
काठमाडौं – भारतीय विदेशमन्त्री सुषमा स्वराज बिहीबार नेपाल आउँदै छिन् । उनी २३ घण्टे राजनीतिक यात्रामा आउन लागेकी हुन् ।
नयाँ संविधान जारी भएपछि फेरिएको संरचना अनुसार चुनाव भएर परिवर्तित राजनीतिक समिकरणमा भारतीय भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यसहित भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आउन लागेकी हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष जोड तय भएको नेपाल यात्राका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तयारी छ । उनी बिहीबार अपराहन्न ४ बजे विशेष विमान मार्फत काठमाडौं आउने र शुक्रबार दिउँसो तीन बजे फर्किने कार्यक्रम छ ।
२३ घण्टे नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वराजले योसहित अरु राजनीतिक भेटवार्ता गर्ने पनि तयारी छ ।
प्रदेश तथा संघीय संसदको चुनावमा एमाले–माओवादीसहितको वाम गठबन्धनले बहुमत ल्याएको र अब वाम नेतृत्वमा सरकार बन्ने पक्का भएपछि फेरिएको राजनीतिक समिकरणसँगको सम्बन्ध बलियो बनाउनका लागि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दूतका रुपमा स्वराजलाई नेपाल पठाउन लागेको विश्लेषण छ ।
मोदीले यसअघि नै एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरेर अब बन्ने सरकारको प्रधानमन्त्रीको रुपमा बधाई दिँदै भारत भ्रमणको निम्तो पनि दिएको स्रोतले बताउने गरेको छ ।
वाम नेतृत्वमा सरकार बन्ने भएपछि नेपाल उत्तरी छिमेकी देश चीनसँग नजिक हुने त होइन भन्ने चिन्तामा भारत छ । त्यस्तो अवस्था आउन नदिनका लागि भावी सरकारको प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष ओलीसँगको सम्बन्ध सुधारमा मोदी लागेका छन् ।
प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिलो विदेश भ्रमण ओलीको भारत नै होस् भन्ने चाहना मोदीको छ र ओली पनि त्यसमा सकारात्मक रहेको बुझिन्छ । भारत आफूलाई नेपाल मामिलामा सबैभन्दा अघि राख्ने प्रयासमा रहँदै आएको छ ।
तर दुई वर्षअघिको नाकाबन्दीका कारण सम्बन्ध केही चिसो पसेको र त्यस बेला भारतको विरोध गर्ने ओली नै प्रधानमन्त्री बन्न लागेपछि मोदी ओलीलाई रिझाउने प्रयासमा देखिन्छ ।