
पोखरा- कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तत्कालै छुटिहाल्ने सम्भावना भने छैन।
सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई छाड्ने आदेश अदालतले दिए पनि उनीबिरुद्ध काठमाडौँ, चितवन, रुपन्देही र पर्सामा समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई कास्की प्रहरीले अन्य जिल्ला लानेछ।
‘उनलाई अब काठमाडौँ लगिन्छ होला,’ प्रहरीको एक स्रोतले भन्यो।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो।
काठमाडौँ प्रहरीले कास्की अदालत र प्रहरीलाई लामिछानेलाई काठमाडौँ पठाउन पत्र लेखेको सुरक्षा स्रोतले बताएको छ। स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा लामिछानेबिरुद्धको मुद्दा दर्ता भइसकेको छ।
कास्की अदालत स्रोतका अनुसार लामिछानेले बिहीबार साँझसम्म ६५ लाख रुपैयाँ धरौटी बुझाएका छैनन्।