अभिनेत्री बीना थापा । यो नाम सुन्नासाथ रंगकर्मी आशान्त शर्मालाई याद आउँछ, एक इमान्दार कलाकार। तीनवटा नाटकमा बीनालाई निर्देशन गरेका आशान्त मन भारी बनाउँदै बोल्छन्, ‘कति इन्नोसेन्ट थिइन्, म कुरा गर्नै सक्दिन।’
अभिनयमा भर्खरै उदाउँदै गरेकी बीनाको बुधबार बिहान सडक दुर्घटनामा निधन भयो। करिअरको यति महत्वपूर्ण घडीमा जीवन गुमाउँदा उनका सपनालाई पनि दागबत्ती दियो, उनको परिवारले। उनमा सम्भावना देखेका आशान्त जस्ता थुप्रै अग्रज कलाकर्मीको सपना पनि आर्यघाटमा उनको पार्थिव शरीर जलेसँगै निस्केको धुवाँमा विलीन भए ।
इन्नोसेन्ट र मेहनती
नाटक दरौँदीको पानीमा कुटनीतिक र बलियो रानीको भूमिकामा देखिएकी बीनाको जीवन यति सजिलै जाला भन्ने अनुमान कसले गरेको थियो र? आखिर छिटै हार खाने प्रवृत्तिकी त थिइनन् उनी।
दरौँदीको पानी रिहर्सलको समय अहिले आशान्तको दिमागमा झलझली आउँछ। रिहर्सलको क्रममा एक पटक उनी ‘सक्दिन, मबाट हुँदैन’ भनेर रोइन्। टिमका साथीले जिस्क्याए पनि। त्यो दृश्य निकै प्यारो लागेको थियो आशान्तलाई। अर्को एउटा नाटक रिहर्सल गरेर पनि मञ्चन हुन सकेन। त्यतिबेला बीनाको सानो गल्तीमा आशान्तले बेस्सरी गाली गरे। तर, एक शब्द नबोली आफ्नो काम सम्हालिहालेकी बीनाको कामप्रतिको प्रेम लोभलाग्दो भएको आशान्त बताउँछन्।
नाटक दरौँदीको पानीमा कुटनीतिक र बलियो रानीको भूमिकामा देखिएकी बीनाको जीवन यति सजिलै जाला भन्ने अनुमान कसले गरेको थियो र?
‘डाइरेक्टरले के खोजिरहेको छ, त्यसमा आफूलाई ढाल्न खोज्ने बानी असाध्यै राम्रो थियो, प्रयास गर्ने विद्यार्थी थिइन्, गाली गर्ने, माया गर्ने अनि जिस्किने भइरहन्थ्यो, हामी त एउटै परिवार थियौँ’, आशान्त सम्झन्छन् ।
तीन वटा नाटकको शृंखला ‘कथादेश तीन’का दुई नाटकमा बीनाले आशान्तकै निर्देशनमा अभिनय गरेकी थिइन्। अनुप बरालको निर्देशनमा मञ्चन भएको नाटक ‘थाङ्ला’ मा पनि उनले कोरसको भूमिका निर्वाह गरेकी थिइन्। विडम्बना, ठूलो पर्दामा आफूले गरेको मेहनतको प्रतिफल देख्नै नपाई बिदा भइन्। उनले अभिनय गरेका चलचित्र ‘पिँजडा ब्याक अगेन’ रिलिज नै भएको छैन। म्युजिक भिडियोहरुमा पनि उनको अभिनय छाइरहेको थियो।
परिवारको फूल
परिवारको कान्छो सदस्य सबैको प्यारो फूल हुन्छ। चार दिदी बहिनी र दुई दाजु भाइमा कान्छि बीनाको पिता छैनन्।
गुल्मीको मुसिकोट उनको स्थायी घर। आमा उतै थिइन्। मायाको डोरी सबैभन्दा कान्छी छोरीलाई अन्तिमपटक देख्नसम्म पाइनन्। दाजुदिदीहरु आर्यघाटमा दाहसंस्कार गरेर काज किरियाको लागि गुल्मी गए।
अधुरो संवाद
धापासीमा दिदी भिनाजुसँग बस्दै आएकी बीनाको पुरानो बानेश्वरमा डान्स क्लास सकेर फर्कने क्रममा दुर्घटना भएको थियो। पानीको ट्यांकरले ठक्कर दिएपछि प्रत्यक्षदर्शीहरुले उनलाई बीर अस्पतालको ट्रमा सेन्टर पुर्याएका थिए।
अस्पताल पुगेर आफ्नो नाम बताउन र मोबाइलको प्याटर्न खोल्नसम्म भ्याएको जानकारी उनकी मितिनी साधना सिंहले दिइन्।
दुर्घटना हुनुभन्दा केही बेर अघिसम्म मितिनीसँग कुरा भएको थियो। दिउँसो भेट्ने योजना बनाएका थिए। मितिनीलाई फोन गर्दागर्दा नउठेपछि परिवारका सदस्यसँग कुराकानी गरिन्। साधना १२ बजेतिर अस्पताल पुग्दा मितिनीको पार्थिव शरीर मात्र थियो । भेटेर गर्नुपर्ने थुप्रै कुराहरु अधुरै रहे।
तुरुन्त नजिकको अस्पताल पुर्याउन नपाएकाले बीनाको ज्यान गएको उनका भिनाजु नरबहादुर थापा ठान्छन्। ट्यांकरले ठक्कर दिएपछि भुइँमा पछारिएकी बीनाको बायाँ तर्फको चार वटा करंग भाँचिएको जानकारी अस्पताल स्रोतलाई उद्धृत गर्दै नरबहादुरले दिए।
उनका अनुसार भाँचिएको करंगले फोक्सो चिर्दा रक्तसंचार बन्द भएर उनको ज्यान गएको थियो। भने, ‘सरकारी अस्पताल खोजेर त्यहाँसम्म पुर्याउँदा उनको ज्यान गयो, नजिकैको अस्पताल लैजान पाएको भए यस्तो हुँदैनथ्यो।’

भर्खरै
लोकप्रिय






































































































































































































