
काठमाडौँ– वैदेशिक रोजगारीको लागि ओमान पुगेकी एक नेपाली स्थानीयले मार्न लागेकी एक महिला प्रहरीको सहयोगमा बचेकी छन् । २०७३ सालको माघ ३ गते नयाँ दिल्ली, युएई हुँदै ओमान पुगेकी एक रामकुमारीलाई (नाम परिवर्तित) दलालले मार्ने तयारी गरेका थिए ।
ओमानको मस्कटमा घरेलु काम गर्दै आएपनि समयमा तलव नदिने, खान नदिने र यातना दिने गरेपछि रामकुमारी अर्को घरमा सरेकी थिइन् । अवैध रुपमा काम गरिरहेकी रामकुमारीलाई आजाद भन्ने बंगाली नागरिकले नयाँ काम खोजिदिने बताए ।
उनको विश्वासमा परि २०७५ साल वैशाख १४ गते नयाँ काममा भनेर मावेल भन्ने ठाउँमा गएकी थिइन् । बन्दै गरेको नयाँ घरको भुई तलाको एक कोठामा छाड बंगाली गएका थिए ।
तर राति ५ जना नचिनेका मान्छे उनको कोठामा आएर दूर्वेवहार गरेका थिए । दुर्वेबहारपछि पोल खुल्ने डरले उनलाई मार्ने तयारी गरेको थाहा पाएपछि रामकुमारीले बाथरुममा गएर प्रहरीलाई रातको दुई बजे फोन गरेकी थिइन् ।
ओमानको प्रहरीले उनलाई तत्काल उद्धार गरेर नेपाली दूतावासमा खबर गरेको थियो । वैशाख १६ गते दूतावासका द्वितिय सचिव रोजिना ताम्राकार र श्रम सहचारी कृष्ण कुमारी गौली रामकुमारीलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए ।
ओमानको प्रहरी हेडक्वाटरले रामकुमारीलाई दुर्वेबहार गर्ने र ज्यान मार्ने तयारी गरेका पाँचै जनालाई विभिन्न ठाउँबाट पक्रिसकेको नेपाली दूतावास ओमानले जनाएको छ । उनीहरुलाई कानूनि कारबाही गरेर र रामकुमारीलाई न्याय दिलाएर नेपाल फर्काउने दूतावासले बताएको छ ।