कुरुप काठमाडौँमा शीतलता छर्दै पाहुना फूल

कुरुप काठमाडौँमा शीतलता छर्दै पाहुना फूल
+
-

काठमाडौँ- गाडीको घ्यारघ्यार आवाज, कुहिरोजस्तै उडेको धुलो, बिहानी छिप्पिदै जाँदा खाली भएको बाटोमा तँछाडमछाड गर्दै गाडी गुडिरहेका छन्, सडक बिस्तारै बेफुर्सदी हुँदैछ।

त्यही बाटोका छेउमा ठडिएका रुखहरु आगन्तुकलाई स्वागत गर्दै बसेका छन्, कहिले पात हल्लाएर त कहिले नाङ्गिएका नङ्ग्रा फिजाएर। हिजोआज भने यी रुखहरु हाँगाको टुप्पामा फूल फुलाएर अनि झुलाएर बसेका छन्।

शहर बन्‍ने दौडमा भद्रगोल भएको काठमाडौँको केही स्थानलाई अहिले निलो रंगले लिपेको छ। दरबारमार्ग, रत्‍नपार्क लगायत रिङ्गरोडका केही भागमा काला रंगका रुखले हरियो पातसँग सहकार्य गरेर निला फूल फुलाएको छ।

फूलको परिचय गराउनु नयाँ कुरा होइन, देख्दैमा नाम निस्कन्छ, ‘शिरीषको फूल’। यो फूल यति प्रिय र स्मरणीय हुनलाई साहित्यकार पारिजातलाई सम्झन सकिन्छ। उनको ‘शिरीषको फूल’ कृतिले पनि यो फूलको बास धेरैको मनमा गरायो। यो कृति अंग्रेजी भाषामा अनुवाद भएर ‘ब्लु मिमोसा‘ भएको छ। तर साहित्यमा यति व्याख्या गरिएको यो फूलको आफ्नै नाम ‘ज्याकारान्डा’ हो। विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छन्। यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको बताइएको छ।

हिजोआज काठमाडौँको वरपर झपक्‍कै फुलेको यो फूल ज्याकारान्डा मिमोसिफोलिया प्रजातिको हो। यसको पात र शिरीषको फूलको पात उस्ताउस्तै भएकोले गर्दा यसलाई निलो शिरीष पनि भनिन्छ। तर यिनीहरुमा समानान्तर देखिने भनेको पात मात्रै हुन्।

मानिस घुम्‍न गएजस्तै, कला र संस्कृति प्रसार भएजस्तै यो फूल पनि अन्तैबाट आएको ‘पाहुना फूल’ हो। यसलाई मध्य अमेरिका तथा दक्षिण अमेरिकाको आगन्तुक फूल पनि भनिन्छ।

उष्ण मौसमी हावापानीमा हुर्केने यो फूलले विश्‍वभरिकै वातावरणमा आफूलाई ढाल्दै आएको छ। त्यसैले त ज्याकारान्डाले अमेरिकाको विभिन्‍न ठाउँसँगै मेक्सिको, अर्जेन्टिना, क्यूबा, जमैका बहामासमा पनि बैजनी रङ्ग छरिदिएको छ।

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘पोर्चुगलबाट घुम्दै यो फूल भारतमा आयो र भारतमा काम गर्ने नेपालीहरु (विशेषगरी लाहुरे)ले यो फूल नेपाल भित्र्याएको/ल्याएको अनुमान गरिन्छ।’

श्रेष्ठका अनुसार यस्ता आगन्तुक फूल नेपालका राणा शासकको बगैँचामा धेरै हुन्थे। लालुपाते, काइँयो फूल, इन्द्रकमल, नाम नै लाहुरे भएका सबै फूलहरु आगन्तुक हुन्। यी फूललाई लाहुरे भन्‍नुको दुई वटा कारण छ- एउटा नेपाली लाहुरेले भारत र अन्य देशबाट ल्याएको र अर्को भारतको लाहोरबाट ल्याइएको।

वनस्पतिविद् श्रेष्ठका अनुसार ४० वर्ष अगाडिसम्म यो फूल बाटो छेउछाउमा फूलेको देखिँदैन थियो। तर अहिले काठमाडौँ लगायत देशका विभिन्‍न शहरहरुलाई आफ्नो सुन्दरताले कैद गरिसकेको छ। उसलाई उष्ण मनसुन वातावरण असाध्यै उपयुक्त हुन्छ। तुसारो यो विरुवाले खप्नै सक्दैन, जहाँ ठूला अग्ला घरले तुसारो छेकिदिन्छन् त्यहाँ नै झपक्कै फैलाउँछ।

यसको अर्को विशेषता भनेको रुखबाट पात झरेको बेलामा फुल्नु हो। बैशाख जेठको महिनामा जब रुखले पुराना पात फाल्छ, नयाँ पालुवा पलाउनुभन्दा पहिला नै फूलको कोपिला फक्रन थाल्छन्।यी फूलहरु बोटमा रहुन्जेल रुखलाई सजाउँछन् भने रुखबाट खसेर बाटोलाई सिंगार्छन्।

फोहोरको फोहोरीपनलाई कम गर्छन्, भने बटुवालाई लडिबुडी गर्दै स्वागत गर्छन्। जनमानसमा निलो शिरीषको नामले परिचित ज्याकारान्डालाई नेवार समुदायले अर्कै नामले चिन्छ, ‘चखुङ्चा स्वाँ’। नेपालीमा उल्था गर्दा भंगेरी चरा। बोटबाट झरेको ज्याकारान्डालाई हातमा लिँदा भंगेराको जस्तै आकार, चुच्चो निस्किएको देखिन्छ। त्यसैले उनीहरुले यसको नाम ‘चखुङ्चा स्वाँ’ राखेका हुन्।

राणा शासनको समयमा मालीको काम गर्ने प्राय नेवार समुदायका मानिस नै हुन्थे। नाम जे होस्, जहाँबाट आएको भएपनि ज्याकारान्डाले राम्रो बन्ने रहरमा कुरुपिएको काठमाडौँलाई दुई महिना भएपनि सिंगार्छ, धेरैको आँखालाई शीतलता दिन्छ।

धेरैको क्यामरामा कैद भएर सामाजिक सञ्जाल, इन्टरनेटको माध्यमबाट पुरै विश्व घुम्छ,आफ्नो उत्पत्ति भूमि पुग्छ। कसैको फोटोको पृष्ठभूमि बन्छ भने कत्तिको मोबाइल, डेक्सटपको वालपेपर। जहाँ पुग्छ कहीँ खुकुलो र कही बाँधिएको मुस्कानको अंश बनेर आउँछ, साँच्चै नै सुन्दर ‘ज्याकारान्डा’।

सबै तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?