
काठमाडौँ– नेपालीले काम गर्ने गन्तव्य देशको अध्यनका लागि गठित कार्यदलले काम सुरु गरेको छ । साउदीका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डेयको संयोजकत्वमा गठित कार्यदलले विभिन्न देशको कामदार लिने र उनीहरुको पठाउने नीति मागेको हो ।
विदेशमा रहेका सबै नेपाली नियोगलाई ती देशको कामदारका बारेमा नीति के छ पठाउन भनिएको कार्यदलका संयोजक उदयराज पाण्डेयले जानकारी दिए । उनले भने, ‘परराष्ट्र मन्त्रालय मार्फत सबै देशका कूटनीतिक नियोगमा पत्राचार गरेका छौं, उनीहरुले त्यहाँको नीति पठाएपछि हामी निर्णय गर्नेछौं ।’
कार्यदललाई अन्तर्राष्ट्रिय श्रम बजारको विश्लेषण गरी तुलनात्मक रूपले सुरक्षित र प्रतिफलयुक्त देशहरू पहिचान गर्ने र सरकारी स्तरबाट (जिटुजी) कामदार पठाउन सकिने सम्भाव्य देशहरु पहिचान गरेर बुझाउन भनिएको छ ।
इजाजतपत्रवाला संस्था मार्फत वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउँदा लाग्ने सेवा शुल्क र प्रवद्र्धन खर्च निर्धारण गर्न समेत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कार्यदललाई जिम्वेवारी दिएका छन् ।
यसअघि न्युनतम लागत निर्धारण भएका खाडीका देश र मलेसिया सहित अरुदेशमा समेत उपयुक्त शुल्क निर्धारण गर्ने मापदण्ड कार्यदलले तयार पार्ने छ ।
समितिमा वैदेशिक रोजगार व्यवसायीका संघका एक जना प्रतिनिधि सहित विभिन्न मन्त्रालय र विज्ञ गरी सात जना रहेका छन् । नेपाल जस्तै श्रमिक निर्यात गर्ने देशको सेवा शुल्क र प्रवद्र्धन खर्चलाई समेत आधार मान्न भनिएको छ ।
गन्तव्य देशको आर्थिक अवस्था, श्रम कानुन, सुरक्षा, मानव अधिकार जस्ता सूचकहरुको आधारमा नेपाली कामदार पठाउने देशको वर्गीकरण गरि मापदण्ड तयार गरिने भएको छ । यी सबै काम सकेर दुई महिनाभित्रमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा पेस गर्न भनिएको छ ।
कार्यदलको चर्ख भने कामदारकै रकमबाट बेहोरिने छ । विदेश जाने कामदारले कल्याणकारी कोषमा जम्मा गरेको रकमबाटै कार्यदललाई खर्च उपलब्ध गराइनेन कार्यदेशमा उल्लेख छ ।