
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम अदालतलाई बुझाएका छन्। उनले ६५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका हुन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने थुनछेक आदेश जारी गरेको थियो।
पूर्वडिआइजी छविलाल जोशीले ८८ लाख, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनालले १५ लाख धरौटी बुझाएका छन्। धरौटी बुझाएको कागजपत्र मिलाइरहेको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
यसअघि पूर्वसांसदसमेत रहेकी सूर्यदर्शन सहकारीकी संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङले धरौटी बुझाएर रिहा भएका छन्।
मिना र आरतीले ५/५ लाख रुपैयाँ र कृष्णबहादुरले १ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने अदालतले थुनछेक आदेश जारी गरेको छ। लिला पछाईंसँग ३७ लाख रुपैयाँ धरौटी माग गरिएको छ। उनको धरौटी बाँकी छ।