
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले नेपालमा छन् । उनी प्रधानमन्त्री बनेपछिको यो तेस्रो नेपाल यात्रा हो । यसपटकको यात्रा मोदीको ‘तीर्थाटन’ बढी राजनीतिक कम जस्तो देखिएको छ ।
दुई दिने औपचारिक नेपाल भ्रमणको सुरुवात मोदीले यसअघिको भ्रमणमा अधुरो रहेको गन्तव्यबाट सुरु गरे । मोदी शुक्रबार पटनाबाट सीधै जनकपुर आएर जानकी मन्दिरमा विशेष पूजा गरे । त्यसपछि मात्रै काठमाडौं आएका मोदी दिउँसो अरु राजनीतिक भेटवार्तामा सहभागी भए ।
भ्रमणको दोस्रो तथा अन्तिम दिन शनिबार पनि उनको प्राथमिकतामा तिर्थ यात्रा नै छ । मोदी अहिले बिहान काठमाडौंबाट पोखरा हुँदै मुस्ताङको मुक्तिनाथ गएका छन् । उनले त्यहाँ विशेष पूजा गर्ने छन् ।
मुक्तिनाथमा दर्शन तथा जोमसोमको भ्रमण गरेर मोदी काठमाडौं फर्कने छन् । त्यसपछि उनी पशुपतिनाथ मन्दिर जाने छन् । उनले पशुपति मन्दिरमा विशेष पूजा गर्ने छन् ।
मोदीको पूजा तथा पशुपति भ्रमणका लागि तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मोदीको स्वागतका लागि शुक्रबार दिनभर लगाएर पशुपति वरपर सरसफाइ गरिएको थियो ।
यसअघि झण्डै चारवर्ष पहिले नेपालको भ्रमणका आएका बेला मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका थिए । त्यसबेला उनले रुद्राभिषेकसहितको पूजा गरेका थिए ।
यसपटक मोदीले पशुपतिनाथमा पञ्चामृत पूजा गर्ने तयारी छ । यसअघिको पशुपति यात्रामा मोदीले पुनर्निर्माण तथा सरसफाइका लागि ३० करोड भारु सहयोग गर्ने घोषणा गरेका थिए । त्यो सहयोग अहिलेसम्म प्राप्त भएको छैन ।
यसपटक मोदीले नयाँ सहयोगको घोषणा गर्ने छन् कि पुरानो सहयोग मिल्ने वातावरण बनाउने छन्, त्यो चाहिँ पर्खिनु पर्ने छ । तर मोदीले घोषणा गरेको सहयोग नेपालकै कारण रोकिएको पनि कोषले बताउने गरेको छ ।
मोदी मुक्तिनाथबाट फर्किएर पशुपति गएपछि अन्तिम चरणको राजनीतिक भेटवार्तामा सहभागी हुनेछन् ।