
काठमाडौँ – माघेसंक्रान्ति नजिकिएसँगै यतिबेला काठमाडौँका चाकु व्यवसायीहरूलाई चाकु बनाउन भ्याइनभ्याइ छ। बजारमा चाकुको माग बढी हुने भएकाले पनि यतिबेला टोखाका चाकु व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
माघेसंक्रान्तिमा चाकुको माग बढी हुने भएकाले पुसदेखि नै चाकु बनाउन सुरु गरिन्छ। चाकु विशेषगरी टोखाको पहिचान पनि हो। हरेक वर्षको माघे संक्रान्तिमा टोखामा पुग्ने हो भने चाकुको वासना छरिएको हुन्छ।
टोखास्थित काशीलाल चाकु प्रोडक्शनमा अहिले चाकु बनाउने चटारो छ। चाकु किलोको १४० मा बिक्री हुने गरेको छ। साथै खुवाको चाकु ५०० प्रतिकिलो र कालो तिल र सेतो तिलको लड्डु प्रतिकेजी ३०० पनि बिक्री भइरहेको छ।
चाकु विषेश गरी जाडोमा तथा माघेसंक्रान्तिमा बढी प्रयोग गरिन्छ। वर्षमा एकचोटी भए पनि चाकु खाँदा जाडोले छुँदैन भन्ने जनविश्वास छ।
परम्परागत रूपमै टोखाका नेवार समुदाय चाकु बनाउँदै आएका छन् तर, अहिले मौलिक तरिकासँगै मेशिनको प्रयोग गरेर आधुनिक तरिकाबाट पनि बनाइन्छ।