
काठमाडौं – विश्व सामाजिक न्याय दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००७ को नोभेम्बर २६ मा गरेको निर्णय अनुसार हरेक वर्ष फेब्रुअरी २० का दिन सामाजिक न्यायका लागि विश्व दिवस मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसंघको सदस्यता लिएका नेपालसहितका प्रायः सबै देशमा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यस वर्ष आप्रवासी कामदार र उनीहरुको सामाजिक न्यायलाई जोड दिँदै ‘वर्कस् अन द मुभ : द क्वेष्ट फर सोसल जस्टिस’ भन्ने नारा तय गरिएको छ ।
सामाजिक न्याय र मानवता
जन्म र मृत्युको बिचमा बाँचिने जीवनको सानो समय । यसमा पनि विभेद र आपसमा द्वेष । स्नेह र नजिकको सम्बन्ध हुनु पर्ने मानवबिचमा दूरी बढ्दै गयो । न्यायको साटो विभेद र अन्यायले स्थान बलियो बनाउँदै गयो ।
यहि अवस्थालाई चिर्नका लागि सामाजिक न्यायको अवधारणाले जन्म लियो । बाँच्नका लागि बाँड्ने जमिन उस्तै । जन्म उस्तै । मृत्यु पनि उस्तै । तर बाँच्नु पर्ने ढंग र अवसरको पहुँचमा आएको भिन्नताले विभेद बढाउँदै लग्यो ।
विभेदको आधार– छालाको रंग, अवसरको अवस्था । राजनीतिक व्यवस्था अनि मानिसमा जरो गाड्दै गएको अरु भन्दा म ठूलो भन्ने धारणा बन्यो ।
यो विभेदको खाडल पुर्ने । सम्बन्धको डोरी बलियो बनाउने । न्यायलाई न्याय जस्तै बनाउने माध्यम, सामाजिक न्याय । सबैलाई समान र सापेक्षिक रुपमा देख्ने आँखा सामाजिक न्याय । यहि समान देख्ने आँखालाई थप स्पष्ट र छर्लङ्ग पार्नका लागि विश्व सामाजिक न्याय दिवस ।
सामाजिक न्याय र आप्रवासी कामदार
संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा अहिले २५ करोड ८० लाख आप्रवासी रहेका छन् । त्यसमध्ये १५ करोड आप्रवासी कामदार रहेको अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । आप्रवासी कामदारमा ५६ प्रतिशत पुरुष र ४४ प्रतिशत महिला छन् ।
विश्वमा बढ्दै गएको आप्रवासी समस्या बस्दै आएको ठाउँमा भन्दा राम्रो जीवन र राम्रो कामको खोजीको चाहले भएको छ । अधिकांश आप्रवासीले राम्रो कामको खोजीमा आफ्नो जन्मस्थान छोडेका छन् ।
तर उनीहरुको सामाजिक न्यायको अवस्था नाजुक छ । राम्रो सपनाको खोजीमा हिँडेकाहरु अप्ठ्यारोमा परेका छन् । विश्वमा रहेका कामदारमा ४.४ प्रतिशत हिस्सा ओगट्ने आप्रवासी कामदारले राम्रो अवसर पाएका छैनन् ।
आइएलओका अनुसार धेरैजस्तो आप्रवासी कडा श्रमजन्य काम त्यो पनि न्यून ज्याला र सुरक्षा खतराका बि चगर्न बाध्य छन् । कडा श्रमजन्य कामदारमा आप्रवासीको हिस्सा ७३ प्रतिशत छ ।
यिनै आप्रवासी कामदारको सामाजिक न्यायको वकालत गर्ने उद्देश्यले यो वर्षको दिवस केन्द्रित गरिएको छ।
नेपाल र आप्रवासी कामदार अनि उनीहरुको न्याय
सामाजिक, साँस्कृतिक तथा भौगोलिक रुपमा विभिन्नता । तर अवसरको सीमितताले गर्दा धेरै नेपाली श्रमको खोजीमा परदेश गएका छन् । नेपालमा श्रमका लागि विदेशी आउने भन्दा नेपाली कामदार श्रमको खोजीमा परदेश जाने क्रम धेरै छ ।
अहिले झण्डै २५ लाख नेपाली कामदार कामको खोजी मलेसिया तथा साउदी अरेयिबा, कतार, दुबईसहितका खाडी मुलुक गएका छन् ।
झण्डै ५० लाख नेपाली युवाले श्रम स्वीकृति लिएका छन् ।
तर कति नजाने, कोही फर्किने र कोही पटकपटक जाने भएकाले अहिले झण्डै २५ लाख नेपाली कामदार श्रमका लागि परदेशमा छन् । स्वदेशी श्रमबजार कमजोर हुँदा बर्सेनि पाँच लाखको हाराहारीमा नेपाली युवा परदेश जाने गरेका छन् ।
श्रमका लागि परदेश गएका नेपालीको सामाजिक न्यायको अवस्था निकै कजोर रहेको यस क्षेत्रमा कामगर्दै आएका पत्रकार सुनिल न्यौपानेले बताए ।
‘नेपाली युवा रोजगारीका लागि गएका देशमा मानवअधिकार पछिल्लो प्राथमिकतामा रहेका छन् । यसले गर्दा सामाजिक न्यायको कुरा त पर उनीहरुलाई मान्छेको रुपमा पनि व्यवहार गरेको निकै कम पाइन्छ ।’
अहिले आएर मात्रै कतारमा आइएलओले कार्यालय खोल्न लागेको र यो नै कायापलट मानिनुले त्यहाँ आप्रवासी कामदारलाई गरिने व्यवहारको आँकलन गर्न सकिने उनको भनाई छ ।
यस्तै नेपालले रोजगार गुम्छ कि भन्ने डरले न्यायको कुरा नै नउठाउने गरेकाले पनि नेपाली कामदार समस्या रहेको पत्रकार न्यौपानेले बताए ।
नेपाली कामदार नीतिगत अभावका कारण समस्यामा छन् । यस्तै स्थानीय नागरिकबाट पनि उनीहरुमा खतरा रहेको छ ।
सामाजिक न्यायको कुरा गर्दा नेपाली कामदार, जो प्रदेशमा छन् उनीहरुका लागि पहिले मानवअधिकारको आधारभुत अवधारणा पूरा भएको अवस्थामा ल्याउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।