प्रेरणाको कथा

मुर्ख सुधार अभियानकी अगुवा- गौँथला कामी, ६८

मुर्ख सुधार अभियानकी अगुवा- गौँथला कामी, ६८
+
-

कोल्टी, बाजुरा– उमेरको हिसाब लगाउँदै केहीछिन घोत्लिएपछि हिसाब निस्कियो, ‘६० काट्याँ, ८ वर्ष भैगो, भत्ता दिँदा हुन्।’

उनले हिसाब लगाएपछि जोडजाड पार्दा थाहा भयो गौँथला कामीको उमेर ६८ वर्ष रहेछ । बाजुराको दोस्रो केन्द्र, सदरमुकाम मार्तडीपछिको । जहाज आउँछ । मुगु जाने बाटोको पनि केन्द्र कोल्टीकी बासिन्दा हुन्, गौँथला कामी ।

तीन छोराबुहारी, नातिनातिना छन् । तीन छोरी पोइल गए (बाजुरासहितका सुदूर पश्चिमका जिल्लामा छोरी बिहे गरेर लोग्नेको घर जानुलाई पोइल जाने भन्ने चलन छ) । लोग्नेले यो दुनिया छोडेको ११ वर्ष भयो ।

गौँथला कामीले ६ छोराछोरी हुर्काउन, घरव्यवहार चलाउन जीवनमा धेरै अप्ठ्यारो भोगिन् । अहिले सबै आआफ्नो गर्न सक्ने भए । गौँथला एक्लै छिन्, तर सबैसँगै भएको जस्तो लाग्छ । पहिले बरु सबै साथै हुँदा उनी एक्लो थिइन्, अहिले एक्लै भएर पनि सबै छन् साथैमा जस्तो लाग्छ उनलाई ।

‘छोराहरुले काम गर्न पड्दैन, निक्को गरी बस भन्दा हुन् । एक्लै बस्न्या, एक्लै खान्या ।’ गौँथलाले भिनन्, ‘निको त के हुन्थ्यो, दुःखै भए पनि सजिलो छ ।’

उनले भनेको दुःख भित्रको सजिलोको कथा नबुझुन्जेल हो गौँथलाले घाँटीमा लगाएको जाल्या (पोतेलाई जालो जस्तो पारेर बनाइएको माला) जस्तो लाग्ने । कुरा गर्दै गएपछि पानी जस्तै रंगहिन देखिन्छ, उनको दुःख भित्रको सजिलो ।

दुःखको ओडार अर्थात छाउगोठ
गौँथलाको गाउँ पहिले कोल्टी गाविस, अहिले बुढीनन्दा नगरपालिका–३ कोल्टी भएको छ । गाविसले नगरपालिकामा रुप फेरे जस्तै गौँथलाको गाउँमा उनीजस्तै नयाँ–पुराना गौँथलाहरुको दुःख फेरिन थालेको धेरै भएको छैन ।

दलित भनेर हेपिनेमा गौँथलामा मात्रै होइन, उनका परिवारका पुरुष अनि उनीहरुजस्तै गाउँमा अरु पनि थिए । तर गौँथलाहरु (महिला) ले हरेक महिना अर्को दुःखको ओडारमा पस्नु पर्थ्यो अर्थात छाउगोठ ।

‘छाउ (महिनावारी) हुँदा निक्को खान कहिले पाइएन । धेरै…दुःख पायौँ, कहिले भात र नुन मात्रै कहिले पानी र रोटो मात्रै दिन्या ।’ गौँथलाले घाँटीमा जाल्यासँगै लगाएको सुन्तला रंगको पोते मिलाउँदै आफू र आफूजस्तैले भोगेको अप्ठ्यारोको कथा भनिन्, ‘निरै आउन नदिँदा हुन्, उ… पर.. पर.. नआउ.. नआउ.. भन्दा हन् । देउता लाग्छ भन्दा हुन् ।’

छाउगोठ हुनेले गोठमा बसे । नहुनेले त्रिपाल टाँगेर बसे । घरबाट बाहिर लखेटिन बाध्य पारिए । ओढ्ने लुगा नहुने, ओछ्यान त बरु पराल थियो, नभए विकल्प स्याउला थियो ।

देउता लाग्ने वा देउता रिसाउने भय देखाएर पर धकेलेको गौँथलालाई पटक्कै चित्त बुझेको थिएन । तर बोलवाला अरुकै हुँदा गौँथलाहरुको कुरा सुनिएन ।

गौँथलाको छाउ सुक्यो, दुई दशक भइसक्यो । तर उनले १५ देखि ५२ वर्षको हुँदासम्म भागेको छाउगोठको चिसो दुःख ओभाएको छैन । त्यहि नओभाएको दुःखले उनलाई अर्को दुःख तिर तानेको हो ।

अर्को दुःखको यात्रा तर सजिलोसँग
जब भारी आफ्ना लागि बोकिन्छ, त्यसको बोझ जति नै भए पनि कम लाग्छ । गौँथलालाई पनि त्यस्तै भएको छ । उनी बाजुराको गाउँ कोल्टीमा छाउपडी प्रथा विरुद्ध लागेकी छन् । आफूजस्ता पुराना गौँथलाले भोगेको दुःख नयाँ गौँथलाहरुले भोग्नु नपरोस् भनेर लागेकी हुन् उनी ।

मेहनतले रंग पनि ल्याएको छ । धेरै अहिले बारीको पाटोमा होइन घरमै बस्न पाएका छन्, छाउ भएका बेला पनि । ‘अहिले त सुख छ, दुःख त हामीले पायौँ ।’ गौँथलाले भनिन्, ‘अझै पनि सप्पै सुध्रिएको कहाँ छ र ? मुर्खहरु अझै पनि छन् ।’

उनी छाउ भएका बेला महिलालाई घर भन्दा बाहिर गोठ वा त्रिपालमुनि बस्न बाध्य पार्नेलाई मुर्ख भन्छिन् । तिनै मुर्खहरुबाट आफूले पाएको दुःख अब अरुले पाउनु नपरोस् भनेर उनकै भाषामा ‘मुर्ख सुधार’ अभियानमा लागेकी छन् ।

यो यात्रामा गौँथलाले अप्ठ्याराहरु देखिन्, दुःखहरु भोगिन्, तर सबै सहजै पच्ने गरेको छ ।

देउता ठेगानमा राख्न जोडबल
गाउँमा मुर्खहरु मात्रै छैनन्, मुर्खहरुका हतियार पनि छन् छाउ हुँदा महिलालाई गोठ पठाउनका लागि । र त्यो हतियार बन्ने गरेका छन्, सबैले पूज्ने देउता ।

गौँथलाले घाँटीमा जाल्यासँगै लगाएको सुन्तला रंगको पोते मिलाउँदै आफू र आफूजस्तैले भोगेको अप्ठ्यारोको कथा भनिन्, ‘निरै आउन नदिँदा हुन्, उ… पर.. पर.. नआउ.. नआउ.. भन्दा हन् । देउता लाग्छ भन्दा हुन् ।’

देउता रिसाउने भय र अनिष्ट हुने डर देखाएर छाउगोठमा राखिन्छ । तर जीवनको पूरै समय घर बाहिर, निको नलाई निको नखाई बिताए पनि गौँथलाहरुले देउताबाट पुरस्कार पाएनन् । बरु पाए हेला र तिरस्कार ।

तस्बिर: टंक ढकाल

अहिले कोल्टीका गौँथलाहरु देउता विरुद्ध होइन, उनको नाममा हुँदै आएको अन्याय विरुद्ध लागेका छन् । सबै आआफ्नो ठाउँमा बस्न पाउनु पर्ने बुझेका छन् । महिलाको ठाउँ गोठ होइन घर हो भन्ने देउताको डर देखाउनेले बुझ्नु पर्ने गौँथला बताउँछिन् ।

गौँथला भन्छिन्, ‘सबैले आफ्नो ठेगानमा बस्न पाउनु पर्छ । हामीलाई बेठेगान बनाउने हक देउतासँग कहाँ छ ?’

उनले देउतासँग भन्ने गरेकी छन्, ‘ठकान ठौरिह, नउल्ल बैरागी मन’ अर्थात देउता तिमी आफ्नो ठाउँमा बस, बैरागी मन उरालेर हामीलाई दुःख नदेउ ।

छाउ गोठमा बस्दा सर्पले टोक्ने, बलात्कार हुने, शरीरलाई आराम नहुने हुँदा देउता रिसाउने हैन उनलाई दुःख लाग्ने गर्छ, गौँथलाका अनुसार ।
आफ्नै सन्तानले दुःख पाएको देखेर रमाउने भए उनी देउता नै नहुने गौँथला बताउँछिन् ।

गौँथलाले काटेको उमेरको फेर र ती उमेरसँगै भोगेको पीडाको कथा अनुहारमा परेका धर्साहरुमा झल्किन्छ ।

ढल्केको उमेरसँगै उनको कपालको रंग सेतो भयो । तर उनलाई कालै कपाल मन पर्ने । कालो लगाउँछिन् । अरु सबै कालो भए पनि रहरले कोरेको कपाल अनि पारेको सिउँदोको फेदमा भने सेतै देखिन्छ । उनका अनुसार सिउँदोको फेदिमा हिउँ परेकाले सेतो देखिएको, बाँकी त कालो बादल रे ।

भयको हिँउले कठ्यांग्रिएको मन र डरको बादलले घेरको जीवनको धेरै छिमल काटेकी गौँथलालाई अहिले र अबको पुस्ताका गौँथलाहरुको कपाल घनघोर बादलजस्तो होस् वा टकिल्ने हिउँ जस्तो जे भए पनि मतलब छैन । तर जीवनमा छाउगोठ रुपी हिउँ र देउता रिसाउने डर जस्तो बादल नलागोस् भन्ने चाहना छ, उनको ।

यो पनि पढ्नुहोस्

छाउगोठ छाडे पनि देउता रिसाएर बौलाउँला भन्ने डर

छाउगोठ छाडे पनि देउता रिसाएर बौलाउँला भन्ने डर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?