
काठमाडौँ- सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न र देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना गरी रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गरिने बताए।
त्यसैगरी सरकारले समान कामका लागि समान ज्यालाको नीति लागू गर्नाका साथै श्रमलाई सम्मानित र मर्यादित बनाउन श्रम कानूनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भएको छ।
“श्रम अडिटअन्तर्गतको व्यवसायजन्य सुरक्षा निरीक्षण र श्रम निरीक्षणलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइदिनेछ, श्रम क्षेत्रमा आउने गुनासो र विवादलाई तत्काल समाधान गर्न अर्धन्यायिक निकाय स्थापना गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ। स्थानीय तहमा रोजगार सूचना कक्ष स्थापना गरिने पनि जनाइएको छ।