
काठमाडौँ– साउदीको जुवेलस्थित अदालतले धनुषाका उमेश यादवलाई मृत्युदण्डको फैसला गरेपछि दूतावासले पुनरावेदन गरेको छ । साउदीस्थित नेपाली दूतावासले फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरेको बुधबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा यादवलाई गत १५ अप्रिलमा अदालतले मृत्युदण्डको फैसला गरेको छ । अदालतले फैसला त्यहाँको सामाजिक अधिकार अनुसार गरेको र व्यक्तिगत अधिकार तथा ब्लडमनीको विषयमा केहि पनि उल्लेख नभएको जनाएको छ ।
दूतावासले यस अघि आफूले ब्लडमनीका विषयमा केहि पनि नबोलेको तर उमेश यादवलाई बचाउन पहल भने गरिरहेको जनाएको छ ।
पहिले जनरल कोर्टले १५ मार्च २०१७ मा यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । तर जनरल कोर्टको फैसला चित्त बुझ्दो नभएको भन्दै सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो ।
त्यसपछि अदालतले उनलाई मृत्युदण्डको फैसला सुनाएको छ । तर नेपाली दूतावासले त्यो फैसला चित्त नबुझेको भन्दै फेरि २६ अप्रिलमा पुनरावेदन गरिसकेको छ ।
यता दुई परिवारको बिचमा भने ३० लाख रुपैयाँ लिई उमेशलाई बचाउने सहमती भैसकेको परिवारले जानकारी दिएका छन् । उमेशको परिवारको तर्फबाट सरोज रायले पाकिस्तानको फैसलावादस्थित वासिरको पीडित परिवारसँग ब्लडमनी दिने र लिने विषयमा सम्झौता गरेको बताएका छन् ।
उमेशले ११ वर्ष पहिले ३ जुलाई २००७ मा पाकिस्तानी नागरिकको हत्या गरेका थिए । उनीहरु दुवैजना साउदीको बिन लादेन कम्पनीमा कार्यरत थिए ।
अदालतको फैसलामा आर्थिक लेनदेनको विषयमा सुतिरहेको बेला रडले हानेर हत्या गरिएको उल्लेख छ । तर उमेशले भने काम गर्ने ठाउँमै झगडा हुँदा मृत्यु भएको बताएका छन् । यादव जुवेलस्थित केन्द्रीय कारागारमा छन् ।