काठमाडौं: सबेरैदेखि काममा भिड्ने दैनिकी बनेको भैँसेपाटीकी २९ वर्षिया ममता भण्डारी विवाहअघि जति खुसी थिइन्, विवाहपछि उनको त्यो खुसी टिक्न मुस्किल परिरहेको छ। तीन वर्षदेखि उच्चरक्तचापबाट ग्रसित उनलाई आफू आमा बन्न सक्छु कि सक्दिन भन्ने पिरलोले उनको खुसी टाढिएको छ। आफ्नो समस्याबारे उनले घरपरिवारलाई नबताएकी पनि होइनन् तर सबैको सल्लाहमा भिन्नता पाउँछिन उनले । त्यसले झनै दोधारमा पार्छ उनलाई। परामर्शका लागि चिकित्सकहाँ पनि पुगिन् तर त्यसले आमा बन्ने आत्मविवास बढेन उनको।
ममता मात्रै होइन, जो उच्चरक्तचापबाट ग्रसित भएका बेला आमा बन्न सकिन्छ/सकिदैन भन्ने चिन्तामा डुब्छन् महिला। हिजोआज यस्ता पीडित महिला प्रशस्त भेटिन्छन्। चिकित्सकको सल्लाहको खोजीमा अस्पतालमा भिड लाग्ने महिलाको संख्या बग्रेल्ती छ।
समयमै चिकित्सकको उपयुक्त सल्लाह नपाउँदा उच्च रक्तचापबाट ग्रसित धेरै महिलाले आमा बन्ने निर्णय गर्न सक्दैनन्। आमा बन्ने निर्णयमा पुग्ने महिलाको पनि विशेष सावधानी अपनाउन नसक्दा र त्यस्तो सावधानीबारे जानकारी नपाउँदा उनीहरुको ज्यान र बच्चा धरापमा परेको पाइन्छ। ‘मलाई डर लागिरहेको छ यो बेला गर्भवती भएँ भने उल्टै आफ्नो र बच्चाको ज्यान जाने हो कि भन्ने चिन्ता मात्रै लागिरहन्छ। यस्तो बेलामा बच्चा जन्माउन हुँदैन भन्ने धेरैको सल्लाह छ,’ ममताले मलिनो अनुहार लगाउँदै देशसञ्चारलाई भनिन्।
चिकित्सकले भने उच्चरक्तचापबाट ग्रसित महिलाले पनि ढुक्कका साथ बच्चा जन्माउन सक्ने बताउँछन्। तर त्यसका लागि नियमितरुपमा सम्बन्धित चिकित्सक खासगरी मुटुरोग र स्त्रीरोग विशेषज्ञको परामर्शमा उचित औषधि खाने र आफ्नो स्वास्थ्यमा ख्याल गर्ने हो भने उच्चरक्तचाप भएका महिलाले पनि सजिलै बच्चालाई जन्म दिन सक्छन् भन्ने ठहर चिकित्सकको छ।
‘उच्चरक्तचाप भएका महिलाले बच्चा जन्माउँदा उनीहरुको जीवन सुरक्षित हुँदैन भन्ने धारणा व्याप्त छ। तर त्यो गलत हो । किनभने उनीहरुले यदि चिकित्सकको सल्लाहलाई पछ्याए भने सजिलै बच्चा जन्माउन सक्छन्,’ वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा.हरिहर खनाल भन्छन्।
खनाललाई ममताजस्तै धेरै पीडित महिलाले दिनहुँजस्तो सोध्ने गर्छन्,’ मैले उच्चरक्तचाप नियन्त्रणका लागि लामो समदेखि ओैषधि लिइरहेको छु। यो बेला मैले बच्चा जन्माउन सक्छु कि सक्दैन? खनालको साझा जवाफ हुन्छ,’ तपाईँ नियमित औषधि खान र मेरो सल्लाहलाई कार्यान्वयन गर्न नर्बिसनुहोस्। त्यति भएपछि ढुक्क भएर बच्चा जन्माउन सक्नुहुन्छ।’
डा.खनाल उच्चरक्तचाप भएका महिलालाई चिकित्सकको सल्लाह नलिएर आफूखुसी खाइरहेको औषधि मिल्काइदिने गर्दा उनीहरुको ज्यान जोखिममा पर्ने गरेको बताउँछन्। त्यति मात्रै होइन, उनीहरुले खाइरेहको औषधि पनि बीचमै छोड्ने, आफूखुसी औषधि खाने, अस्वस्थकर जीवनशैली अपनाउने गर्छन्। उनीहरु प्रदूषित वातावरणमा काम गर्ने, तनाव लिने र हतारिनेसमेत गर्छन्। त्यसैका कारण बच्चा र आमाको ज्यान खतरामा पर्ने डा. खनालको निश्कर्ष छ।
उच्चरक्तचाप कसरी नियन्त्रण गर्ने ?
अमेरिकास्थित मानव सेवा र स्वास्थ्य विभाग अन्तर्गतको नेसनल हार्ट लग एन्ड ब्लड इन्स्टि्यूटका अनुसार…
- मोटोपन भए तौल नियन्त्रण गर्ने।
 - नियमित शारिरीक अभ्यास गर्ने (दैनिक कम्तीमा पनि आधा घण्टा पसिना आउने गरी हिँड्ने वा दौडिने)।
 - नुन र चिल्लो पदार्थ कम खाने।
 - तनाव नलिने र रिस नियन्त्रण गर्ने।
 - खानामा ध्यान दिने (रेसादार तरकारी र खाना, फलफूल नियमित खाने)।
 - धूमपान, मध्यपान र सूर्तिजन्य पदार्थबाट टाढै रहने।
 

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































