
काठमाडौँ – काठमाडौँ उपत्यकाको मौसम आइतबार दिनभरि नै आंशिक बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको बिहारसहितको क्षेत्रमा बनेको न्युन चापीय क्षेत्रका कारण बंगलाको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुका कारण देशको मध्य तथा पूर्वी क्षेत्रको मौसम केही दिनदेखि बदली भइरहेको मौसमविद समीर श्रेष्ठले बताए ।
त्यहि प्रणालीको प्रभावका कारण आइतबार पनि काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रको मौसम बदली भएको हो । उपत्यकामा बेलुकातिर केहीबेर पानी पर्ने सम्भावना पनि छ ।
यसैगरी पूर्वी यो प्रणाली मध्यबाट पूर्व गएकाले त्यो क्षेत्रको मौसम आइतबार दिनभर र राति पनि सामान्यतया बदली हुने मौसमविद श्रेष्ठले बताए ।
पश्चिमका क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ । पश्चिम तराईका केही ठाउँमा बदली भएको छ ।