ जना छात्रा छात्रा सहभागिता जनाउँदै छन्।
हाल विद्यालयमा ती विद्यार्थीले अनिवार्य अंग्रेजी, गणित र बिज्ञान विषयको तयारी कक्षा लिइरहेका छन्। तयारी कक्षाका लागि प्रति विद्यार्थी प्रति विषय एक हजार पाँच सयका दरले एक महिनामा चार हजार पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्छ।
यी कक्षा दुई महिना सञ्चालन हुनेछन्। एक जना विद्यार्थीका लागि नौ हजार रुपैयाँ तयारी कक्षा लाग्ने छ। सबै विद्यार्थीको तीन विषयको जम्मा लाग्ने खर्चको साठी प्रतिशतले हुन आउने एक लाख २९ हजार रुपैयाँ वडाले तिर्नेछ। यसअघि पनि उक्त वडाले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गर्दै आएको थियो।