किन सुनिन्छन् नारायणगोपाल?

+
-

समय इतिहासका पानाहरुमा अनेक पदचाप छाड्दै अघि बढ्छ। समयका हरेक पदचापमा प्रत्येक मानिसले आफ्नै खाले सम्झना बोकिबसेको हुन्छ। मान्छे अनेक, प्रसंग अनेक, स्मृति अनेक। हरेक पटक जबजब मानिसलाई यौवनले गुलाफी झटारो हान्छ, सपनाहरुले आँखाबाट निद्रा चोरी लैजान्छन्, उसको ओठबाट पत्तै नपाई फुस्किन्छ–

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा’

जब कोही कसैलाई सपनाले बीच बाटोमा बिचल्ली पारेर जान्छ, दुःखले बनाएको घर उजाड हुन्छ, हिँड्दा हिँड्दैको बाटो मेटिन्छ, उसको ओठबाट फुस्किन्छ–

‘झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैँ भयो उदास मेरो जिन्दगी’

यसरी संसारबाट सबैसँग विदा मागेर गएको २७ वर्षपछि पनि नारायणगोपालको आवाज गुञ्जिरहन्छ। भन्न त भनेकै थिए, हरिशरण लामिछानेले म्युजिक नेपालले निकालेको एल्बम ‘नारायणगोपाल गीति यात्रा, भाग–१’को सुरुमै,

‘बदलिन पनि सक्छन् रे बनिसकेका रितहरु
फेरिन पनि सक्छन् रे बसिसकेका प्रितहरु
तर सधैँं अमर हुन्छन् रे नारायणगोपालका गीतहरु’

लामिछानेले भनेजस्तै अमर र अजर भएका छन् नारायणगोपालका गीतहरु। जबकि नेपाली संगीतले त्यसपछि धेरै कोल्टे फेरिसकेको छ। नारायणगोपालको जीवनकै उत्तराद्र्धमा प्रवेश गरेको पप कल्चर ¥याप र ज्याजसम्म पुगेको छ। सुगम संगीतकै यात्रामा पनि नयाँ प्रयोग र नयाँ शैली भित्रिएका छन्। तिनको गुणस्तर र महत्वको परख संगीतका मर्मज्ञले गर्लान् नै। तर, आज पनि जब ओठमाथि जुँघाले रेखी हाल्दै गरेको किशोर वा यौवनले ओठमा लाली दल्दै गरेकी किशोरी गितार लिएर कभर सङ गाउँछन्, गीत त नारायणगोपालकै हुन्छ। आखिर किन सुनिन्छन् नारायणगोपालका गीतहरु? किन गाइन्छन् उनकै गीत बारम्बार? मंसिर १९ को काठमाडौंको चिसो मध्याह्नमा पनि नारायणगोपाल संगीत कोषले उनकै घरको प्रागंणमा आयोजित कार्यक्रममा गीत गाउनेहरु पछिल्लो पुस्ताकै त थिए। उनीहरुमध्ये नारायणगोपाललाई प्रत्यक्ष सुन्ने सायदै थिए ।

प्रस्ताव त नगेन्द्र थापाले गरेका थिए नारायणगोपाललाई स्वरसम्राट भनेर। तर, त्यो प्रस्ताव पनि आम भइदियो। केवल नगेन्द्र थापाले भनेकै भरमा स्वरसम्राट भएका होइनन् उनी। पहिले नै आम श्रोताको मनमा बनाइसकेको स्थानलाई उचित शब्द मात्र दिएका हुन् थापाले।

मिठास नेपालीपन
छोटो जीवनमा लामा सम्झना रहने गरी गीत गाएकाले नै उनी अमर भएका छन्। गायिका कुन्ति मोक्तानको विश्लेषणमा हरेक नेपाली मनको दुःखसुख गाएर उनी सबैका साझा बनेका छन्। ‘नारायणगोपालका गीतमा नेपालीपन छ’, मोक्तान भन्छिन्, ‘उहाँको गीतलाई हामी हाम्रो गीत भनेर सुन्छौँ।’

कुन्तीका अनुसार नारायणगोपालका गीत गाउन भने सजिला होइनन्। केवल चाहना र रहरले गाइँदैनन् नारायणगोपालका गीतहरु। उनको विचारमा नारायणगोपालको गीत गाउनु संगीतको परीक्षा पास गर्नु हो। नयाँ पुस्ताले आफूलाई सक्षम गायक गायिका भनेर प्रमाणित गर्न पनि नारायणगोपालका गीत गाउने गरेको कुन्तीको अनुमान छ। गाउन जति अप्ठ्यारो भए पनि शब्द, लय र गायन गरी गीतका तीनवटै तत्वको उत्कृष्टता भएकाले नारायणगोपाल गुन्गुनाइन्छन्, सुनिन्छन्। शब्द र संगीतमा मेहनत गरेर मिठो बनाउने भएकाले उनका गीतको चर्चा आजसम्म उत्तिकै भइरहेको संगीतकार शिलाबहादुर मोक्तान बताउँछन्।

मेहनतको सिर्जना
नारायणगोपालका समकालीन प्रेमध्वज प्रधान त्यतिबेलाका कलाकारको अभ्यासले उनीहरुलाई जीवन्त राखेको बताउँछन्।

नारायणगोपालको समय नै मेहनत र लगावको थियो। अहिलेजस्तो छिनभरमा संगीत कम्पोज हुँदैनथ्यो। रेकर्डिङ स्टुडियो पनि भर्खरै खुल्दै थिए। त्यसैले त्यतिबेलाका गायक, संगीतकार एउटै गीतका लागि पनि हदैसम्मको मेहनत गर्थे। त्यही मेहनतले मिठास दिन्थ्यो। ‘त्यही मिठासले नै उनका गीत अझै पनि लोकप्रिय छन्’, प्रधान भन्छन्।

संगीतको ग्रामर
सानै छँदा नारायणगोपालको गीतमा भ्वाइलिन, मादल बजाएका संगीतकार राजु सिंह नारायणगोपालका गीतमा लय र स्वर मात्र भेट्दैनन्, साहित्यको गहिराइ पाउँछन्। राजु भन्छन्, ‘उहाँ त नेपाली संगीतको ‘ग्रामर’ नै हो।’

मौलिक अवाज र साधनाले नै उनलाई स्वर सम्राट बनायो। संगीतकर्मी नारायण वली नारायणगोपालको गलामै सरस्वतीको प्रत्यक्ष वास भएको बताउँछन्। नारायणगोपालको शब्द संगीत चयनको विषयमा सधैँ चर्चा हुन्छ। यो विषयमा उनलाई कतिले घमण्डी पनि भन्छन्। यहि प्रस्ट अडान लिने स्वभावले नै उनका हरेक गीत उत्कृष्ट बने। उनको गला कसैसँग मिल्दैन, स्वरमा मौलिकपन थियो। त्यसमा रियाजले माधुर्य भर्‍यो। सबै तत्वको उत्कृष्ट संयोजन भएकाले तिनले सोझै मनमा प्रहार गर्छन्। शब्द, संगीत राम्रा भएका गीतहरु थुप्रै छन्। गीतलाई उचाइमा पुर्‍याउने अन्तिम र महत्वपूर्ण भूमिका गायक गायिकाको हुन्छ। यसमा नारायणगोपाल अब्बल प्रमाणित भए।

नेपाली संगीत इतिहासमा त्यो युग नै स्वर्णीम थियो। त्यसमा पनि नारायणगोपाल सरस्वतीकै वरदान भएको गायक संगीतकार मदनगोपाल बताउँछन्। संगीत र साहित्यको ज्ञान भएका व्यक्ति थिए नारायणगोपाल। संगीतमा लामो समय बिताएर मात्र हुँदैन। नारायणगोपालले जति पनि गाएका छन्, गीतको परिचय बुझेर गाएका छन्। मदन भन्छन्, ‘उहाँ नेपाली संगीतको युनिभर्सिटी नै हो।’ संगीतको पूर्वीय र पाश्चात्य दुवै ज्ञान उहाँको गीतबाट लिन सकिन्छ।

संगीत प्रशिक्षक समेत रहेका मदनका अनुसार संगीतमा ज्ञान लिनकै लागि पनि नारायणगोपाल सुनिएका हुन्। स्वरसम्राटभन्दा पछिल्लो पुस्तालाई सुनेर हुर्किएका मदनले फर्केर नारायणगोपाललाई सुनेपछि मात्र संगीतमा केही ज्ञान पाएको अनुभव गरे। भन्छन्, ‘नारायणगोपालको समयपछि नेपाली संगीतको क्षेत्रफल बढेको छ, तर विकास हुन सकेको छैन।’

जीवनको गीत
लेखक गणेश खनियाँ नारायणगोपालका गीतमा संगीतमात्र भेट्दैनन्। ‘उनका गीत जीवनकै गीत हुन्’, खनियाँ भन्छन्। यसै पनि मायाप्रेम साश्वत सत्य हो जिन्दगीको। त्यही सत्यलाई संगीत दिए उनले। खनियाँ भन्छन्, ‘नारायणगोपाल अस्वीकार गर्दैमा अस्वीकृत हुने गायक होइनन्।’

गायिका निशा देशारको नारायणगोपालप्रतिको अनुभूति बेग्लै छ। उनका काका गायक थिए। काकाको छत्रछायाँमा हुर्कँदै गर्दा रेडियो नेपालमा नारायणगोपालका गीत सुन्थिन्। रेडियोबाटै नारायणगोपालको निधनको खबर सुनिन्। त्यसको दुई वर्षमा उनका काकाको पनि स्वर्गवास भयो। त्यही समयदेखि उनलाई लाग्छ, नारायणगोपाल उनको जीवनमै छन्। उनलाई नसुनी उनको संगीत यात्रा पुरा हुन सक्दैन। मौका पाउँदा नारायणगोपालका गीत गाइहाल्छिन् पनि। भन्छिन्, ‘मलाई उहाँको नामले नै पुग्छ, उहाँको गीत गाउने कुनै अवसर गुमाउन चाहन्न।’

हुन पनि जबजब जमघट हुन्छ। एउटा स्वर्णीम बिहानीको परिकल्पनामा मानिसहरु साँझ बोलाउँदै हुन्छन्। वा, विछोडका निचोड जान्दाजान्दै पनि जब मानिसहरु वर्तमानको सुखद मिलनमै रमाउन रुचाउँछन्। त्यतिबेला त चाहिने नारायणगोपाल नै हुन्। गुन्गुनाइने नारायणगोपालकै स्वर हुन्–

‘केही मिठो बात गरे रात त्यसै ढल्किँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदै छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?