चराजस्तै वेगवान छ जगन चापागाईंको जीवन। भुर्र ताजिकिस्तान, भुर्र मोन्टेनेग्रो, भुर्र मलेसिया, भुर्र थाइल्यान्ड। अहिले स्वीजरल्याण्डको जेनेभामा छन् – रेडक्रस र रेड क्रेसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को अन्डर सक्रेटरियट (उपमहासचिव)को रुपमा । कार्यक्रम र कार्यान्वयन विभाग हेर्ने भएकाले तीनजना उपमहासचिवमध्ये उनी पहिलो नम्बरमा आउँछन्। अर्थात्, अन्तर्राष्ट्रिय रेडक्रस महासंघको नेतृत्वकारी टिमको दुई नम्बरमा अहिले एक नेपाली छन्।
सन् १८६३ मा जाँ हेनरी ड्युनाले स्थापना गरेको रेडक्रस संसारभर मान्यताप्राप्त मानव सहयोग संगठन हो। युद्धको लपेटामा आर्तनाद गरिरहेका सामान्य सिपाहीहरुको पीडाले व्यथित ड्युनाले युद्धभूमीबाट ती सिपाहीलाई अस्पतालसम्म पुर्याउने पवित्र कामनाले यो संगठनको स्थापना गरेका थिए।
सेतो पृष्ठभूमिमा रातो प्लस चिन्ह भएको झण्डा बोकेर गोलाबारुद र ऐयाआत्थाले रुमल्लिएको युद्धभूमिमा उद्धारकर्ताहरु स्ट्रेचर र ओखतीमुलो बोकेर दौडिन थोलेको त्यहीदेखि हो। तर, दुःख, क्लेश, कुण्ठा, क्षोभ, लोभ र स्वार्थले भरिपूर्ण मानव समाजमा युद्धमात्र समस्याको कारण थिएन। आपसमै झैझगडा गर्ने मानिसलाई प्राकृतिक विपत्तिले पनि बेलाबेलामा चिमोटिरहन्छ। सँगसँगै अनेक विषमताले भरिएको छ मानव समाज जहाँ गरिबी अर्को समस्या बनिदिन्छ। त्यसैले कल्याणकारी क्षेत्रमा काम गर्ने संस्थाहरुको वृद्धि र विकास भएको छ। रेडक्रस कसरी अछुतो रहन सक्थ्यो र? समयक्रममा आफूलाई विकास गर्दै लग्यो।
युद्ध र द्वन्द्व क्षेत्रमा काम गर्ने रेडक्रसको लिगासीलाई आइसिआरसी (रेडक्रसको अन्तर्राष्ट्रिय समिति)ले कायम राख्यो भने सन् १९१९ मा पहिलो विश्वयुद्धले बनाएको भग्नावशेषबीच पेरिसमा आइएफआरसीको स्थापना भयो। युद्ध र युद्धका परिणामहरुको आयाममा मात्र मानवकल्याणकारी काम अपुरो हुन्छ भन्ने निष्कर्ष निकाल्दै प्राकृतिक विपत्ति, त्यसले सिर्जेका असर र मानव समाजमा पहिल्यैदेखि रहेको गरिबी र विषमता न्यूनीकरणका लागि सहयोग संगठनको रुपमा आइएफआरसीको स्थापना भएको थियो। १ सय ९० देशमा १ करोड ७० लाख स्वयं सेवकहरुको माध्यमबाट १५ करोड मानिसहरुको पहुँचमा पुगेको यो संस्था विश्वकै सबैभन्दा ठूलो मानवीय संस्था हो ।
शुरुवात शरणार्थी क्याम्प
माध्यमिक तह पढ्दै गर्दा २०३७ सालतिर जुनियर रेडक्रस सर्कलमा आबद्ध भएबाट सुरु भएको हो जगनको मानवकल्याणकारी यात्रा। त्यसैबीचमा २०३९ सालमा युथ एक्सचेन्ज प्रोग्राम अन्तर्गत जापान पुगेपछि उनी त्यहाँको रेडक्रसको काम देखेर प्रभावित भए। लाग्यो, केही गर्नुपर्छ। त्यसको माध्यम हुनसक्छ – रेडक्रस।
२०३९ सालमा एसएलसी पास गरेर काठमाडौं आउँदा उनीसँगै उनको केही गर्ने सपना पनि सँगै आएको थियो । त्यसो त अब्बल विद्यार्थी थिए। उतिबेलाको चलन अनुसार टप टेनमा नाम आउने सम्भावना भएका। तर, एसएलसी परिणाम छापिएको गोरखापत्रको पानामा टप टेनभित्र उनको नाम थिएन। पछि थाहा पाए, १२औं भएका रहेछन्।
अब्बल विद्यार्थीका आफ्नै दुःख हुन्छन्। पढाइमा अब्बल भएर मात्र पुग्दैन। केही गरेर देखाउनुपर्छ। केही बनेर देखाउनुपर्छ। यही पर्छको चपेटामा जगन इन्जिनियर बने– आइएस्सी नेपालमा र इन्जिनियरिङ भारतमा पढेर। रुचि र इच्छा थियो मानवकल्याणमा। गैर–नाफामूलक कार्यमा। पढाइले इन्जिनियर बने पनि पेशाले बनेनन्। आइएस्सी पढ्दै रेडक्रस युथ ग्रुप बनाएर ३० भन्दा बढी जिल्लामा फैलाएका जगन चार वर्षे अध्ययन प्रवासपछि फर्केर रेडक्रसमै जोडिए।
त्यतिबेला भुटानी शरणार्थी समस्या सुरु भइसकेको थियो। आफ्नै देश पराई भएपछि शरणको खोजी गर्दै नेपाल आइपुगेका भुटानीहरु झापामा शरणार्थीको रुपमा बसेका थिए। मध्यरातमा सैन्य दमन भएपछि जेजतिसक्दो बोकेर रुँदै कराउँदै देश छोडेका ती शरणार्थीहरुसँग ओत लाग्ने आकाश थिएन, बस्ने बास थिएन, खाने अन्न थिएन, आँसु पुछ्ने रुमाल थिएन। रेडक्रसको आँखा गयो। उसले त्यहाँ सहयोग कार्यक्रम सञ्चालन गर्ने भयो। कार्यक्रमका लागि म्यानेजरको आवेदन खुलायो। नियम नै हो रेडक्रसको – हरेक तहमा आवेदन खुलाइन्छ। रेडक्रसमा काम गरिरहेकाहरुले पनि माथिल्लो पदमा पुग्न आवेदन फारम भर्नैपर्छ। प्रतिस्पर्धा सामना गर्नैपर्छ। फर्म भरे जगनले पनि। नाम निस्कियो। रेडक्रसले दिएको एउटा गाडी र ड्राइभर लिएर दमक पुगे। अफिस स्थापना गरे। २५/२६ का लक्का जवान थिए। जोश थियो, जाँगर थियो। भुटानी शरणार्थीहरुलाई खाद्यान्न एवम् अन्य सहयोग नियमित वितरण काम सुरु गरे। एक वर्षमै राम्रो काम गरेको प्रशंसा पाए। संयुक्त राष्ट्र संघ शरणार्थी आयोग र विश्व खाद्य संगठनले समेत रेडक्रसमार्फत् काम गर्न थाल्यो।
‘नेपाली संस्था भनेर नाक खुम्चाउने गरिन्छ । तर, हामीले नेपाली संस्था नै भए पनि अन्तर्राष्ट्रिय संस्थाकै स्तरमा काम गर्यौँ,’ जगन सम्झिन्छन्। त्यसो त उनले सहयोग मात्र बाँडेनन्। शरणार्थीलाई आफूलाई आश्रय दिने समाजप्रति उत्तरदायी बन्न पनि आग्रह गरे। उनकै अगुवाइमा शरणार्थीहरुले केही सामाजिक काम गर्न थाले। अहिले झापा बेलडाँगीको उत्तरपट्टि जुन हरियो जंगल छ, तिनै शरणार्थीहरुले वृक्षारोपण गरेर बनाएको हो।
तीन वर्ष शरणार्थी शिविरमा काम गर्दा धेरै थोक देखे उनले। नेपाली समाजको अनुहार राम्रोसँग चिने। आफ्ना मान्छेका लागि खाद्यान्न वितरणको टेन्डर पारिदिन उनको अफिस घेर्ने मान्छेहरु अहिले राजनीतिक दलका ठूला नेता बनेको देख्दा ताज्जुब लाग्छ उनलाई। तर, स्वार्थ त हरेक भूगोलको मानिससँग हुँदारहेछ। प्रवृत्ति लगभग उस्तै हुँदोरहेछ भन्ने बुझेका छन् उनले। विभिन्न देशमा गरेका कामले धेरथोक अनुभव गराएको छ उनलाई।
सोभियत संघको अवसानसँगै मध्य एसियामा उत्पन्न भएको चरम मानवीय संकटको प्रत्यक्षदर्शी हुन् उनी। तैपनि प्रशंसा गर्छन्, सोभियत संघले निर्माण गरेको शिक्षा र स्वास्थ्य प्रणालीको। त्यो स्वास्थ्य प्रणालीको प्रत्यक्ष लाभ उनले पाएका थिए जब उनकी श्रीमती पहिलोपटक सुत्केरी भएकी थिइन्।
लभ इन किर्गिजस्तान
सन् १९९६ मा जेनेभाबाट अन्तर्राष्ट्रिय स्तरको काम गर्न बोलाइएसँगै जगनको अन्तर्राष्ट्रिय मानवकल्याण यात्रा सुरु भयो। ६ महिनाको नियुक्ति लिएर सन् १९९६ जुनमा उनी ताजिकिस्तान पुगे। सोभियत संघ विघटन भएको पाँच वर्ष पुग्नै आँटेको थियो। कुनै बेला एउटै समाजवादी संविधान र व्यवस्था मान्छौं भनेर संघ बनाइबसेका देशहरु टुक्रिएर रुससहित १५ वटा बनेका थिएः अर्मेनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, कजाकस्तान, किर्गिजस्तान, लाटभिया, लिथुवानिया, मोल्दोभा, ताजिकिस्तान, तुर्कमेनिस्तान, रुस, उक्रेन र उज्बेकिस्तान।
ताजिकिस्तान पनि उत्तर–सोभियत समयको सूरुवाती दर्दमा थियो। एउटा व्यवस्था अचानक ढलेपछि अर्को व्यवस्था स्थापना हुँदा जहाँ पनि उस्तै त हो। त्यसमाथि ताजिकिस्तानमा गृहयुद्ध सुरु भएको थियो। चरम आर्थिक संकटमा पुगेर अवसान भएको सोभियत संघको अवशेष युद्धको अर्को आतंक। कति भयावह थियो स्थिति! कल्पना गर्न पनि गाह्रो हुन्छ।
‘६ हजार बुढाबुढी एक्लिएका थिए’, जगन सम्झिन्छन् त्यो कहालीलाग्दो अवस्था। रेडक्रसले चलाएको उद्धार कार्यक्रम लिएर गएका थिए उनी। ‘युद्ध भए पनि अपराध भने भएन। सबै मानिस पढेलेखेका थिए। त्यसैले पनि होला। तर, युद्धले बुढाबुढीको स्याहार गर्ने कोही भएनन्।’
ताजिकिस्तानले भोगेका पीडादायी दिनका साक्षी हुन् जगन। सोभियत संघको अवसानसँगै मध्य एसियामा उत्पन्न भएको चरम मानवीय संकटको प्रत्यक्षदर्शी हुन् उनी। तैपनि प्रशंसा गर्छन्, सोभियत संघले निर्माण गरेको शिक्षा र स्वास्थ्य प्रणालीको। त्यो स्वास्थ्य प्रणालीको प्रत्यक्ष लाभ उनले पाएका थिए जब उनकी श्रीमती पहिलोपटक सुत्केरी भएकी थिइन्। तर, त्यो भन्दा पहिले बिहे भएको थियो। बिहे भन्दा पहिला प्रेम परेको थियो। त्यो पनि सुदूर कुनामा। किर्गिजस्तानमा।
ताजिकिस्तानको उत्तरी भेगमा चरम चिसो हुन्थ्यो। त्यहाँ घरसमेत तताउनुपर्थ्यो नभए चिसैले जमिन्थ्यो। त्यो ताप प्रणालीको जिम्मा रेडक्रसले लिएको थियो। कोइला बाँड्थ्यो। ताजिकिस्तानको उत्तरी भेगमा पुग्न किर्गिजस्तानको बाटो हुनुपर्थ्यो। सात सय २८ किलोमिटर लामो बाटो बसमा त्यो पन ठाउँठाउँमा पाँच हजार मिटर अग्लाइ चढ्नै पुग्नुपर्थ्यो। त्यो बाटोमा हिँड्दा सोभियत संघ र चिनबीचको विवादको क्रममा बनाइएको विद्युतीय सीमाबार समेत देखेको सम्झन्छन् जगन। मानिसले मानिसलाई विभाजन गरेर बनाएका देशका सीमाहरुको खुंखार दृश्य उनका क्यामराले खिचेका छन्।
बिस्तारै रेडक्रसले आफ्नो क्षेत्र विस्तार गरेर किर्गिजस्तान र उज्बेकिस्तानसम्म पुर्यायो। ६ महिनाको नियुक्तिमा बसेका जगनको पनि समय थपियो। किर्गिजस्तान जाँदाजाँदै जिन्दगीले अर्को मोड लियो। त्यहीँ भेटिइन् एक तातार युवती। यी २६ का जवान, उनी अलि कान्छी विश्वविद्यालयमा अन्तिम वर्षे शिक्षा पढिरहेकी। आँखा जुध्यो। कुरा मिल्यो। मन मिल्यो। देशको सीमा। भाषाको फरक। रितिरिवाज, रहनसहनको फरक। केहीले पनि रोकेन। व्यवस्थाको असफलता र युद्धको विभिषिकाबीच किर्गिजस्तानको चिसो भूगोलमा एक नेपाली युवक र एक तातार युवतीको न्यानो सम्बन्ध गाँसियो।
प्रेमको मुना बिहेको फूल बन्यो। अनि एउटा फल जन्मियो। किर्गिजस्तानमै रहँदा उनको जेठो छोराको जन्म भयो। त्यति बेला नै हो, जगनले सोभियत संघले स्थापना गरेको स्वास्थ्य प्रणालीको अनुभव गरेको। हरेक १५/२० घरलाई एक नर्सको व्यवस्था गरिएको थियो। प्रत्येक महिना नर्स आउँथिन घरमा। स्वास्थ्यस्थिति बुझेर जान्थिन्। जगनको श्रीमती गर्भवती भएपछि नर्सले नै सबैभन्दा बढी ख्याल गरिन्। सुत्केरी हुनेबेला अस्पताल भर्ना गर्नुप¥यो। बच्चा जन्मेर घर आएपछि पनि नर्स आएर बच्चाको स्याहार, हेरविचार सबै सिकाइन्। थाहा लाग्यो, बच्चाको दायाँ हर पक्षघात भएको छ। ४० दिन अस्पतालमा राखेर उपचार गरियो। जगनले यी सबैको एक रुपैयाँ पनि तिर्नुपरेन। सोभियत संघताका आमजनताप्रति राज्यको यो बन्दोबस्त सम्झँदा जगन अहिले पनि उदेक मान्छन्। ‘त्यति बेला त सोभियत संघ विघटन भइसकेको थियो। चरम आर्थिक अभाव थियो। राज्यले भनेको बेलामा तलब पनि खुवाउन सकिरहेको थिएन। तर, सोभियत संघले स्थापना गरेको शिक्षा र स्वास्थ्य प्रणाली कायम नै थियो। अहिले त सबै नीजिकरण भयो’, जगनको अनुहार अँध्यारो हुन्छ। उनले देखेका छन्, भोगेका छन्, राज्यको बेवास्तामा परेका मानिसहरुको पीडाग्रस्त जीवन।
तीन वर्ष ‘रिलिभ कोअर्डिनेटर’ (उद्धार संयोजक) भएर काम गरेपछि उनी ‘कन्ट्री रिप्रेजेन्टेटिभ‘को पदमा उज्बेकिस्तान खटाइए। त्यो कुटनीतिक पद थियो। औपचारिक पोशाक लगाएर मिटिङ र डिनरहरुमा गइरहनुपर्थ्यो। त्यो त्यही समय थियो, जतिबेला बोरिस यल्तसिनले भ्लादिमिर पुटिनलाई राष्ट्रपति बनाएर हिँडेका थिए। पुटिनको पहिलो भ्रमण उज्बेकिस्तानमै भएको थियो। आफ्ना दुई छोरी जन्मेको देश घुमाउन आएका थिए पुटिन। पुटिनलाई विमानस्थलमा स्वागत गर्न जानेमध्ये एक जगन पनि थिए।
मध्य एसियका तीन देश ताजिकिस्तान, किर्गिजस्तान र उज्बेकिस्तानमा पाँच वर्ष काम गरेपछि उनी युरोप छिरे। युगोस्लाभियाको विखण्डनको साक्षी बन्न। सन् १९८० बाटै टुक्रिन सुरु गरेको सोभियत संघ युगोस्लाभियामा दुई देशमात्र बाँकी थिए– सर्विया र मन्टेनेग्रो। मन्टेनेग्रो पनि सर्वियासँग छुट्टिन खोजिरहेको थियो। त्यतिबेला जगन पुगेका थिए मन्टेनेग्रो – रेडक्रसको देशीय मुख्यालयमा व्यवस्थापकीय काम गर्नेगरी। अमेरिकाले बम हानेर क्षतविक्षत राज्यमा रेडक्रसले युद्धोत्तर राहत–उद्धारको काम गरिरहेथ्यो। यहाँ उनले देखे, अमेरिकी बमले ध्वस्त भवनहरु। ‘ती भवन निकै बलियोसँग बनाइएका थिए। सिलिङमा हानेको बम तलैसम्म पुगेको थियो तर भवनका चार भित्ताहरु सग्लै थिए’, जगन आफूले देखेको मन्टेनेग्रो सुनाउँछन्।
विकासको बाटोमा
सात महिना काम गरेपछि मन्टेनेग्रोप्रति मन मर्यो उनको। नेपाल फर्किए। रेडक्रसको मुख्यालय जेनेभा खबर पठाए, म विकास क्षेत्रमा काम गर्न चाहन्छु।
थाइल्याण्डको बैंककमा खुलेको थियो, रेडक्रसको क्षेत्रीय विकास संयोजकको लागि आवेदन। आवेदन दिए। तीन वर्षको नियुक्ति लिएर हिँडे थाइल्याण्ड। पूर्वी एसियामा पहिलो अनुभव थियो उनको। चरम गर्मी। शुरुको ६ महिना त बानी पार्नै समय लाग्यो। जेहोस्, तीन वर्ष बसे सपरिवार। मध्य एसियाको चिसोमा जन्मेहुर्केकी उनकी श्रीमतीलाई निकै गाह्रो भयो त्यहाँको गर्मी पचाउन। हिउँ नपरेको क्रिसमस मनाउनुपर्दा रोइन् पनि। तर, समय सबैभन्दा ठूलो शिक्षक हो। ‘अचेल त मैले भन्दा पनि पिरो खान्छिन्’, जगन सुनाउँछन् कसरी परिस्थितिसँगै मानिस फेरिँदोरहेछ।
तीन वर्ष थाइल्याण्ड बसेपछि रेडक्रस साउथ एसियन डेस्कको मुख्य पदको लागि खुलेको आवेदनमा निवेदन दिए। नाम निस्कियो। सन् २००३ मा उनी दक्षिण एसियाका सम्पूर्ण मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुख पदमा नियुक्त भएर जेनेभा पुगे।
त्यति नै बेला सन् २००१मा भारतको गुजरातमा भूकम्प गयो। सन् २००४ मा सुनामीले श्रीलंका, माल्दिभ्स र भारतमा व्यापक मानव जनधनको क्षति गर्यो। सन् २००५ मा पाकिस्तानमा भूकम्प गयो । सबै ठाउँमा उद्धार, राहत र पुनःस्थापनाको कार्यक्रम लिएर आइएफआरसी पुग्यो।
‘हामीले चलाएको सबैभन्दा ठूलो प्रोजेक्ट सुनामीका कारण घरबारविहिनहरुको पुनःस्थापना हो। ३.२ बिलियन (३ अर्ब २० करोड) अमेरिकी डलर बराबरको कार्यक्रम थियो’, जगन अनुभव सुनाउँछन्।
पाकिस्तानमा भूकम्प जाँदा ९ वर्षपछि दशैंको टिका लगाउन नेपाल आइपुगेका थिए जगन। आएको दिन नै पाकिस्तानमा भूकम्प गयो। तुरुन्त उद्धार र राहत वितरणमा जुटिहाल्नुपर्ने भयो। नौ वर्षपछि आएको छोरा टिका नलगाई अर्को दिन नै फर्किँदा आमा रोएको दृश्यको उनको मनबाट कहिल्यै मेटिनेछैन। तर, पाकिस्तान भूकम्पको समयमा आफूले गरेको कामको सफलताबाट गर्वबोध गर्छन् उनी।
सन् २००६ मा मध्य एसियाको प्रमुख भए। फेरि मध्य एसिया पुगे। यसपालि अल्मोटामा।
सन् २००७ मा भने रेडक्रसको पुनसंरचना भयो। विकेन्द्रीकरण लागू गरियो। उनी एसिया प्यासिफिक क्षेत्रको नायव प्रमुख बनेर मलेसियाको क्वालालम्पुर पुगे। चार वर्ष नायव बने। अचानको प्रमुखको निधन भएपछि उनले प्रमुख पदको लागि निवदेन दिए। नियुक्त भएपछि थप चार वर्ष क्वालालम्पुरमै बिताए। त्यसबीचमा उनले चिनको सिचुवानमा गएको भूकम्प, म्यान्मारमा आएको साइक्लोन, बंगलादेशमा आएको साइक्लोन, नेपालमा आएको भूकम्प लगायतका ठूला प्राकृतिक विपत्तिको समयमा उद्धार र राहत कार्यको सञ्चालन गरेका छन्।
सन् २०१५ जुलाइमा सेक्रेटरी काउन्सिल (सचिव मण्डल)ले बोलाएपछि सेक्रेटरी काउन्सिलको निर्देशक भएर जेनेभा भए। त्यहीँबाट पदोन्नति भएर सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत छन्।
साढे दुई दशक पुग्न आँट्यो रेडक्रसको रातो क्रसमुनि उनी उभिएको। अहिले दोस्रो पदमा छन्। यो सबैको पछाडि एउटै सुत्रले काम गरेको छ । ‘त्यो हो मेहनत’, जगन भन्छन्, ‘मेहनत नभई केही हुँदैन। सँगै इमान्दारी पनि चाहिन्छ। म यो बन्छु भनेर कहिल्यै लागिन तर, रुचि जेमा लाग्यो त्यो गर्दै गएँ।’
नेपाल अर्थक्वेक
नेपालमा भूकम्प जाँदा एसिया प्यासिफिक क्षेत्रका प्रमुख थिए जगन। आफ्नै देशमा भूकम्प गएको थाहा पाउनासाथ भोलिपल्टै २२ वटा जहाजमा राहत सामग्री पठाए। तर, विमानस्थलमा ट्राफिक जाम थियो। राहत सामग्री बोकेका जहाज ओर्लिन नपाएपछि आफैँ आए। यहाँका सरकारी मानिस भेटे। मन्त्री भेटे। विमानस्थल संरक्षण गरिरहेको सेनाका प्रमुख भेटे। अचम्म ! ती त आफ्नै साथी रहेछन्। जहाज ओर्लिए। बल्ल थाहा पाए, विमानस्थलमा भीड लाग्नुको कारण। विमानस्थलमा त ‘फोर्क लिफ्ट’ नै रहेनछ। सन् १९४४ देखि भारी सामानहरुको लोड अपलोड गर्न प्रयोगमा आएको त्यो सवारी साधन नभएको देख्दा उनलाई आफ्नै देशप्रति दुःख लाग्यो। त्यतिबेला सेनाका जवानहरुले
पिँठ्युमा बोकेर जहाजबाट राहत सामग्री उतारको दृश्य अहिले पनि सम्झन्छन् उनी।
विश्वभर नै उद्धारमा भन्दा पुनस्थापनामा कठिनाइ भोगेका छन् जगनले। ‘उद्धारमा खासै समस्या पर्दैन। विपत्तिका कारण मानिसहरु एक भएका हुन्छन्। विपत्तिको एक महिना पछि साँचो समस्या सुरु हुन्छ’, उनको वर्षौँको अनुभव हो यो।
नेपालको हकमा पनि त्यही भयो। यहाँ सरकारले समयमा ठोस योजना ल्याउन सकेन। ल्याएको योजना पनि कार्यान्वयन गर्न सकिरहेको छैन। ‘त्यसैले दातृ राष्ट्र र संस्थाहरु निरास भइरहेछन्’, भन्छन् उनी।
राज्य नै विकासको संवाहक
समुदायमा आधारित दिगो विकाससम्बन्धी कार्यक्रम आइएफआरसीको मुख्य काम मध्ये एक हो। तर, उनको वर्षौँको अनुभवले भन्छ, सामाजिक संस्थाले काम गरेर मात्र न गरिबी घट्छ, न समृद्धि हुन्छ।
‘मल्टिसेक्टर प्लानिङ (विविध क्षेत्र समेटिएको योजना) हुनुपर्छ र त्यसको नेतृत्व राज्यले गर्नुपर्छ’, जगन भन्छन्। उनको विचारमा राज्यले नेतृत्व नलिई गरिबी घट्दैन। राज्यले गर्दागर्दै पनि बाँकी रहेका चरहरु पुर्ने काम मात्रै सामाजिक संस्थाले गर्ने हो।
व्यक्तिगत व्यवस्थापन
विभिन्न देशमा वर्षौँको अनुभव सुनाइरहेका जगनसँग अन्तिम प्रश्न थियो – संसारभरका विपत्ति थेगेर बस्नुभएको छ। व्यक्तिगत मानसिकदेखि पारिवारिक व्वस्थापन कसरी गर्नुहुन्छ?
मुसुक्क हाँसे उनी। लाग्यो, केटाकेटी प्रश्न सोधिएछ। तर, उनले गज्जब जवाफ दिए। व्यवस्थित जीवनका उनका चार सूत्र छन्ः
१) सामूहिक काम
उनी एक्लैले सबै काम भ्याउनै सक्दैनन्। उनको समूहमा तीनजना सहकर्मी छन्। एकजनाले क्यालेन्डर व्यवस्थित गर्छिन्। कहाँ, कहिले कोसँग भेट्ने। कहाँ के पर्छ । उनले जगनको कामको प्राथमिकताको आधारमा सूची बनाउँछिन्। अर्का सहकर्मीले हरेक बैठक, भेटको विषयवस्तुबारे सामग्री तयार गर्छन्। तेस्रोले सामाजिक र कुटनीतिक सम्बन्ध निर्माणका लागि सहयोग गर्छन्। यी सबै सहकर्मीहरु एकदमै प्रशिक्षित छन् जसमा उनी पूर्णत भर पर्न सक्छन्।
२) स्वीच अफ
शुक्रबार घर पुगेपछि उनको फोन १२ घण्टाका लागि स्वीच अफ हुन्छ। त्यो समय उनी पूर्णतः आफ्नो परिवारलाई दिन्छन्। परिवारप्रति यति जिम्मेवार छन्, अहिलेसम्म परिवारबिना कुनै पनि देशमा काम गर्न गएनन्।
३) १५ मिनेट ध्यान
हरेक दिन फ्रेस हुने उनको यो सजिलो तरिका हो। ‘मलाई ध्यानको विधि थाहा छैन। मन परेको चिज, साथी, ठाउँ आदिमा हरेक बिहान कम्तिमा १५ मिनेट ध्यान केन्द्रित गर्छु’, उनले आफ्नो ध्यानविधि सुनाए।
४) आध्यात्मिकता
‘कर्मकाण्डमा मलाई विश्वास छैन। तर, आध्यात्मिकतामा विश्वास छ । त्यसले मेरो तनाव व्यवस्थापन गर्न सहयोग पुर्याएको छ’, जगनको अनुभव हो यो।
साढे दुई दशक पुग्न आँट्यो रेडक्रसको रातो क्रसमुनि उनी उभिएको। अहिले दोस्रो पदमा छन्। यो सबैको पछाडि एउटै सुत्रले काम गरेको छ । ‘त्यो हो मेहनत’, जगन भन्छन्, ‘मेहनत नभई केही हुँदैन। सँगै इमान्दारी पनि चाहिन्छ। म यो बन्छु भनेर कहिल्यै लागिन तर, रुचि जेमा लाग्यो त्यो गर्दै गएँ।’
विभिन्न देशमा विपत्तिका समयमा राहत र त्यसपछि पुनःस्थापना र दिगो विकासका निम्ति रेडक्रसको झण्डा बोकेर अहिले जेनेभा मुख्यालयमा पुगेका जगन चापागाईंको अनुभव नेपाली विकास र समृद्धि परियोजनाले पनि ग्रहण गर्नसक्छ चाह्यो भने। तर, राज्य सञ्चालनमा बसेकाहरुले न हो, सही मान्छे चिन्ने र सही सल्लाह लिने।