
बुटवल – वैचारिक र प्रखरवक्ताको रुपमा स्थापित शंकर पोखेरल प्रदेश नं. ५ को मुख्यमन्त्री बनेका छन् । बिहीबार उनले प्रदेश प्रमुख उमाकान्त झा समक्ष शपथ लिँदैछन् ।
वाम गठबन्धनको तर्फबाट उनी मुख्यमन्त्री बनेका हुन् । यस प्रदेशमा एमालेका ४१ र माओवादी केन्द्रका २० गरी ६१ प्रदेशसभा सदस्य छन् । वाम गठबन्धनको बहुमुत छ ।
प्रदेशसभाको निर्वाचनकै क्रममा मुख्यमन्त्रीको रुपमै उनले भोट मागेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त उम्मेदवारको रुपमा चुनावी मैदानमा होमिएका थिए ।
जनताको बहुदलीय जनवादका व्याख्याताको रुपमा चिनिएका पोखरेलले प्रदेश नं. ५ लाई मिनि नेपाल बनाउने घोषणा गरेका छन् । प्रदेश ५ सम्पदाको धनी प्रदेश मानिन्छ । बुद्धभूमिदेखि लिएर प्यूठानको स्वर्गद्धारी, रुकुमको सिस्ने हिमाल यही प्रदेशमा पर्छ ।
विकास र समृद्धिको आधार प्राकृतिक स्रोत साधन र यहाँ रहेका सम्पदा नै हुन् । पहिलो संसद बैठकलाई सम्बोधनको क्रममा पोखरेलले मिनि नेपालको कल्पनासहितको योजना प्रस्तुत गरेका थिए । दाङ निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेपालको वामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदहारणीय मानिन्छ ।
भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका हुन् । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका थिए ।
कुनै समय जननेता मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका छन् ।
विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराजशर्मा र आमा तिलकादेवीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य छन् ।
संक्षेपमा शंकर पोखरेलः
- विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तान ।
- त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गरेका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।
- आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको ।
- ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
- हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य , पार्टि स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै पूर्व सूचना तथा संचार मन्त्री ।
- नेपालको वामपन्थी आन्दोलनमा स्थापित नेता ।
- जननेता मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका ।
- विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश, वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
- अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
- अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
- २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५/४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका ।
- २०६२/६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व र गणतन्त्रका पक्षमा काठमाडौं त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता ।
- माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जनागर्न राप्ती अञ्चलका पहाडी जिल्लामा शान्ति पदयात्राको नेतृत्व
- माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
- एमालेको सातौँ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।
- राज्यको पुनसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
- आठौँ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा प्रस्तुत गरेको भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकार ।
- केन्द्रीय कमिटिको सदस्य समेत नभएको अवस्थामा पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।