
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिमले स्पेनिस ला लिगा क्लब सेभिल्लासँग गोलरहित बराबरी खेलेको हो ।
म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाउन गोलरक्षक डेविड डी हेयाको महत्वपूर्ण भूमिका रह्यो । उनले पहिलो हाफमा सेभिल्लाका तीनवटा सुन्दर प्रहार रोकेका थिए ।
उनले सेभिल्लाका जोएक्विन कोरिया, स्टीभन एन’जोन्जी र लुइस मारिएलको प्रहारको सुन्दर बचाउ गरेका हुन् । पछिल्लो चार वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा नकआउट चरणमा प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर युनाइटेडका लागि रामेलु लुकाकुले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए । तर त्यसमा उनी सफल हुन सकेनन् ।
यस्तै मार्कस राशफोर्डको प्रहार पनि गोलमा परिणत हुन सकेन । सुरुमा बेन्चमा रहेका पउल पोग्बाले अन्तिमको १७ मिनेट मात्रै खेले । घरेलु टोली सेभिल्लाले गोलका लागि २५ पटक प्रयास गरेको थियो ।
तर गोलरक्षके डी हेया र युनाइटेडको राम्रो फिनिसिङका कारण निराश बन्यो । दोस्रो लेगमा आउँदो मार्च १३ मा युनाइटेडको मैदानमा हुनेछ ।