एक मृत्युले छोडेर गएका अनेक उल्झनहरुको कथा

हाँसी राखन माया, बोली राखन

हाँसी राखन माया, बोली राखन
+
-

कोल्टीचौर, बाजुरा – आँट भन्ने कुरा पनि अचम्मको हुन्छ । जहाँ जाँदा पनि आफूसम्म ठोक्किन आइपुग्ने उही तर पहिलो प्रश्न, त्यो पनि कटाक्क्ष गरिएको । त्यसलाई सामना मात्रै होइन, जवाफ नै फर्काउने ।

यस्तो आँट गर्नेलाई सामान्य रुपमा विभिन्न नाम दिने गरिन्छ । अझ महिलालाई त होच्याउने गरी ‘चोथाले’ सम्म भन्न भ्याउँछन् । तर आँटलाई आँटकै रुपमा स्वीकार गर्ने कमै भेटिन्छन् । त्यसमाथि आँट गर्ने हिक्मत भएका भेटिन गाह्रै पर्छ ।

यस्तै अरुले विभिन्न नाम दिँदा पनि टिकेकी आँटिली आमा हुन्, प्रेमकला खत्री ।

नाम : प्रेमकला, वर्ष : ५० ।

नाममा प्रेम भए पनि उनको जीवनमा प्रेमले हात छोडेको वर्ष गन्दा दुई हातका औँलामा नअटाउने भयो ।

भन्नेले के के भने । उनले आफूलाई माया गर्न भने कहिले छोडिनन् । दुःख त कति भयो कति । अप्ठेरोको गन्ती नै छैन । जे भए पनि उनले हाँस्न छोडेकी छैनन् ।

बाजुराको कोल्टीचौरकी प्रेमकला ‘विधवा’ भएको १४ वर्ष भयो । अर्थात उनका श्रीमान या जीवनको प्रेम (किस्मत खत्री) को निधन भएको दशक नाघ्यो ।

त्यो एक मृत्युले छोडेर गएका अनेक उल्झनहरु अहिले पनि सुल्झेका छैनन् । प्रमेकला भने बुनिसकेको तर अल्झिएको स्वीटरको धागो फुकाउन लागे जस्तै लागेको लाग्यै छन्, जीवनका उल्झनहरु फुकाउन ।

‘विधवा’ बनेपछि रंगबाट पनि सम्बन्ध तोड्नु पर्ने ‘नियम’ उनलाई मन परेन । सधवाको पेवा जस्तो ठानिएको विशेष गरी रातो रंगसँग प्रेमकलाले प्रेम गर्न छोडिनन् ।

रातो पत्थर भएको फुली र बुलाँकी झुण्डिएको नाक । रातो मालामा उनिएको सानो तिलहरी, अर्को हरियो पोतेमा उनिएको त्यो भन्दा केही ठूलो तिलहरी गलामा ।

निधारमा रातो टीका । रातोमा कालो चेक रहेको चालोमा सजिएकी प्रेमकलाको अनुहारमा दुःखलाई जितेर फूलेको मुस्कान रहर लाग्दो छ ।

‘दुःखको त कुरै नगरौँ । आकाशमा उड्ने चरीले भन्दा सारो दुःख झेलेकी छु’ मुश्किलले खुलेको मुस्कानमा लुकेको कथा फुकाउँदै प्रेमकलाले भनिन्, ‘तर बाँच्न कहिले छोडिन र हाँस्न पनि । म हाँस्दा देख्न नसक्ने समाज थियो, लडेँ सबैसँग, अहिले पनि जारी छ युद्ध ।’

प्रमेकला खत्री अहिले गाउँमा अगुवा बनेर हिँड्न सक्ने भएकी छन् । तस्बिर : टंक ढकाल/देश सञ्चार

अरुलाई रातो रंग मात्रै होला उनका लागि भने त्यो रंगभन्दा निकै बेसी बनेको छ । यो ‘बेसी’ का लागि उनले धेरै कठ्याङ्ग्रिने हिउँदहरु ‘लेक’ मा काट्नु परेको छ ।

‘लोग्ने मरे पछि पनि रातो लाउँछे भने । पीरै छैन भने । कसरी हाँस्न सकेकी पनि भने र भन्ने अझै पनि छन्’, प्रेमकलाले भनिन्, ‘भन्नेले भनिरहे मैले रंगसँगको लगाव छोडिन । सकेसम्म भन्नेहरुको मुखभरी हुने जवाफ दिएँ । कतिले चोथाले भने । भने भनुन्, वास्ता गरिन । र त हाँस्न सकेकी छु ।’

१४ वर्षकी हुँदा २५ वर्षका किस्मतसँग बिहे । स्कुल जान पाएको होइन । पढ्न जान्ने कुरो भएन । घरधन्दा खेतीपाती । परिवार बढ्यो । दुई छोरा, दुई छोरी भए । छोराछोरी हुर्किँदै थिए, खर्च बढ्दै थियो । त्यहीबेला परिवारको जिम्मेवारी लिएका किस्मतको मृत्यु भयो ।

अनि सबै जिम्मा आयो प्रेमकलाको थाप्लोमा । उनले बाख्रा पालिन्, सँगै गाई भैँसी पनि । खेतीपाती त थियो नै । ४०/५० बाख्रा, पाँच/सात वटा गाई भैँसी दिनभरि चराउन आफै लगिन् । भात भान्छा पनि आफै । छोराछोरीलाई उनले दुःख गरेर पढाइन् ।

‘सबै छोराछोरीले इन्टर पास गरेका छन् । छोरी पोइल (बिहे गरेर) गए । दुवै छोरा प्रहरी छन् । बुहारीले पनि पढेकी छन्’ हाँस्दै प्रेमकलाले भनिन्, ‘अब कान्छो छोराको बिहे गर्न बाँकी छ । सजिलो हुँदै गएको छ ।’

प्रेमकलालाई जिम्मेवारीको भारी सजिलोसँग बोक्न सक्ने बनाएको लोग्नेको मृत्यु पछि पनि आफूले नछोडेको रंगले हो जस्तो लाग्छ । यो रंगको साथ नछोड्ने आँट भने उनका दाइले दिएका हुन् ।

‘दाइले नै रातो धोती र चालो दिनुभयो । कसैले केही भने, मलाई भन्नु भयो । त्यसपछि आँट आएको हो’ उनले आफूभित्र अहिले बाँचेको दरिलो आँटको चुरो कुरो बताइन् । त्यसपछि उनले पछि फर्केर हेरेकी छैनन् । बाटोमा ठोकिएका, तेर्सिएका अनि जेलिएका अनेकौँ अप्ठ्याराहरुसँग केही नसोची लडिन् ।

‘अहिले त छोराहरु पनि रातै धोती ल्याउँछन्, ज्वाईँले पनि रातै ल्याइदिन्छन्’ यसो भनिरहँदा प्रेमकलाको मुस्कानको रंग रातो भन्दा गाढा थियो ।

राम्रो लाउन पाउने, वा रंगसँग रमाउने पाउने अधिकार सबैको हुन्छ भन्ने बुझेकी छन् उनले । आफूले पढ्न नपाए पनि छोरा छोरीलाई पढाएको फाइदा उनलाई पनि भएको छ ।

उनीहरुले नै सिकाएर प्रेमकला नाम लेख्न सक्ने भएकी छन् । परिवारको जिम्मा लगभग बोकेँ जस्तो लाग्न थालेको छ उनलाई । अब उनमा आफूजस्तै प्रेमकलाहरुका लागि लाग्ने मन छ । यसमा जुटेकी पनि छन् ।

उनले अहिले साथी संस्था र पिसविनको सहकार्यमा महिलामाथि हुने हिंसा विरुद्ध सञ्चालिन आस्था कार्यक्रम अन्तर्गत निगरानी समूहमा बसेर काम गर्दै आएकी छन् ।

हरेक दिन उनी बाहिर निस्कँदा रातो टीका र मन पर्ने रातो चालो लाउन छुटाउँदिनन् । अनि ऐना पनि हेर्छिन् रे, लाग्छ रे प्रेमकलालाई म त निकै राम्री भएकी छु । यसले उनलाई हरेक दिन सजीव प्रेमकला भएर बाँच्न सिकाएको छ ।

‘राम्रो नराम्रो हेर्नेको आँखा हो । म आफूलाई राम्रो देख्छु, त्यसैले होला सबैलाई राम्रो देख्छु’ मुस्कुराउँदै प्रेमकलाले भनिन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?