
काठमाडौं – माघ शुक्ल पूर्णिमाको दिन बुधबार एक महिने स्वस्थानी व्रत समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार समापन गर्न लागिएको हो ।
तर यसपटक चन्द्र ग्रहण परेकाले व्रत समापन चाँडै गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । सकेसम्म बिहान ९ बज्नु अघि नै व्रतको समापन गर्नु पर्ने समितिले जनाएको छ । ९ बज्न पाँच मिनेट हुँदादेखि ग्रहणको सुतक लागेको छ ।
मध्याह्नकालमै व्रत समापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत समापन गर्न सक्ने समितिले जनाएको छ ।
आज चन्द्र ग्रहण
नेपाली समय अनुसार बुधबार बेलुका ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । यो ग्रहण नेपाल लगायत भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताईवान, न्युजिल्याण्ड, अष्ट्रेलिया, युरोपका देश, रसिया, अमेरिकाको अलास्का र अफ्राकाका केही देशबाट समेत देख्न सकिनेछ । बेलुका ६ बजेर ३६ मिनेटमा ग्रहणका कारण चन्द्रमा पूरै ढाकिने छ ।
ग्रहणको मध्यकाल सवा सात बजे रहने र ७ बजेर ५२ मिनेटमा ग्रहणले छाड्दै जानेछ । ८ बजेर ५६ मिनेटमा पूर्ण रुपमा चन्द्र ग्रहण सकिने जनाइएको छ । ग्रहणको सुतक भने बुधवार बिहान ८ बजेर ५५ मिनेटदेखि नै सुरु भएको छ ।
यो खग्रास चन्द्र ग्रहण हो । चन्द्र ग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि ब्लु ब्लड मुनमा खग्रास चन्द्र ग्रहण भने डेढ शताब्दीपछि देखिन लागेको हो । यसअघि ‘ब्लु ब्लड मुन’ मा सन् १८६६ मार्च ३१ मा खग्रास चन्द्र ग्रहण लागेको थियो ।
कुन राशीलाई कस्तो ?
शास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशी भएकाले मात्र हेर्न हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । तर यी राशी भएकाले पनि खुला आँखाले भने ग्रहण हेर्नुहुँदैन ।
समितिले स्वीकृत गरेको यस वर्षको पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको छ ।